असल बन्ने शिक्षा दिऊ


सानु अमात्य
बाल विकास विशेषज्ञ

हामीले बालबालिकालाई असल मानव बन्ने खालको शिक्षा दिने हो। यसको लागि वातावरण र अवसर चाहिन्छ। सबैले यसका लागि आ–आफ्नो स्थानबाट पहल गर्नुपर्छ। पहिलो कुरा, बालबालिकालाई कहिले, कुन बेला, कस्तो र कसरी शिक्षा दिने भन्ने स्पष्ट हुनुपर्दछ। नेपालमा बालमैत्री विद्यालयको अवधारणा आएको धेरै भएको छैन। बालबालिकालाई माया गरी शिक्षण सिकाइ गर्नुपर्दछ।

बालबालिकाले आमाको गर्वबाटै सिकाइ सिक्ने हुँदा आमाबाबुले त्यस बेलादेखि नै विशेष विचार पुर्याउनुपर्दछ। उनीहरूलाई अधिकारमा आधारित बालमैत्री तबरले बालबालिकालाई उमेरअनुसार शिक्षण सिकाइ गर्नुपर्दछ।

शिक्षण सिकाइ प्रक्रिया दृश्य अवलोकन गरेर, आवाज सुनेर र अभ्यास, अनुभव गरेर बालबालिकाले सहज ढंगले सिक्ने खालको हुनुपर्दछ। हामीकहाँ अनुभव हुने किसिमले अभ्यास नै गराउँदैन।

सिकाइको मापदण्ड मापन गरी कति उमेरलाई कसरी सिकाउने भन्नेमा पनि ध्यान पुर्याउनु आवश्यक छ। हामीले प्रत्येक बालकलाई उमेरले एउटै जस्तो लागे पनि तिनीहरूको क्षमता फरक हुन्छ भन्ने भुल्नुहुन्न। जसअनुसार उनीहरूको इच्छा, क्षमता र बुद्धी फरक हुन्छ। हामीले त्यसलाई पहिचान गर्न सक्नुपर्छ।

औंठाछापको माध्यमबाट दिमागी क्षमताको वैज्ञानिक विश्लेषण गरेर कस्को कस्तो क्षमता र गुण छ भन्ने सजिलै पत्ता लगाउन सकिन्छ। जसलाई डेमटोग्लेफिक्स् मल्टिपल इन्टेलिजेन्स् टेस्ट भनिन्छ। कुनै बालबालिकालाई १६ वर्ष अगावै यो विधिमार्फत् जाँच गराएमा कस्तो बालकलाई कसरी के पढाउने भन्ने प्रस्टरूपमा थाहा पाउन सकिन्छ।

हामीसँग अझै पनि होलसेल शिक्षा प्रणाली छ। शिक्षकले बालबालिकालाई अब पढाउने होइन सहजकर्ताको भूमिका निभाउनुपर्दछ। बालबालिकालाई कहिल्यै पनि बलजफ्ती गर्नु हुन्न रमाइलो र मनोरञ्जनात्मक विधिबाट सिकाउनुपर्दछ। तनावमा राखेर नभई शान्ता वातावरणमा शिक्षण सिकाइ गर्नु गराउनुपर्दछ।

परिणाममा आधारित भयो हाम्रो शिक्षा, अब मानवीय शिक्षाको विकास हुन अझै बाँकी छ। हामीमा अझै पनि पिटेर पढाउनुपर्छ भन्ने शिक्षकहरू मत छ। गाली गलौच दिएरभन्दा पनि तनाव कम गरेर, हँसिलो मुहार देखाएर, फुर्तिलो बनेर देखाएर शिक्षकका साथै अभिभावकले व्यवहार गर्नुपर्दछ। त्यसका साथै शिक्षक तथा अभिभावकले मनोसामाजिक व्यवहार देखाउनुपर्दछ। यसका लागि सबैले राम्रो वातावरण र परिवेश बनाउनुजरुरी छ।

प्रस्तुति ः सुरेश तामाङ