धुवाँ र आगोको बीचमा बफनको इतिहास

0
Shares

लन्डन, (एजेन्सी)
इटालीका गोलकिपर जियानलुइगी बफनको करिअरको १ हजारौं खेलमा इटालीको जित दर्ता हुन धुवाँ र आगोले छेक्न सकेनन्। विश्वकप २०१८ छनोट अन्तर्गत युरोपेली समूहअन्तर्गत शुक्रबार राति भएको खेलमा इटालीले अल्बानियालाई २–० ले हराएको थियो। डेनील डी रोसीको पेनाल्टी गोलबाट घरेलु टोली इटालीले अग्रता लिएको थियो। सिरो इम्मोबाइले दोस्रो गोल गरेका थिए।

उक्त खेलदौरान मैदानमा भ्रमणकारी समर्थकले आगोको डल्लो फयाँकेर खेलमा अवरोध सिर्जना गरेका थिए। डी रोसीले पेनाल्टी प्रहार गर्न लाग्दा पहिलो पटक आगोको डल्लो फयाँकिएको थियो। अल्बानियाविरुद्ध पेनाल्टी दिएपछि सो टोलीका क्रुद्ध समर्थकले आगोको डल्लो र धुवाँ बम फयाँकेर खेल अवरोध गरेका थिए। दोस्रो हाफ शुरु भए लगतै यस्तै घटना पुन सिर्जना भएपछि केही समय खेलाडीलाई मैदानबाहिर पठाउनु परेको थियो। झनै आक्रमक देखिएका ती समर्थकले बफनको पेनाल्टी क्षेत्रमा बढी आगो र धुवाँ बम फयाँकेका थिए। धुवाँले मैदान भरिएपछि खेल करिब १० मिनेट रोकिएको थियो।

यसको बावजुद बफनको १ हजारौं खेल ऐतिहासिक बन्यो। ३९ वर्षीय गोलकिपरको यो इटालीका लागि भने १ सय ६८ औं खेल थियो। उनी सबैभन्दा बढी खेल्ने युरोपीयन खेलाडी समेत हुन्। बफनले आफनो १ हजार खेलमा इटाली, पार्मा र युभेन्टसको लागि गोलकिपिङ गर्दा ७ सय ९९ गोल आत्मसात गरेका छन्।

स्पेन शीर्षमा
इटालीले जित हात पारे पनि विश्वकप फुटबल छनोटअन्तर्गत समूह जी मा स्पेन शीर्ष स्थानमा रहेको छ। स्पेनले सोही राति गियोनमा भएको खेलमा इजरायललाई ४–१ ले हराएर गोलभिन्नतामा शीर्ष स्थानमा रहेको हो। टोलीका जितमा डेविड सिल्भा र डिएगो कोस्टाले दुई ⁄दुई गोल गरेका थिए। स्पेन र इटालीको ५ खेलबाट समान १३ अंक बनेको छ भने इजरायल ९ अंकसहित तेस्रो स्थानमा छ।

सर्बियाको पुनरागमन
समूह डी अन्तर्गत शुक्रबार राति भएको खेलमो एक गोलले पछि परेको सर्बियाले पुनरागमन गर्दै जर्जियालाई ३–१ ले हरायो। काचाराभाले पाँचौ मिनेटमा गोल गरेर जर्जियालाई अग्रता दिलाएका थिए। तर सर्बियाका टाडिचले पहिलो हाफ सकिने समयमा गोल गरेर खेल बराबरीमा ल्याए। दोस्रो हाफमा मिट्रोभिच र गाचीनोभिचले गोल गरेपछि सर्बिया ११ अंकसहित शीर्ष स्थानमा रह्यो।

अर्को खेलमा रिपब्लिक अफ आयरल्यान्डले वेल्ससँग गोलरहित बराबरी खेलेको थियो। आयरल्यान्ड ११ अंक जोडेपनि गोलभिन्नतामा सर्बियासँग पछि परेको हो। वेल्स ७ अंकसहित तेस्रो स्थानमा छ।