करोडौंको जग्गा दान

188
Shares

नेपाल समाचारपत्र
ललितपुर
लितपुर पूर्णचण्डी निवासी दशलाल डंगोल र उहाँकी श्रीमती राममाया डंगोलले करोडौं रुपियाँ पर्ने जग्गा दान दिनुभएको छ।

उहाँहरूले बुद्ध धर्म सिक्न अभ्यास गर्नका लागि विहार र ध्यान केन्द्र बनाउन ललितपुर महानगरपालिका–१४ स्थित नख्खुको करिब १ रोपनी १ आना जग्गा दान दिनुभएको छ। यसअघि ललितपुर गाबहालस्थित पुरातात्त्विक महत्त्वको यशोधर महाविहार पुनर्निर्माणका लागि पनि उहाँहरूले उल्लेख्य रकम दान दिनुभएको थियो।

नेपालका लागि म्यानमारका राजदूत ल्विन ओओकोबाट विहार र ध्यान केन्द्र निर्माणका लागि बुधबार शिलान्यास गराउँदै जग्गा दान दिएको औपचारिक घोषणा गरिएको थियो। बुद्ध शिक्षा सिक्ने ध्यानको अभ्यास गर्दै जाँदा विहार दान दिने चित्त उत्पन्न भएको दाता दशलालले बताउनुभयो। ‘ध्यान र ज्ञानको अभ्यास गराउन परिवारको सहमतिमा जग्गा दान दिने निर्णय गरेका हौं’ –दाता दशलाल डंगोलले शिलान्यास समारोहमा भन्नुभयो। बुबाले जग्गा दान दिने घोषणा गर्नुहुँदा छोरा राम डंगोल र रामकृष्ण डंगोलसहित परिवारजन, आफन्तहरू पनि सँगै हुनुहुन्थ्यो।

‘नेपाल बुद्धजन्मभूमि देश रहे पनि बुद्ध शिक्षा अध्ययन गर्न बर्मा, श्रीलंका, थाइल्यान्डलगायत राष्ट्रहरूको भर पर्नुपरेको र ती देशका भिक्षु, भिक्षुणीहरू नेपाल आउँदा बस्ने ठाउँसमेत नभएकोमा निकै ग्लानी हुन्थ्यो। त्यसैले विदेशबाट आउने भिक्षुहरूलाई राख्ने प्रयोजनका लागि पनि विहार बनाउन लागेका हौं’ –दशलालले भन्नुभयँे।

जग्गा दान कार्यमा उहाँहरूलाई सहयोग पुर्याउनुका साथै थप नैतिक बल प्रदान गर्न नेपाल मिडिया सोसाइटीका अध्यक्ष एवं नेपाल समाचारपत्रका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठ, उद्योगी एवं समाजसेवी मोतीलाल शिल्पकार, ललितपुर उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष अजरमान जोशीको पनि सहभागिता रहेको थियो। सो अवसरमा राजदूत ओओकोले दुई देशका सरकारबीचको कूटनीतिक सम्बन्ध छ दशक पूरा भए पनि जनस्तरको सम्बन्ध छ दशक पुरानो रहेको बताउँदै विहार निर्माणले सो सम्बन्धलाई अझ सुदृढ गर्ने धारणा राख्नुभयो।

बुद्ध जन्मभूमि नेपालको लुम्बिनीलाई विश्वसम्पदा सूचीमा राख्न संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव उथान्तको भूमिकाका बारेमा चर्चा गर्दै राजदूत ओओकोले बुद्ध धर्मको विकास र विस्तारका लागि बर्माका जनता र सरकार जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनुभयो।

ध्यान केन्द्र बनाउने संकल्पले विहार दान गर्ने दाताहरूको निर्णय धार्मिक, आध्यात्मिक हिसाबले महत्त्वपूर्ण भएको धारणा राख्दै उहाँले सो कार्य सबैका लागि सराहनीय रहेको विचार व्यक्त गर्नुभयो।

सो अवसरमा अखिल नेपाल भिक्षु महासंघका महासचिव भिक्षु कौण्डिन्यले नेपालमा बुद्ध धर्मको विकास र विस्तारका लागि दक्ष जनशक्ति र पूर्वाधार निर्माणमा म्यानमार सरकारले पुर्याएको योगदान उच्च रहेको बताउनुभयो।

उहाँले दाताद्वयको श्रद्धाअनुरूप विहार निर्माणका लागि सबैले यथोचित सहयोग गर्नुपर्नेमा पनि जोड दिनुभयो।

बुद्ध र बोधिसत्व बन्ने पहिलो माग दान रहेको उल्लेख गर्दै सो मार्गमा हिँड्नुभएका डंगोलद्वयको कार्यले समाजमा आध्यात्मिक मूल्य र परोकारी भावलाई जीवित बनाइरहेको पनि महासचिव कौण्डन्यको भनाइ रहेको छ। सो अवसरमा राष्ट्रिय युवा महासंघ नेपाल ललितपुरका अध्यक्ष राजेश वज्राचार्यले युवावर्गको सशक्तीकरण, सवलीकरण र निश्चित जीवनमूल्य र संस्कार बसाल्न ध्यान र ज्ञानको एउटा सशक्त साधन हुन सक्ने धारणा राख्नुभयो।

सो अवसरमा पूर्वसभासद् रामकृष्ण चित्रकार, बौद्ध विहार संघका अध्यक्ष पुष्परत्न शाक्य, ध्यानको अभ्यास गर्दै आउनुभएका ललितपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष रूपकुमार शाक्य, विभिन्न विहारका प्रतिनिधि, बुद्ध धर्मका अध्येता, उद्योगी व्यवसायी र समाजसेवीहरूको उपस्थिति रहेको थियो।