नाटकको अनुसन्धान अझै बाँकी

0
Shares

मध्यकाल तथा मल्लकालका मैथिली, नेवारी र भँगाली भाषामा लेखिएका सैयौं नाटकका अभिलेख पाइए पनि तीनलाई अझै अनुसन्धान गर्न र प्रकाशनमा ल्याउन नसकिएको अनुसन्धानकर्ताहरूले बताएका छन्।

५५औं विश्व रंगमञ्च दिवसको अवसरमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले सांस्कृतिक संस्थानको सहकार्यमा सोमबार नाचघरमा भएको गोष्ठी तथा नेवारी नाच प्रस्तुति कार्यक्रममा अनुसन्धानकर्ता प्राडा रामअवतार चौधरीले मध्यकालीन एवं मल्लकालीन नेवारी, मैथिली र बंगाली नाटकबारे कार्यपत्र प्रस्तुत गरे। उनले ३ प्राकृत भाषामा नाटक, ३ सयभन्दा बढी मैथिली नाटक, ४ नेवारी भाषाको नाटक र त्यत्तिकै मात्रामा बंगाली भाषाका नाटकको अभिलेख मध्य र मल्लकालमा लेखिएको र अहिले पनि सुरक्षित रहेको बताए। अग्रज संस्कृतिविद् सत्यमोहन जोशीले राणाकालपछि नेवारी भाषाको नाटक लोप भएको अवस्थामा आफूहरूले संरक्षण गरेको खुलाए। उनले मल्लकालमा काठमाडौं, ललितपुर र भक्तपुरमा मञ्चन भएका केही नाटकको पनि चर्चा गरे। अर्का नाट्यकर्मी प्रचण्ड मल्ललले मल्लकालको मञ्च र प्रस्तुतिको बारेमा चर्चा गर्दै त्यतिबेला त्रिकोण आकारको मञ्चमा नाटक देखाइने गरेको सुनाए।

संस्कृतिविद् तेजेश्वरबाबु ग्वाँङले काठमाडौं उपत्यकाका नेवारी नाचहरू संकटमा रहेको तथा अहिलेको आधुनिक प्रयोगले नेवारी नाटक छायाँमा परेको बारे कार्यपत्र प्रस्तुत गरे।

प्राडा सावित्री मल्लले काठमाडौंका नाति पुस्ताले नेवारी बोल्न छाडेकाले नयाँ पुस्ताले नेवारी भाषा बुझ्न छाडेको र नेवारी भाषामा मञ्चिन नाटक सोही कारण हेर्न छोडिएको चर्चा गरिन्। नेवारी रंगमञ्च र त्यसको चुनौती शीर्षकको कार्यपत्र प्रस्तुत गर्दै उनले नेवारी नाटक जोगाउन अब नेपाली भाषामा बोलेर भए पनि नेवारी नाटक मञ्चन गरिनुपर्नेमा जोड दिइन्। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति भक्त श्रेष्ठ (सरुभक्त) ले यो वर्ष प्रतिष्ठानले ७ प्रदेशकै नाटक, नाच, गीत–संगीतसम्बन्धी अनुसन्धान गरे हरेक प्रदेशको छुट्टै पुस्तक प्रकाशन गर्न लागेको बताए। कार्यक्रममा मध्यपुर ठिमीका कलाकारले ४ सय वर्षभन्दा अघिदेखि प्रचलनमा रहेका इन्द्र–अप्सरा नृत्य र भस्मासुर नाच प्रस्तुत गरे।