मधेसवादी दल चुनाव तयारीमा

0
Shares

गोकुल घोरसाइने, बारा
स्थानीय तह निर्वाचनको विपक्षमा रहेका भनिएका मधेसी मोर्चा कार्यकर्ताहरुले जिल्ला समन्वय समिति बाराकोे साइन बोर्ड फ्याकेर फर्किए लगत्तै मोर्चाको प्रमुख एक घटक संघीय समाजवादी फोरम नेपालले पार्टी कार्यालयमा कार्यक्रम आयोजना गरी माओवादी केन्द्रका स्थानीय नेता पप्पु साहलाई अघिल्लो साता पार्टीमा भित्र्यायो ।

सशस्त्र युद्धताका बन्दुक बोकेर माओवादीमा लागेका पुर्व लडाकु साहलाई फोरम नेपालका राजनिति समिति सदस्य एंव पुर्व सभाषद प्रमोद प्रसाद गुप्ता र जिल्ला अध्यक्ष रामबाबु कुमार यादवले अबिर÷माला पहिर्याएर पार्टी सदस्यता प्रदान गरेका थिए । मोर्चाको अर्को घटक तराई मधेस लोकतान्त्रिक पार्टी पनि गाउँ र नगरपालिकामा भेला र सभा आयोजना गरेर अन्य पार्टीका कार्यकर्ता तान्न व्यस्त देखिएको छ ।

सरकारले घोषणा गरेको निर्वाचन बिथोल्ने धम्की दिए पनि जिल्लामा विपक्षी कार्यकर्ता भित्र्याउन देखाएको सक्रियताले मधेसवादी दलहरु आन्तरिक रुपमा बैशाख ३१ को स्थानीय तह निर्वाचनमा भाग लिने तयारीमा लागेको बुझिन्छ । कलैयाका पत्रकार संजय तिवारीका अनुसार मधेसवादी दलका कार्यकर्ताहरु एकैपटक सडक आन्दोलन र निर्वाचनको पनि तयारीमा रहेको बताउछन । जिल्लामा प्रभावी मानिएका ३ दलबीच आपसी तालमेलमा उम्मेदवारी दिने योजना छ ।

चुनावी एकताले सदरमुकाम कलैया उपमहानगर सहित सिम्रौनगढ, महागढीमाई नपा र थप २÷३ वटा गाउँपालिकामा पनि मधेसवादी दलले पकड बनाउन सक्ने देखिन् छ ।

मोर्चा जिल्ला संयोजक एंव संघीय फोरम नेपालका अध्यक्ष रामबाबु यादव भने आफुहरु निर्वाचनमा भाग लिने तयारीमा मात्र नलागेको बताउछन । ‘माग पुरा भए मात्र चुनवमा जाने हो, अध्यक्ष यादवले भने, नत्र मधेसमा चुनाव हुनै सक्दैन ।’ उनले हाल भइरहेको पार्टी प्रवेश कार्यक्रम पनि चुनाव र आन्दोलन दुबैको तयारी निम्ति भएको सुनाए ।