सहमतिको नजिक छौंः खनाल सहमति भएको छैनः मोर्चा


नेपाल समाचारपत्र
काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले मधेसी मोर्चासँग सहमति नभए अपनि अब निर्वाचन नरोकिने बताउनुभएको छ। उहाँले पछिल्लो समय मधेसी मोर्चासँग सहमतिको प्रयास भइरहेको बताउँदै विगतका दिनभन्दा अहिले सहमतिनजिक पुगेको बताउनुभएको हो। ‘सहमति नै भइहाल्यो भन्ने कुरा होइन, तर कुरा मिल्ने स्थिति बनेको छ’ –उहाँले भन्नुभयो।

आइतबार रिपोर्टर्स क्लबद्वारा आयोजित कार्यक्रममा खनालले वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा मोर्चालाई पनि सहमतिमा ल्याएर अघि बढाउने सरकारको चाहना भएको बताउनुभयो। मोर्चाका नेताहरूले स्थानीय तहमा पनि जनसंख्याका आधारमा संख्या थप्नका लागि आग्रह गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘अहिले जनसंख्याको आधारमा संख्या थप्नतिर लागियो भने, तोकिएकै मितिमा चुनाव हुन गाह्रो छ, त्यसैले चुनाव अब रोक्नुहुँदैन।’

मोर्चासँग ५ बुँदे सहमतिको प्रयास भइरहेको भए पनि यसका लागि सत्तारुढ दल कांग्रेस र राप्रपा, र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग पनि पनि छलफल हुने बताउँदै केही दिनभित्र नै सहमति हुने दाबी गर्नुभयो।

प्रमुख दल नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले संविधान संशोधन प्रस्तावमा समावेश भएका विषयमध्ये सीमांकनबाहेकका अन्य विषयहरू पारित भए आफूहरूलाई कुनै आपत्ति नहुने बताउनुभयो। नेता भण्डारीले संशोधन प्रस्तावमा उल्लेख भएको विषयमध्ये नागरिकताको प्रावधानले तराईका जनतालाई नै असर पार्ने गुनासो गर्दै माथिल्लो सदनमा जनसंख्याको आधारमा प्रतिनिधित्व सुनिश्चितता गरिए पहाड रितिनेसमेत बताउनुभयो।

नेपाली भाषा सबैलाई राष्ट्रिय भाषा मानिसकेकाले अहिले आएको भाषासम्बन्धी संशोधनले देशलाई फाइदा नहुने बताउँदै स्थानीय तहको चुनाव हुन नसके कुनै दलको हार–जित नभएर देशको हार हुने बताउनुभयो।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता वंशीधर मिश्रले सीमांकनलाई थाँती राखी अरू विषयमा छलफल गरेर संशोधन प्रस्ताव पारित गराउन एमाले लचिलो हुन तयार रहेको बताउनुभयो। सीमांकनलाई आयोगबाट टुंगो लागाउनुपर्ने र संवादलाई जारी राख्नुपर्ने कुरा आफूले पहिलेदेखि नै उठाउँदै आएको उल्लेख गर्दै नेता मिश्रले भने– ‘सीमांकनबाहेकका विषयलाई संशोधन गरेर जान सकिन्छ अहिले सीमांकनलाई थाँती राखेर अन्य विषय पारित गराउने कुरा आएको छ, यसमा एमाले लचिलो हुन्छ।’

सत्तारुढ दल राप्रपा वरिष्ठ नेता पशुपति शमशेर राणाले संविधान संशोधन गरेर मात्र चुनाव हुनुपर्ने बताउँदै संशोधनमा उल्लेख भएका विषयहरूलाई केही हेरफेर गर्नुपर्ने बताउनुभयो।

मधेसी मोर्चाका शीर्ष नेता वृशेषचन्द्र लालले मधेसी मोर्चासँग सहमति भयो भनेर हल्ला गरिए पनि त्यस्तो सहमति नभएको बताउनुभयो। संविधान संशोधन नभएसम्म मोर्चाले कुनै पनि निर्वाचन प्रक्रियामा भाग नलिने र निर्वाचनको अवरोध गर्ने चेतावनी दिँदै सदनमा दर्ता भएको संविधान संशोधन प्रस्ताव आफूहरूको नभएर सरकारको भएको समेत आरोप लगाउनुभयो।