मोहन दुवाल
राती जातिको प्राचीन थलो खोटाङ पुग्ने रहर पहिलेदेखि नै थियो तर यसपल्टमात्र त्यो रहर पूरा भयो। आधुनिक साधन–स्रोतले अझ भनौं भौतिक पूर्वाधार विकासका दृष्टिले कमजोर देखिँदो खोटाङ साहित्यको दृष्टिले, ऐतिहासिक हेराइले निकै उर्वर र समृद्ध देखिँदो छ। यस खोटाङ–भूमिभित्र जनमतको प्रवेश कसरी भयो, यसको छुट्टै खालको कथा छ। यस कथाका पात्रहरू हुन् कृष्णप्रसाद आचार्य र सिन्धुलीका मित्र शारदाप्रसाद पहाडी। एकदिन रेडक्रसको तालिम अवधिमा छुट्टी मिलेको कारणले साहित्यको आफ्नो प्यास मेट्न २०७१ माघ १३ गते मसँग फोन सम्पर्क गरेर जनमत कार्यालयमा यिनीहरू आइपुगे। नचिनेका दुईजना सामाजिक क्षेत्रका अभियन्ता तथा साहित्यमर्मीहरूले मेरा साहित्यिक अभियानका ऊर्जाशील यात्राका कुराहरू, जनमत प्रकाशन र गतिविधिहरू जानकारी लिनका लागि मकहाँ आइपुगेको बताए।
मेरा साहित्यिक कुराहरू र जनमतका अभियानहरू सुनेपछि उनीहरू नतमस्तक भएर जनमतलाई साथ दिन तत्पर भएको कुरा सुनाए। तत्काल शारदाप्रसाद पहाडी जनमत मासिकको आजीवन सदस्य बने। कृष्णप्रसाद आचार्य पछि ग्राहक बन्ने र खोटाङमा पनि ग्राहक–अभियान चलाएर साथ दिने बचन दिएर गए। केही दिनपछि नै यी दुईजना मित्रहरूले खोटाङमा २२ जना र सिन्धुलीमा १४ जना आजीवन ग्राहकहरू बनाएर बैंकमार्फत रकम पठाउन थाले र जनमतका सहयोगी बने।
धर्म, जात, क्षेत्र र राजनीति के हो छुट्याइएन, जनमतसँग साहित्यिक सम्बन्ध गाँसियो। दुवै जनाले जनमतसँग गाढा सम्बन्ध खोजेर सिन्धुली र खोटाङ अङ्क प्रकाशन गर्न दिलोज्यानले लागे। सिन्धुली साहित्य विशेष २०७३ कार्तिक महिनामा प्रकाशित भयो र सिन्धुलीमा मङ्सिरमै पुगेर सार्वजनिक गरियो। खोटाङ साहित्य विशेष माघमा प्रकाशित भयो र फागुन १३ मा विमोचित भयो। शारदाप्रसाद पहाडी, गोविन्दराज शिवाकोटी र षडानन्द तिमल्सिनाले सिन्धुली अङ्कको अतिथि–सम्पादक भई सहयोग गरेजस्तै खोटाङ अङ्कका लागि कोपिला थुलुङको संयोजकत्वमा अनिल किराती, कृष्णप्रसाद आचार्य, टंक भट्टराई, प्रमोद श्रेष्ठ र सविता भुजेल अतिथि–सम्पादक भई सहयोग गरे। सबै मित्रहरू धन्यवादका पात्र छन्।
सन्दर्भ खोटाङमा जनमत कसरी पुग्यो र कसरी पु र्याउन पायौं ? हामी जनमत बोकेर किराती भूमि खोटाङमा कसरी पुग्यौं, कार्यक्रम कसरी भयो भन्ने कुरामा आधारित यो यात्रा–डायरी अंश यहाँ प्रस्तुत गरिएको छ। खोटाङमा जनमत पुर्याइदिने सबै मित्रहरूमा दिलैदेखिको अभिवादन भन्न मन पराइरहेछु। खोटाङका साहित्यिक–मन बोकेर मालपोतजस्तो अति संवेदनशील क्षेत्रमा हाकिम भएर पनि जनमतको चोखो साहित्यिक भावनालाई कदर गरेर, खोटाङमा साहित्यिक कार्यक्रमको संयोजक बनेर, जनमत मासिक खोटाङ अङ्कको अतिथि–सम्पादक मण्डलमा संयोजक रहेर आफूलाई प्रदर्शित गर्नुभयो, त्यसको लागि कोपिला थुलुङ बहिनीलाई मनैदेखिको साहित्यिक अभिवादन जनमतको तर्फबाट दिन रुचाइरहेछु।
२०७३ फागुन १२ गते खोटाङ पुग्नको लागि र १३ फागुनमा कार्यक्रममा सामेल हुनका लागि कोपिला बहिनीले खबर गरिन्। मैले सहर्ष स्वीकार गरेँ। खोटाङमा १२ फागुनमा पुग्ने योजना रहेको कुरा मित्र विधान जोशीलाई बताइदिँदा चाख मानेर सुने। र, उनी पनि परिवारसहित खोटाङ जाने कुरामा वचन दिए। सहकारी पोष्ट र जनमत दुवैमा सक्रिय रहँदै सम्पादन–क्षेत्रमा सहयोग गर्दै आएका रामसुन्दर देउजा र जनमतकी सम्पादिका भारती श्रेष्ठ पनि जाने टुंगो लगाइयो। फागुन १२ गते १० बजे बनेपाबाट विधान जोशीले मिलाएको गाडीमा विधान जोशी, हेमा जोशी, दुई छोरीहरू, एउटी बहिनी, रामसुन्दर देउजा, भारती श्रेष्ठ र म मोटरबाट हुइँकियौं।
खुर्कोटमा पिच खसेर बाटो बन्द भएको ठाउँनिर केही क्षण मोटर जाममा परे। सिन्धुलीको बाटो छोडेर, धुलाम्य बाटोहरू कुल्चेर, उबडखाबड खाल्डा–खुल्डीमा जीउ हल्लाएर, अँध्यारोमा बाटो भुल्ने डर बोकेर हाम्रो मोटर कुदिरह्यो। हामीलाई फोनबाट निर्देश गर्दै बाटोको रूपरङ्ग, पुग्ने ठाउँ र होटेलको नाउँ बताउँदै गरिन् कोपिला बहिनीले। हामी रातको समयमा अँध्यारो परिवेश भोग्दै बाटोमा सोध्दै र खोज्दै खोटाङमा पुग्यौं। हामीलाई स्वागत गर्न कोपिला बहिनी अन्य दुईजना बहिनाका साथ पर्खिरहेकी रहिछन्। हामी आठैजना होटेलभित्र छिर्यौं। बहिनीहरूले बस्ने कोठाहरू देखाइदिए, खानाको बन्दोबस्त मिलाउन अराए। रात छिप्पिसकेकोले बिदावारी मागे, उनीहरू गए। हामी सबैजना भोक मेट्नका लागि खाना खाने ठाउँमा गयौं। रात बिताउन कोठा–कोठाभित्र छिर्यौं। कोही थाकेजस्तो देखिएन। धूलो भोगियो। अप्ठ्यारो बाटोमा जीउ मर्काइयो। लामो बाटोमा अप्ठ्यारो कतै भएन। ३ वर्षकी विभीका र ६८ वर्षको म पनि थाकेको भान भएन। अरू बीच उमेरका थाक्ने त कुरै भएन। हँसिमजाक गर्यौं। चिसो–चिसो सिरेटो भोग्दै आ–आफ्नो कोठामा रात बिताउन गयौं।
भोलिपल्ट विहान ६ बजे नै कृष्णप्रसाद आचार्यको अगुवाइमा दिक्तेल बजार हुँदै बजारभन्दा माथि–माथि ३०० मि. जति अग्लो उकालोमा रहेको कालिका भगवती मन्दिर पुग्न उकालो चढ्यौं। शिवरात्रिको दिन परेकोले मन्दिर परिसरभित्र हुल छन् भक्तजनहरू। फर्किने बेलामा बुद्धेश्वर महादेवको गुफाभित्र साथीहरू रमाएर घुमे। हामी १० बजेतिर तल झर्यौं। १ बजेमात्र कार्यक्रम शुरू भयो। करिब साढे ६ बजेसम्म कार्यक्रममा जनमत खोटाङ विशेष अङ्कको कोपिला थुलुङ, अनिल किराती, बम बानिया र म भएर संयुक्तरूपमा सार्वजनिक गर्यौं। जनमतबारे बोल्ने खोटाङका साहित्यकारहरूमा कृष्णप्रसाद आचार्य, भोगेन एक्ले, शरण खत्री मृदुल, एम सी सुमित, विधान जोशी, बम बानिया, अनिल किराती र कोपिला थुलुङलाई जनमतको नियमितता, स्तरीयता र विश्वसनीयताबारे सबैजसोले बोले। जनमत साहित्यिक मासिक साहित्यिक पत्रकारिताको इतिहासमा एकखालको छुट्टै आफ्नो आयाम बनाउन सफल भइसकेको पत्रिका हो भनी सबैले तारिफ गरे। पत्रिका प्रकाशनका लागि दिलोज्यानले लाग्ने भनी मलाई सम्मान पनि गरे। सम्मान ग्रहण गर्दैै मैले पनि जनमत वाङ्मय प्रतिष्ठान, जनमत प्रकाशन, जनमत मासिक र जनमत वाङ्मय पुस्तकालयको कार्य र उद्देश्यमाथि प्रकाश पार्दै जनमत साहित्य अभियान नेपाल र नेपालीहरूको साहित्यिक चेतनाको लागि भएको साहित्यिक अभियान हो भन्दै आफ्नो विचार राखे।
यहाँ करिब ४० जनाले कविता, गजल, गीत भने र गाए। पछि गायक सचेन राईले सबैलाई नचाए। शुरूदेखि पछिसम्म शान्त र सभ्य ढंगले साहित्यिक कार्यक्रम भयो। निकै मनोरम र सुन्दर देखियो कार्यक्रम। समय गएको थाहै भएन। कार्यक्रम सिध्याएर आज पनि खोटाङमै रात बिताउने भइयो। जनमतको खोटाङ विशेषमा प्रकाशित कविहरूमा जसराज किराती, डा. विष्णु राई, चित्रकुमार सुवेदी, चूडामणि दाहाल, अनिल किराती, युनिक साम्पाङ राई, सविता भुजेल, सीता थुलुङ, काशी राई, जीवराज घिमिरे, अटल व्रmान्तिकारी, नाकिमा, कीर्ति चामलिङ, अकेला राई, वेदीकुमार राई, भगवान चामलिङ, धनिराम राई, नाकारा, प्रल्हाद पोखरेल, दीपेन्द्र अश्रुमाली, जिज्ञासु पुष्पा सुवेदी, कोपिला राई, शम्भु खड्का, प्रमोद स्नेही श्रेष्ठ, प्रकाश बंजारा विहानी, इमान राई जलन छन्।
डा. धनप्रसाद सुवेदी, यादेवी ढकाल, टंक भट्टराई, ज्ञानेन्द्र विवश, टीका चामलिङ, एम सी सुमितका समीक्षाहरू प्रकाशित छन्। कथाकारहरूमा जगत नवोदित, प्यासी अमर, सञ्जु चामलिङ, एल बी चामलिङ, रामविक्रम थापा प्रकाशित छन्। दाहाल यज्ञनिधिको अन्तर्वार्ता पनि यस अङ्कमा प्रकाशित छ। खुशी लागेको छ, जनमतमा खोटाङको साहित्य प्रकाशित गर्न पाएको छु। खोटाङको साहित्यलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा जनमतको माध्यमबाट चिनाउन पाएकोमा गौरव पनि महसुस गरेको छु। आजको रात जनमतमा खोटाङ छापिएको र खोटाङसँगको जनमतको सम्पर्क गाढा भएकोमा मधुर सपना देख्न पाइयो।
भोलि बिहान अर्थात् २०७३ फागुन १४ गते दिक्तेल नगरपालिकाका प्रमुख तथा कवि अनिल किरातीले टीका लगाइदिएर र कोपिला थुलुङले खादा ओढाइदिएर हामी सबैलाई बिदाइ गरे। हामीलाई मुसुक्क हाँसेर खोटाङले बिदाइ गरे, हामीले पनि मुसुक्क हाँसेर हात हल्लाइदियौं। बिहान ८ः४५ मा हलेसी पुग्यौं। दुई घण्टाको फासलामा रहेछ दिक्तेल र हलेसी। महादेव रहेको ढुङ्गैढुङ्गाको अजंगको गुफाभित्र हामी सबै छिर्यौं। शेर्पाहरू हुलका हुल लामबद्ध छन् महादेव र पार्वतीको दर्शन गर्न। हाम्रो टोलीका मित्रहरूले पनि हलेसीस्थित मूल महादेवको दर्शन गरे र ठाउँ–ठाउँमा रहेको गुफाभित्र छिरेर फोटाहरू खिचे। १२ बजेतिर मात्र हामी गुफाबाहिर निस्कन पायौं र पछि हतारिँदै मोटरमा चढेर हामी खानाको खोजीमा लाग्यौं।
त्यहाँबाट केही तल ओर्लेपछि दूधकोशी बजारभन्दामाथि मोटरसाइकल दुर्घटनामा परेर लास भइसकेको एउटा मान्छे लमतन्न सुत्दै गरेको डरलाग्दो अनुहार देख्यौं। बाटो बन्द भयो। होटेल, पसल केही नभएको ठाउँमा रोकिनुपर्यो। पुलिस आएको छैन। मुचुल्का कहिले उठाउने हो, थाहा–पत्तो छैन। मोटरको बाटो खुल्ने छाँटकाँट देखिएन। कहिले के होला, कहिले बाटो खुल्ला, केही थाहा नभएपछि हामी गाडी छोडेर लम्लम्ती तलतिर झर्यौं। करिब ३० मिनेट जति हिँडेपछि दूधकोशी बजार देखा पर्यो।
पसलहरू सबै भरिसकेका छन्। बल्लतल्ल एउटा पसलमा अनुरोध गरेर ७ जनालाई खाना पकाउन दियौं। भोक मीठो, दूधकोशी बगरमा रहेको होटेलमा पकाइएको भात मीठो मानेर सबैले खायौं। घण्टौंपछि मात्र बाटो खुल्यो। ड्राइभर हतारियो। खाना पनि नखाईकन बाटो काट्ने उसले आफ्नो इच्छा सुनायो। तर के गर्ने, खुर्कोटमा पनि पिच भत्किएको ठाउँमा घण्टौं जाममा पर्नुपर्यो। लाग्छ, दुई घण्टा हाइ काढ्दै समय बिताउनुपर्यो। नेपाल न हो, जहाँ पनि बेथिति भोग्नुपर्छ। जहाँ पनि जाम सहनुपर्छ। नीति–नियममा चलेको देश भए पो ⁄ सुदृष्टि भएका घरमूली नभएपछि घर भताभुङ्ग भएजस्तै छ यो देश। जाम भोग्दै हामी बल्ल बेलुकी ९ बजेतिर मात्र घर पुग्यौं।
प्रतिक्रिया