पीडित परिवारलाई सहयोग

0
Shares

नेपाल समाचारपत्र
राजविराज
नेकपा एमालेको मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा प्रहरीसँगको हिंसात्मक झडपमा ज्यान गुमाएका ५ जनाको परिवारलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले आर्थिक सहयोग गरेको छ। मोर्चाका संयोजक दिनेश यादवले बुधबार प्रेस विज्ञप्ति जारी गरी मृतकका परिवारलाई २ लाख ५५ हजार रुपियाँ आर्थिक सहयोग गरिएको जानकारी दिएका छन्।

मृतक पाँचै जनाको घरमा पुगी किरिया खर्चबापत प्रति परिवार ५१ हजार रुपियाँ उपलब्ध गराइएको उनले जानकारी दिए। यसअघि सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो तथा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पाँचै जनाको घरमा पुगी पार्टीका तर्फबाट प्रति परिवार २५⁄२५ हजार रुपियाँ सहयोग उपलब्ध गराएका थिए।

नेकपा एमालेको मेची–महाकाली अभियानका क्रममा गत फागुन २३ गते भएको हिंसात्मक घटनामा प्रहरीको गोली लागेर मलेठ–२ का २५ वर्षीय सञ्जन मेहता, मलेठ–४ का ५० वर्षीय पीताम्बर मण्डल र वीरेन्द्र महतो, प्रसवनी–४ का ३५ वर्षीय आनन्दकुमार साह र जमुनी मधेपुरा–१ का ५० वर्षीय इन्द्रदेव यादवको मृत्यु भएको थियो।

यसै गरी, मंगलबार अबेर गरी सम्पन्न मोर्चाको बैठकले आन्दोलनका कार्यक्रमसमेत घोषणा गरेको छ। कार्यक्रमअनुसार चैत २ देखि १२ गतेसम्म जिल्लाका प्रमुख स्थान कञ्चनपुर, भारदह, हनुमाननगर, राजविराज, सखडा, पत्थरगाढा, पातो, रूपनी, कठौना, विष्णुपुर र वोदे वर्साइनमा शोक सभा तथा चैत्र १३ गते गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा जिल्लास्तरीय श्रद्धाञ्जली सभाको आयोजना गरिनेछ।

श्रद्धाञ्जली सभामा संयुतm लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध मधेसी दलका राष्ट्रिय अध्यक्षहरूको पनि उपस्थिति रहने विज्ञप्तिमा जनाइएको छ। यसै गरी, स्थानीय स्तरमा पुतला दहन, दीप प्रज्वलन, विरोध सभा, र्याली, विरोध प्रदर्शन तथा भण्डाफोर अभियान पनि जारी रहने जनाइएको छ। बैठकले मधेस आन्दोलनका शहीद परिवार तथा घाइते कोष स्थापना गर्ने निर्णय पनि गरेको छ।