गल्फ खेलका विश्वप्रसिद्ध हस्ती


न्युयोर्क, (एजेन्सी)
विश्वका प्रायःजसो देशमा खेलिने भए पनि गल्फ खेलले त्यति चर्चा बटुल्न भने सकेको छैन। खेल्नका लागि ठूलै क्षेत्रफल आवश्यक पर्ने हुनाले जहाँतहीं यो खेल्न सहज पनि हँुदैन। कुनै समय विश्वकै धनाढ्य खेलाडी सूचीमा समेत गल्फ खेलाडीले आधिपत्य जमाए पनि यो खेलको दायरा फराकिलो हुन सकेको छैन। यो खेलको इतिहास लामो छ। तर, नेपालमा भने तुलनात्मकरूपमा यो खेलले सोचेजति लोकप्रियता पाउन सकेको छैन। केही समययता केही ठूला व्यापारिक संस्थाहरूको सक्रियताले नेपालमा गल्फ प्रतियोगिताहरूको आयोजना पनि बढ्दै गइरहेको छ। यसै कारण नेपालमा गल्फ खेल मौलाउन थालेको छ। यसले भविष्यमा नेपालमा पनि यो खेलको दर्शक र खेलाडीको संख्या बढ्ने अनुमान लगाउन सकिन्छ। १५औं शताब्दितिर स्कटल्यान्डबाट खेल्न थालिएको गल्फ खेलमा विश्वभर थुप्रै दिग्गज खेलाडीहरूले जन्म लिइसकेका छन्। हरेक खेलमा जस्तै गल्फ खेलमार्फत् पनि विश्वभरि प्रसिद्धि कमाएका थुप्रै खेलाडीहरू छन्। जसमध्ये यो खेलमा महान्को छवि बनाउन सफल केही खेलाडको यहाँ चर्चा गरिएको छ।


टाइगर उड्स
गल्फको नाम लिँदा टाइगर उड्सलाई नचिन्ने कमै होलान्। उनी गल्फका महान् खेलाडीको सूचीमा अग्रपंक्तिमा आउने गर्छन्। संख्याको आधारमा सर्वकालीन उत्कृष्ट गल्फर ज्याक निकलस जति उपाधिहरू नजिते पनि पैसा आर्जन गर्ने होडमा भने उड्स निक्कै अगाडि छन्। ज्याकले १८ वटा प्रमुख उपाधिहरू जितेका छन् भने उड्स १४ वटा उपाधिका हकदार हुन्। तर, धेरै मान्छे भने ज्याकले जितेका उपाधि संख्या नउछिनेसम्म उड्सलाई गल्फकै महान् भन्न नमिल्ने बताउँछन्। गल्फमा केही खेलमा उत्कृष्ट प्रदर्शन गर्नुभन्दा पनि कति वटा प्रमुख उपाधि जित्यो भन्ने कुराले बढी महत्त्व पाउँछ। तर, उत्कृष्टताको कसी मापन गर्ने आधारहरू यतिमा मात्र सीमित हँुदैन। तुलनात्मकरूपमा निकलसले प्रमुख उपाधिहरू बढी जिते पनि अवार्ड संख्या र धन आर्जनको सन्दर्भमा भने उड्स नै वजनदार देखिन्छन्। गल्फको इतिहासमा उड्सले जति अवार्डहरू अन्यले प्राप्त गर्न सकेका छैनन्। सन् १९९६ मा २० वर्षको उमेरमा व्यवसायिक गल्फ करियर शुरुआत गरेका अमेरिकाका ४१ वर्षीय उड्सले १ सय ६ प्रतियोगितामा जित हासिल गरेका छन्। जसमध्ये चार पटक मास्टर्स टुर्नामेन्ट, तीन पटक यूएस ओपन, तीन पटक ओपन च्याम्पियनसिप, चार पटक पीजीए च्याम्पियनसिप गरी १४ वटा प्रमुख उपाधि रहेका छन्। यस्तै उनले ७९ पटक पीजीए टुर, ४० पटक युरोपियन टुर, २ जापानी टुर, समान एक–एक पटक एसियन टुर र पीजीए टुर अफ अस्ट्रेलएसियासहित अन्य १६ पटक महत्त्वपूर्ण प्रतियोगितामा जित दर्ता गराइसकेका छन्। सन् १९९६ मा व्यवसायिक गल्फमा डेब्यु गरेकै वर्ष उनले पीजीए टुर रकी अफ द इयरको अवार्ड हात पारेका थिए। त्यसपछि भने उनले पीजीए प्लेयर अफ दि इयर, पीजए टुर प्लेयर अफ दि इयर, पीजीए टुर लिडिङ मनी विनर, भर्दोन ट्रफी, बायरन नेल्सन अवार्ड, फेडएक्स च्याम्पियन गरी कुल ६० वटा अवार्ड प्राप्त गरिसकेका छन्। केही वर्ष विश्वकै धनाढ्य खेलाडी सूचीको पहिलो स्थानमा आधिपत्य जमाएका उड्सलाई सन् २००९ मा एथ्लिट्स अफ डिकेडको उपमा दिइएको थियो।


आर्नोल्ड पाल्मर
गत सेप्टेम्बरमा ८७ वर्षको उमेरमा देहत्याग गरेका अमेरिकी विश्व प्रसिद्ध गल्फर आर्नाेल्ड विश्व खेल इतिहासकै एक चर्चित पात्र हुन्। द किङको उपमा पाएका उनले गल्फले टेलिभिजन स्थान पाउँदा पहिलो सुपरस्टारको रूपमा परिचय बनाएको थियो। उनी सन् १९६० ताका गल्फका द बिग थ्रीबाट ख्यातिप्राप्त तीन गल्फरमध्येका एक हुन्। सन् १९५४ मा व्यवसायिक गल्फ करियरको शुरुआत गरेका उनले सबैखाले गरी कुल ९५ पटक जित दर्ता गराएका छन्। जसमध्ये ७ उपाधि प्रतिष्ठित रहेका छन्। चार पटक मास्टर्स टुर्नामेन्ट, एक पटक यूएस ओपन र दुई पटक द ओपन च्याम्पियनसिप उनको मुख्य उपाधि रहेका छन्। यस्तै उनले दर्जनौं अवार्डहरू प्राप्त गरेका थिए। वल्र्ड गल्फ हल अफ फेममा अटाएका उनले चार पटक पीजीए टुर लिडिङ मनी विनर, दुई पटक पीजीए प्लेयर अफ द इयर, चार पटक भार्दोन ट्रफी र समान एक–एक पटक स्पोर्ट्स इलस्ट्रेटेड स्पोर्ट्सम्यान अफ द इयर, बब जोन्स अवार्ड, ओल्ड टम मोरिस अवार्ड, पीजीए टुर लाइफटाइम एचिभमेन्ट अवार्ड, पेयेने स्टेवर्ड अवार्ड, कंग्रेसनल गोल्ड मेडल र प्रेसिडेन्सल मेडल अफ फ्रिडम अवार्ड प्राप्त गरेका थिए। अमेरिका गल्फ एसोसिएसनले उनलाई गल्फका राजदूतको संज्ञा दिँदै आएका थिए। उनले गल्फ खेललाई टेलिभिजन प्रसारणसम्म ल्याइपुर्याउन सेतुको काम गरेका थिए।


बबी जोन्स
सन् १९०२ मा जन्मेका बबी जोन्स गल्फ खेलका अर्का महान् खेलाडी हुन्। सन् १९२३ देखि १९३० सम्मको छोटो अवधिमा गल्फमा जादुगरी देखाएका उनले आफ्नो नाममा १३ प्रमुख प्रतियोगितामा जित हासिल गरेका थिए। जसमध्ये यूएस ओपन ४ पटक, द ओपन च्याम्पियनसिप ३ पटक, यूएस एमेच्योर ५ पटक र एक पटक ब्रिटिस एमेच्योर प्रतियोगिता प्रमुख रहेका छन्। उनले गल्फमार्फत् विभिन्न अवार्ड प्राप्त गरेका छन्। उनी वल्र्ड गल्फ हल अफ द फेम, जेम्स ई सुलिभन अवार्ड, जार्जिया टेक एथ्लेटिक हल अफ फेम र जार्जिया टेक इन्जिनियरिङ हल अफ फेमबाट सम्मानित भइसकेका छन्।


बेन होगन
बेन होगन गल्फ खेलका महान् खेलाडीमध्येका एक हुन्। सन् १९१२ मा टेक्सासमा जन्मेका होगनले सन् १९३० मा व्यवसायिक गल्फ करियरको शुरुआत गरेका थिए। उनले आफ्नो सक्रिय खेल जीवनमा ६९ पटक जित हासिल गरेका थिए। जसमध्ये दुई पटक मास्टर्स टुर्नामेन्ट, चार पटक यूएस ओपन, एक पटक द ओपन च्याम्पियनसिप र दुई पटक पीजीए च्याम्पियनसिप गरी ९ वटा मुख्य उपाधि रहेका छन्। योबाहेक उनले १४ वटा विभिन्न अवार्ड प्राप्त गरेका थिए। सन् १९४७ मा वल्र्ड गल्फ हल अफ फेमबाट सम्मानित भएका उनले पाँच पटक पीजीए टूर लिडिङ मनी विनर, चार पटक नै पीजीए प्लेयर अफ द इयर, तीन पटक भर्दोन ट्रफी र सन् १९५४ मा एक पटक एसोसिएटेड प्रेस मेल एथ्लिट अफ द इयरको अवार्ड प्राप्त गरेका थिए।

ज्याक निकलस
‘गोल्डन बेयर’ को नामले परिचित अमेरिकाका ७७ वर्षीय ज्याक निकलस गल्फ खेलमा महान् खेलाडी हुन्। उनले आफ्नो खेल जीवनमा सर्वाधिक १८ वटा प्रमुख उपाधि जितेका छन्। सन् १९६१ मा व्यवसायिक गल्फ करियरको शुरुआत गरेका उनले सन् १९७५ मा संन्यास लिएका थिए। यस क्रममा उनले १ सय २० पटक जित हासिल गरेका थिए। जसमध्ये ७३ पटक पीजीए टुर, १० पटक पीजिए टुर च्याम्पियन्स र अन्य ३७ प्रतियोगितामा जित दर्ता गराएका थिए। उनले छ पटक मास्टर्स टूर्नामेन्ट, चार पटक यूएस ओपन, तीन पटक द ओपन च्याम्पियनसिप, पाँच पटक पीजीए च्याम्पियनसिप गरी १८ वटा प्रमुख उपाधि जितेका छन्। उनले आफ्नो सक्रिय खेल जीवनको क्रममा विभिन्न अवार्ड र सम्मान प्राप्त गरेका छन्। वल्र्ड गल्फ हल अफ फेम, पीजीए टुर लिडिङ मनी विनर, पीजीए प्लेयर अफ द इयर, बब जोन्स अवार्ड, पेइने स्टेवर्ड अवार्ड, पीजीए टुर लाइफटाइम एचिभमेन्ट अवार्ड, कंग्रेसनल अवार्ड मुख्य रहेका छन्।