एक गाग्री पानीको लागी दुई घण्टा लाइन


धनवीर दाहाल, रुकुम ।
रुकुमको त्रिबेणी गाँउपालिका वडा नं १० टोट्के की एकमाया ओली एकाबिहानै पानी लिनको लागी घरबाट हिड्छीन । उनलाई साँझ सुत्नेबेला देखी भोलि पानीको पालो आउला कि नआउला भन्ने कुराले पिरोल्छ ।

उनी बिहानै ४ बजे उठेर पानी लिनको लागी मुसिकोट नगरपालिका वडा नं १३ को गोगनपानीमा जान्छीन् । एक गाग्री पानी लिनको लागी करिव २ घण्टा हिडेर उनी पानीभएको ठाँउमा जानै पर्ने बाध्यता छ । उनी मात्र होइन सोही ठाँउकी खिमा खड्कालाई पनि त्यही पिर छ । पानी लिनको लागी घण्टौं हिड्नुपर्ने बाध्यता उनीहरुसँग छ ।

ओली र खड्का त एक प्रतिनिधि पात्र हुन् । उनीहरु जस्तै सो गाँउका करिव ७० घर परिवारलाई दुई घण्टा हिडेर पिउने पानी बोक्नुपर्ने बाध्यता छ । एक गाग्री पानी लिनको लागी दुई घण्टा हिड्नु पर्ने त्रिबेणी गाँउपालिका १० टोट्केका बासिन्दाको पिडा छ । मानिसले पिउनेदेखी कपडा धुने, नुहाउने तथा बस्तुभाउलाई खुवाउने पानी समेत बोक्नुपर्छ ।

साविकको पेउघा गाबिस वडा नं ९ टोट्के र पानी लिनेठाँउ साविकको छिबाङ गाविसको वडा नं ६ हो । गाँउको शिरमा रहेको मुहानबाट धेरै मेहनत गरेर ट्यांकीमा जम्मा गरेको पानी एक घरलाई एक गाग्री मात्र दिइन्छ ।

त्यो पानीको लागी घरको एक जना अनिवार्य लाइन लाग्नुपर्ने अर्काे बाध्यता छ । “दिनभर एक जनाको जिम्मेवारी नै पानीको हुन्छ”– एकमायाले भनिन् “एक गाग्री पानी त मान्छेको लागी पिउने पुग्दैन । नुहाउने ,कपडा धुने र बस्तुभाउको लागी त धेरै बोक्नुपर्छ ।” आफ्नो समस्याको बारेमा कतैबाट पनि पहल नभएको खिमाले बताइन् । “पानीको समस्या हाम्रो मुख्य समस्या हो”– खिमा भन्छीन् “पुर्खाैंदेखीको यो समस्या अझै कति खेप्नुपर्ने हो थाहै छैन” । पिउने पानीको लागी बिभिन्न सरोकारवाला निकायसँग पहल भइरहेको स्थानीय समाजसेवी केशरबहादुर खड्काले बताए ।

खड्काका अनुसार सोलारबाट पानी तान्ने प्रक्रिया सरोकारवालासँग सम्झौता भइसकेको र काम पनि अगाडी बढेको बताए । तर पुस्तौंदेखीको पिउनेपानीको समस्याबाट आफुहरु आर्जित भएको उनको भनाई छ ।

उनले भने “पिउने पानीका लागी मात्र नभएर घरमा दैनिक जिवनमा आइपर्ने कामका लागी नभई नहुने पानीको समस्या हाम्रो मुख्य समस्या हो ।” मुख्य रुपमा रहेको पानीको समस्यालाई समाधान गर्नको लागी सम्बन्धीत निकायले गम्भीर रुपमा चासो नदिएको स्थानीय मानबहादुर ओलीको दुखेसो छ ।

आफुहरुले बिभिन्न निकायसँग समस्याबारे अवगत गराएपनि गम्भीर रुपमा चासो कसैले नदिएको उनले बताए । तर पछिल्लो पटक भइरहेको प्रयासले केही राहत मिल्छकी भन्ने आफुहरुले अपेक्षा गरेको उनले बताए ।

साविकको पेउघा गाबिसको अति पछाडी परेको वडाको रुपमा लिइने वडा नं ९ टोट्के अहिलेको त्रिबेणी गाँउपालिकाको पनि अत्यन्तै दुर्गम वडा नं १०को रुपमा रहेको छ ।

मुरु केन्द्र तोकिएको सो वडाबाट मुसिकोट नगरपालिका अर्थात सदरमुकाम खलंगा आउन सजिलो हुन्छ । पानी,सडक, बिजुली र यातायातको सुबिधाबाट बञ्चीत सो गाँउमा निकै मेहनती कृषकहरु छन् ।

मकै, गहुँ, तोरी, आलु लगाएतको उत्पादन भएको अन्न तथा तरकारी सो गाँउबाट सदरमुकाम खलंगामा हरेक दिन ल्याएर बिक्री बितरण गरिन्छ ।