बढ्दो तापक्रमको चिन्ता क्यानभाषमा

0
Shares

विश्वमा बढ्दै गइरहेको तापक्रमले प्राणी जगत्मा संकट पैदा गराइरहेको विषयलाई तीन दर्जन कलाकार क्यानभाषमा उतार्दै आम मानिसमा जागरण भर्ने उद्देश्यले नवरपरासीको गैंडाकोट पाँचदिने कार्यशाला तथा प्रदर्शनी जुटेका छन्। नेपाल, जर्मनी, बंगलादेश र भारतका कलाकार सहभागी रहेको कार्यक्रमको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी कुलपति रागिनी उपाध्यायले एक समारोहका शुभारम्भ गरिन्।

प्रथम अन्तर्राष्ट्रिय प्रकृति आर्ट फेस्टिभल २०१७ को गैंडाकोटस्थित रेड हाउस जंगल रिसोर्टमा कलाकारले प्रकृति, वातावरण र वन्यजन्तुका विविध पाटोलाई क्यानभासमा उतारेका छन्। ४ सय ५० भन्दा बढी प्रजातिका चरा पाइने स्थानमा भेला भएका कलाकारले वन्यजन्तु तथा प्रकृतिलाई कलामा उतारेका छन्। फेस्टिभलमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी कुलपति रागिनी उपाध्याय, भारतका कलाकार विजय बिसुवाल र सञ्जय राजपुत, बंगलादेशका कमल उद्दिन, प्रद्दिउत दास र महमद अलोप्तोगिन, नेपालबाट डी राम पाल्पाली, देवेन्द्र थुम्केली, भीम शर्मा सुवेदी, धनु याखा, एनबी गुरुङ, लालकाजी लामा, एससी सुमन, सुषमा राजभण्डारी, रमेश श्रेष्ठ, नरबहादुर बीके, डीबी राई, भीम श्रेष्ठ, प्रकाश थापा, वरुणबाबु घिमिरे, दामोदर बराल, तमबहादुर पुन, गोविन्दराज विनोदी, सञ्जुखड्गी शाही, अरुणा हिङ्माङ र जर्मनीबाट पिटर हार्गेटको सहभागिता रहेको छ।

कलाकृति आर्ट काउन्सिल नवलपरासीको आयोजनामा भएको पाँचदिने कार्यशाला तथा प्रदर्शनीको शुभारम्भ गर्दै ललितकला प्रज्ञा प्रतिष्ठानकी कुलपति उपाध्यायले नेपाली कलामा प्रकृतिलाई केन्द्रित गरी गरिएको यस कार्यक्रमले विशिष्ट प्रभाव पार्ने चर्चा गरिन्। ‘प्रकृति हाम्रो लागि महत्त्वपूर्ण छ। यो विषय विश्वको साझा विषय हो। कलाकारले साझारूपमा क्लाइमेट चेन्जको विषयलाई अभियानकै रूपमा उठाउनुपर्दछ’, उनको भनाइ थियो– ‘विश्वका सबै देशका कलाकारले यो विषयलाई गम्भीररूपमा उठाई प्रकृति र वातावरणको संरक्षणमा पहल गर्नुपर्दछ।’ भारतका कलाकार विजय बिसुवालले कला सबैको साझा भाषा रहेकाले प्रकृति संरक्षणमा मिलेर काम गर्नुपर्नेमा जोड दिए। मध्यविन्दु प्रज्ञा प्रतिष्ठानका अध्यक्ष जीवन युगिनले प्रकृतिसम्बन्धी यो कार्याशालाले वातावरण जोगाउन सघाउने बताए भने कलाकार तथा साहित्यकार गोविन्दराज विनोदी सिर्जनाले मानिसको भावनालाई जोड्ने भएकाले नवलपरासीमा गरिएको अन्तर्राष्ट्रियस्तरको फेस्टिवलले प्रकृति र मानिसलाई जोडेको चर्चा गरे। ‘विदेशीसँगै काम गर्दा कलाका टेक्निक र शैलीको आदान–प्रदान हुने हुँदा एक–अर्काको देशका कलाका बारेमा जान्ने अवसर पनि पाइने भएकाले यस्ता कार्यशालाको महत्त्व छुट्टै हुन्छ’ –कार्यशालामा सहभागी कलाकार डी बरालले भन्छन्। त्यस्तै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका हस्तकला विभाग प्रमुख सुषमा राजभण्डारीले प्रकृति संरक्षणका लागि सचेतना फैलाउन कलाकारले पनि काम गर्नुपर्नेमा जोड दिँदै यस्ता कार्यक्रम देशका विभिन्न स्थानमा गर्नुपर्ने सुझाइन्।