निर्वाचनसँगै स्थानीयस्तरमा आर्थिक क्रियाकलाप बढ्छः प्रम

0
Shares

काठमाडौं, (नेस)
प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन सफल बनाउन सरकारले निजी क्षेत्रको सहयोगको अपेक्षा गरेको बताउनुभएको छ। बिहीबार छैठौं अन्तर्राष्ट्रिय व्यापार मेला–२०७३ को उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले निर्वाचनसँगै स्थानीयस्तरमा आर्थिक क्रियाकलाप बढोत्तरी हुने विश्वास व्यक्त गर्नुभयो।

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको मेलाको प्रधानमन्त्री दाहालले नेपालका तुलनात्मक लाभका उत्पादनलाई विश्व बजारमा प्रवद्र्धन गर्न व्यापार मेलाले ठूलो भूमिका खेलेको बताउनुभयो। उहाँले नेपालमा लगानीका लागि कुनै दुविधा नगर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई विश्वास दिलाउनुभयो। ‘आर्थिक विकासका लागि आवश्यक ऐन कानुनलाई सरकारले पारित गर्ने काम निरन्तर रूपमा अगाडि बढाएको छ। त्यसका लागि निजी क्षेत्रको सल्लाह सुझाव मनन गरी लगानीमैत्री वातावरण निर्माण गर्न सरकार सँधै तत्पर रहेको छ।’ प्रधानमन्त्री दाहालको भनाइ थियो।

सरकार राजनीतिक स्थिरताको सकारात्मक वातावरण निर्माण गर्दै निजी–सार्वजनीक सहकार्य र एकताको वातावरण बनाउनेमा दृढ रहेको दाहालले बताउनुभयो। राजनीतिक मुद्दा क्रमशः कार्यान्वयनको दिशामा उन्मुख भएकाले दिगो आर्थिक विकास हासिल गर्न निजी क्षेत्रसँग दृढतापूर्वक काम गर्न सरकार कटिबद्ध रहेको प्रधानमन्त्रीको भनाइ थियो।

त्यस्तै काठमाडौंको चोभारमा अन्तर्राष्ट्रियस्तरको आधुनिक प्रदर्शनी भवन निर्माण गर्न मन्त्रिपरिषद्को बैठकले नीतिगत निर्णय गर्ने उहाँले जानकारी दिनुभएको छ। नेपालमा रहेको स्रोत साधनको प्रचुरता तथा लगानी सम्भाव्यको बाहिरी जगतमा सन्देश पुर्याउन मेला सहयोगी रहेको बताउँदै प्रधानमन्त्रीले मेलाले नयाँ वस्तु उत्पादन, विस्तार रोजगारी सिर्जना, निर्यात वृद्धिमा मद्दत पुर्याएको बताउनुभयो।

मेलामा नेपाली जडिबुडीका ३५ वटा स्टल र कृषि उत्पादनका ७०, अन्य ७०, चीनका ८०, बंगलादेशका ३५, पाकिस्तानका २०, भारतका १० र थाइल्यान्डका २ गरी जम्मा ३ सय २५ स्टल रहनेछन्। आयोजकले मेलामा ५ लाख अवोकनकर्ता आउने र २० करोड रुपियाँबराबरको कारोबार गर्ने लक्ष्य राखेका छन्। आयोजकका अनुसार हिमाली उत्पादन, जडिबुडी, हस्तकला, पर्यटन, सूचना प्रविधि, कृषि उत्पादन, ऊर्जा, भवन तथा निर्माण, शिक्षा, औषधिजन्य, फलाम र स्टीलका स्टलहरू आकर्षणको केन्द्र हुनेछन्। मेलाका माध्यमबाट देशको उत्पादन अन्र्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने लक्ष्य राखिएको छ। भृकुटीमण्डपमा जारी मेला चैत ७ गतेसम्म चल्नेछ।