मुलुकी ऐनः प्रेम र विवाह प्रसंग

0
Shares

दामोदर पौडेल

कानुनको अज्ञानता क्षम्य हुँदैन। कानुनको बारेमा थाहा पाएको थिइनँ, त्यसैले गल्ती भयो भन्न पाइँदैन। प्रायः सामाजिक नैतिकताविरुद्धका काम अपराध हुने हुँदा कानुनको व्यवस्था थाहा नभए पनि नागरिकले कानुनका प्रावधानहरू जानेकै हुन्छ। कानुनको सम्बन्धमा लगभग ९० प्रतिशत संज्ञान त अरुले जुन काम गर्दा मलाई राम्रो लाग्दैन त्यो काम मैले पनि अरुका विरुद्धमा गर्नुहुँदैन भन्ने सोच्ने हो भने पनि कानुनको पालना हुन पुग्छ। तर कानुन नै अस्पष्ट र अन्यायपूर्णजस्तो भए के गर्ने ?

नेपालको मुलुकी ऐन पनि संशोधन हुँदै गर्दा आफैंमा विरोधाभासपूर्ण हुँदै गएको छ। शायद कानुनविद्हरुका कमजोरीले मुलुकी ऐनका केही व्यवस्था अस्पष्ट र अपरिपक्व देखिन्छन्। युवतीहरुमा मासिक धर्म शुरु भएपछि सामान्यतः यौनचाहना बढी हुँदै गई ुटिनएजुमा चरम अवस्थामा पुग्दछ। सामान्यतः पुरुषमा महिलामा भन्दा २ वर्ष जतिपछि यौनचाहना बढ्दै जान्छ भन्ने गरिन्छ। त्यसो भन्दैमा युवतीको मासिक धर्म शुरु भएपछि नै यौन क्रियाकलापको अधिकार दिनु हुन्छ भन्ने पनि होइन। तर जहिलेदेखि त्यो अधिकार दिइन्छ त्यति बेलादेखि विवाहको अधिकारलाई पनि खुकुलो पारिनुपर्दछ। रुसले विवाहको र यौन क्रियाकलापको अधिकारलाई १६ वर्षभन्दा कमैमा पनि सुरक्षित गरिदिएको छ।

हाम्रो मुलुकी ऐनमा भने यो व्यवस्था अत्यन्त अपरिपक्व छ। यसले गर्दा जनतामा भ्रम हुने र ऐनकै विरोधाभासपूर्ण व्यवस्थाले नागरिकले दुःख पनि पाएका छन्। मुलुकी ऐनको महल १४ को जबरजस्ती करणीको दफा १ मा कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा १६ वर्षभन्दा कम उमेरकी बालिकालाई निजको मञ्जुरी लिई वा नलिई करणी गरेमा निजले जबरजस्ती करणी गरेको ठहर्छ भन्ने उल्लेख छ।

यो व्यवस्थाले १६ वर्ष पुगेका महिलासँग पुरुषले मञ्जुरी लिएर यौनसम्बन्ध राख्न सक्छ भन्ने देखियो। त्यसको लागि आफ्नो हाडनातामा बाहेक अरुमा पुरुष र महिलाको मञ्जुरी यौनसम्बन्धको लागि पूर्ण आधार बन्दछ। आफ्नो हित र अहित सोच्न सक्ने परिपक्व उमेर भनेर सामान्यतः १६ वर्षलाई मानिन्छ र यौनसम्बन्ध भएपछि युवतीले पेट बोक्ने सम्भावना हुनु पनि स्वाभाविक हो। विवाह नभईकन खुशीराजीले यौनसम्बन्ध राख्न पाइने तर परिवार नियोजनका साधन प्रयोग गर्नुपर्ने अनिवार्यता नभएपछि बच्चा हुनु अस्वाभाविक होइन।

अर्कोतर्फ मुलुकी ऐनको महल १७ को विवाहवारी भन्ने शीर्षकको दफा २ मा विवाहवारी गर्दा महिला र पुरुषको उमेर २० वर्ष नपुगी गर्न⁄गराउन हुँदैन। विवाह गरे⁄गराएमा सो गर्ने⁄गराउनेमध्ये उमेर पुगेकालाई देहाय (निम्न) बमोजिम सजाय हुन्छ भनेर विभिन्न सजायको व्यवस्था गरेको छ। यो विरोधाभासपूर्ण कानुनी व्यवस्थाले महिला र पुरुषले स्वेच्छाले यौनसम्बन्ध १६ वर्षदेखि नै गर्न सक्ने तर विवाह भने २० वर्षभन्दा पहिला गरेमा सजाय हुने भयो। अर्थात् विवाहभन्दा पहिला नै यौनसम्बन्धको लागि कानुनले अधिकार दियो। तर २० वर्ष नपुगी सन्तान भएमा विवाह बदर गर्न सकिँदैन र सन्तान नभएको भए २० वर्ष पुगेपछि मञ्जुरी नगरे त्यस्तो विवाह बदर हुने विवाहवारीको महलको दफा २ कै उपदफा ९ मा व्यवस्था गरिएको छ।

१६ वर्ष पुगेपछि मानिस आफ्नो मुद्दा गर्न र अरुको मुद्दाको वारेस बस्नसमेत परिपक्व हुन्छ। मुलुकी ऐन अदालती बन्दोबस्तको ६५ दफामा एउटाको मुद्दाको अर्को मानिस १६ वर्ष पुगेपछि वारेस बस्न पाउँछ। तर मुलुकी ऐनकै विवाहवारीको दफा २ ले भने २० वर्ष नपुगी विवाह भएमा २० वर्ष पुगेपछि मात्र बदर गर्न सक्छ भन्ने व्यवस्था छ। अर्थात् १६ वर्षमा विवाह भयो भने पनि उसले तुरुन्तै विवाह बदर गराउन नपाउने भयो।

कसैको विवाह १६ वर्षभन्दा कम उमेरमा भएमा उसको आपराधिक दायित्व रहँदैन। किनभने ऊ नाबालक⁄नाबालिका हुन्छ। १६ वर्ष कटेपछि अपवादबाहेक अन्य सम्पूर्ण कानुनहरुअनुसार ऊ बालिग हुन्छ।

यस प्रकार १६ वर्ष पुगेको तर २० वर्ष नपुगी विवाह भएमा अर्को २० वर्ष पुगेको महिला वा पुरुषलाई झुक्याई असत्य बोलेर विवाह गरेको हुने अवस्था आउन सक्छ। किनभने उमेर पुगेकाले आफ्नो स्वेच्छाले बोलेको र गरेको व्यवहारले कानुनी मान्यता पाउँछ। उमेर सत्य हो कि होइन भनेर अर्को पक्षले जाँच्ने र मेडिकल चेक गराउने जस्ता कुरा सम्भव छैन। यसरी उमेर २० वर्ष नपुगी १६ वर्ष कटेपछि विवाह गरे⁄गराएमा त्यसको जानिफकार व्यक्ति विवाह गर्ने र उसै तर्फका गराउनेहरु नै हुने हुँदा सजायको घेरामा उनीहरु नै आउनुपर्ने हुन्छ, अर्को पक्ष होइन। १६ वर्ष कटे वा नकटेको सम्बन्धमा पनि केटा वा केटी छिटो बढेको भए अर्को पक्षलाई थाहा नहुने सम्भावना हुन्छ। तर कानुनले कुनै मापदण्ड त राख्नै पर्दछ। त्यसैले ज.क.मा बाहेक रीत पु))याएर अविभावकको सहमतिले विवाह भए अर्को पक्ष होइन १६⁄२० वर्ष उमेर नपुगेको पक्ष नै जिम्मेवार भई कानुनअनुसार सजायको दायरामा आउनुपर्ने हुन्छ वा कानुनको यो व्यवस्थालाई परिमार्जित गर्नुपर्दछ।

त्यसैले १६ वर्ष पुगेपछि यौनसम्न्ध राख्न सकिन्छ, बच्चा पनि हुन सक्छ र विवाह गर्नको लागि भने २० वर्ष नै पुग्नुपर्दछ, सो नभए सजाय हुन्छ। २० वर्ष नपुगेको सम्बन्धमा थाहा हुन नसक्ने पक्षलाई पनि सजाय हुने व्यवस्था न्यायपूर्ण छैन। के विवाह भनेको सिन्दुर(पोते गर्ने काम मात्र हो ? यौनसम्बन्ध राख्न सक्छौं, बच्चा पनि पाउन सक्छौं र सिन्दुर हाल्ने कामसम्म २० वर्ष पुगेपछि गर्न पाइन्छ भन्न खोजिएको पो हो कि ? यसरी कानुन नै अस्पष्ट र अन्यायपूर्णजस्तो देखिएकाले स्पष्ट गर्नु अपरिहार्य छ।
(लेखक पौडेल अधिवक्ता हुनुहुन्छ।)