एम्बुलेन्समा तस्करी


कुमार श्रेष्ठ, बाँके
बाँकेमा एम्बुलेन्सले तस्करीका सामान ओसार्ने गरेको पाइएको छ। बुधबार राति नेपालगन्ज नाकामा ठूलो मात्रामा अवैध कपडा ल्याइरहँदा एउटा एम्बुलेन्स सीमामा रहेको सशस्त्र प्रहरीको फन्दामा परेको हो।

भारतबाट अवैध तरिकाले भरियामार्फत ल्याइएको कपडालाई सीमास्थित परसपुरबाट एम्बुलेन्सले बोकेर ल्याएको थियो। महेन्द्रनगरमा रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा बलको गस्ती टोलीले पौने एघार बजे उक्त एम्बुलेन्सलाई नियन्त्रणमा लिएको थियो।

भे१च ८३० नम्बरको एम्बुलेन्सले एक सय ९८ थान साडी बोकेर ल्याएको थियो। सशस्त्र प्रहरीका एसपी राजु अधिकारीले प्रहरी नायब निरीक्षक अमृत कठायतको नेतृत्वमा गएको टोलीले जाँच गर्दा एम्बुलेन्समा तस्करीको कपडा फेला परेको बताउनुभयो।

नेपालगन्जका कमलसिंह क्षेत्रीले उक्त कपडा मगाएको बुझिएको छ। चालकले पनि क्षेत्री एम्बुलेन्सको मालिक भएको बताएका छन्। ‘परसपुरमा मेरो सामान छ लिएर आउनु भनेर पठाएका हुन’्, चालकले भनेका छन्– ‘हामीलाई त के सामान हो भन्ने पनि थाहा थिएन। गएर ल्यायौं।’

सशस्त्र प्रहरीले बिहीबार एम्बुलेन्स, चालक, सहचालक र कपडालाई नेपालगन्ज भन्सार कार्यालयमा बुझाएको छ। प्रहरीले बरामद कपडा एक लाख ४८ हजारको रहेको आकलन गरेको छ। यद्यपि, साडीको मूल्य अझ बढी रहेको जानकारहरू बताउँछन्।

भन्सार कार्यालय, नेपालगन्जका सूचना अधिकृत लक्ष्मीदत्त जोशीका अनुसार तस्करीमा संलग्न रहेका चालक बिगो बराबरको धरौटीमा छुट्न सक्छन्। एम्बुलेन्सको हकमा भने चालक र मालिकको बयानको महत्त्व हुनेछ। ‘तस्करीमा मालिकको मिलोमतो देखिएमा एम्बुलेन्स जफत हुन्छ’, जोशीले भन्नुभयो– ‘यो काण्डको वास्तविक के हो बुझ्दै छौं।’

नेपालगन्ज नाकामा एम्बुलेन्सले तस्करीको सामान बोक्दा पक्राउ परेको यो नै पहिलो घटना भने होइन। यसअघि दाङको एउटा एम्बुलेन्स पनि तस्करीको सामानसहित पक्राउ परेको थियो।
बिरामी बोकेर भारतका विभिन्न शहरमा पुग्ने एम्बुलेन्सले फर्किंदा तस्करीका सामान बोकेर आउने गरेको पाइन्छ।