उत्पादन बढाउन यन्त्र प्रयोगमा हौसिदै किसान



नरेन्द्र केसी,दाङ ।

पछिल्लो समय दाङमा कृषिमा यान्त्रिकीकरण बढ्दै जान थालेको छ । गएको दुई बर्षमा दाङमा यन्त्र प्रयोग गरेर खेती गर्नेको संख्या पनि बढ्दै गएको छ ।

कृषि विकास कार्यालयको थोरै बजेट र विभिन्न गैरसरकारी संस्थाको केही लगानीमा यान्त्रिकीकरणको प्रयोग भइरहेको बेला प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोन कार्यान्वायन इकाइ स्थापना भएपछि यसले बढावा पाउन थालेको छ ।

सो कार्यालयले अन्तर्राष्ट्रिय मकै तथा गहुँ बाली सुधार केन्द्र (सिमिट)को दक्षिण एशियामा अन्नबाली पद्धति परियोजनाको प्राविधिक सहयोगमा राप्ती गाउँपालिका ९ पिपरखुट्टीमा ‘सिडड्रिल’बाट मकै रोपाइँ प्रदर्शनी गर्दा किसानहरु निकै होसिए । ८४ बर्षे किसान चन्द्रबहादुर केसी जीवनमै पहिलोपटक मेशिनले मकै रोपेको देख्दा आश्चर्यमा परेको बताउनुभयो ।
सोही ठाउँकी ६७ बर्पीया जोखनी चौधरीले त अझ जीवनमै नयाँ अनुभव गर्दैहुनुहुन्थ्यो– कारण त्यो आधुनिक यन्त्रले उहाँकै बारीमा मकै रोप्दै थियो । ‘हाम्ले यो बारीमा अधिया लगाउन थालेको धेरै बर्ष भयो तर योपटक हलोले जोत्नुपरेन’– खुशी व्यक्त गर्दै उहाँले भन्नुभयो– ‘यस्तो सजिलो गरी पनि कमै हुने र’च भने त सबैले लगाउने छन् ।’
सबै खेतीपाती हलो जोतेर परम्परागत तरीकाले गर्दैआएकोमा पछिल्लो समयमा यान्त्रिकीकरणप्रति किसानहरुको आकर्षण बढ्न थालेको छ । २०६६ सालदेखि दाङको कृषिमा फाट्टफुट्ट यान्त्रिकीकरणको प्रयोग शुरु भए पनि गएको दुई बर्षदेखि यसले बढावा पाएको छ । यही बर्षदेखि सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना शुरु गरेपछि यसको उद्देश्य नै यान्त्रिकीकरण बढाउने भएकाले जिल्ला कृषि क्षेत्र त्यतितर्फ मोडिन थालेको बरिष्ठ जिल्ला कृषि विकास अधिकृत दीपक शर्माले बताउनुभयो । उत्पादन बृद्धि र प्रशोधन दुबैमा यन्त्रको प्रयोगलाई बढाउँदै लैजाने सरकारको नीति रहेकाले आगामी दिनमा कृषि क्षेत्र पूरै यान्त्रिकीकरणमा जाने पनि उहाँले बताउनुभयो ।

दाङमा यो बर्ष मात्रै झण्डै ५० बिघा जमीनमा जोत्ने, बीउ र मल सँगै खसाल्ने मेशिन ‘सिडड्रील’बाट मकै रोपिएको र अझै धेरै रोप्न बाँकी रहेको सिमिट÷सिसा परियोजनाका क्षेत्रीय संयोजक हिमालय सुवेदीले जानकारी दिनुभयो । गत बर्ष पश्चिम दाङको पवननगरमा २० बिघा जमीनमा मेशिनद्वारा मकै रोपिएकोमा यो बर्ष अहिलेसम्म ५० बिघासम्म रोपिइसकिएको छ भने पवननगरका किसानले आफै मेशिन किन्ने तयारी गरिरहेका छन् । त्यसो त अहिले पनि सिमिटकै तीनवटा सिडड्रीलबाट मकै रोप्ने काम भइरहेको छ भने चार वटा मेशिन किसानले किन्ने तयारी गरेका छन् ।

यसबाहेक गहुँ र धान काट्न रिपर मेशिनको प्रयोग पनि दाङमा शुरु भएको छ । अहिले दशवटा यस्ता मेशिन किसानहरुले प्रयोग गरिरहेको किसान ट्रेड एण्ड सप्लायर्स लमहीका सञ्चालक राधेश्याम चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार विगत केही समययता रिपर, बीउ रोप्ने ज्याप्लान्टर, पुसरोसिडर र झोले मेशिनको पनि प्रशस्त प्रयोग हु थालेको छ ।
देउखुरी क्षेत्रमा मात्र होइन, मध्य र पश्चिम दाङमा पनि धेरै किसानहरु आधुनिक मेशिन किन्न र यसबारे जानकारी लिन आउने गरेको महालक्ष्मी ट्रेड कन्सर्न नारायणपुरका सञ्चालक विपिन रजौरेले जानकारी दिनुभयो । ‘पहिले यो प्रविधि भन्ने थाहै थिएन, अहिले प्रविधिप्रतिको आकर्षण निकै बढ्न थालेको छ’– उहाँले भन्नुभयो ।
दाङको राप्ती गाउँपालिका ४ मा सिडड्रील मेशिनबाट गहुँ र मल एकैसाथ खसालिदै ।

प्रतिक्रिया दिनुहोस्