रियल र बायर्न क्वार्टरफाइनलमा

0
Shares

लन्डन, (एजेन्सी)
स्पेनिस फुटबल क्लब रियल मेड्रिड र जर्मनी बुन्डेसलिगा क्लब बायर्न म्युनिख यूएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताअन्तर्गत क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

प्रतियोगिताको मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेग खेलमा रियल मड्रिडले इटालियन सिरी ए क्लब नेपोलीलाई ३–१ ले हराएको हो। खेलमा शुरूआती अग्रता भने नेपोलीले लिएको थियो। खेलको २४औं मिनेटमा ड्रायर मर्टिन्सले गोल गर्दै नेपोलीलाई पहिलो हाफसम्म १–० ले अघि पारेका थिए।

तर दोस्रो हाफमा भने रियलले सुधारिएको खेल पस्कँदै तीन गोल गर्न सफल भयो। खेलको ५१औं मिनेटमा सर्जियो रामोसले गोल गर्दै रियललाई खेलमा फर्काए। यस्तै खेलको ५७औं मिनेटमा नेपोलीका ड्रायर मर्टिन्सले एक आत्मघाती गोल गरेपछि रियलको गोलसंख्या दुई पुग्यो। यस्तै खेलमा थपिएको इन्जुरी समयको पहिलो मिनेटमा अल्भारो मोराटाले गोल गरेपछि रियलले ३–१ को जित सुनिश्चित गरे। दोस्रो लेगमा हात पारेको यो जितसँगै रियल मेड्रिड समग्रमा ६–२ ले विजयी हुँदै अन्तिम आठमा पुगेको छ।

च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति भएको अर्को खेलमा बार्यन म्युनिखसँग लज्जास्पद हार बेहोर्दै इंग्लिस प्रिमियर लिग क्लब आर्सेनल च्याम्पियन्स लिग फुटबलको नकआउट चरणबाटै बाहिरियो। दोस्रो लेगको खेलमा बार्यन म्युनिखले आर्सेनललाई ५–१ गोल अन्तरले हराएको हो। पहिलो लेगमा पनि ५–१ अन्तरकै हार बेहोरेको आर्सेनल समग्रमा १०–२ ले पराजित हुँदै अन्तिम १६ बाटै बाहिरिएको हो।

घरेलु मैदानमा भएको खेलको २०औं मिनेटमा थियो, वाल्कोटको गोलबाट आर्सेनलले शुरूआती अग्रता लिएको थियो। तर उक्त अग्रतालाई भने आर्सेनलले कायम राख्न सकेनन्। खेलको ५४औं मिनेटमा कोसेल्नीले रातो कार्ड पाउँदा बार्यन म्युनिखले पेनाल्टीको अवसर प्राप्त गर्यो। जसलाई रोबर्ट लेभान्डोस्कीले सहजै गोलमा परिणत गर्दै खेललाई बराबरीमा ल्याए।

यसैगरी खेलको ६८औं मिनेटमा आर्यन रोबिनले म्युनिखका तर्फबाट दोस्रो गोल गरे। खेलको ७८औं मिनेट डुल्गास कोस्टाले गोल गर्दै बायर्नको गोलसंख्या तीन पुर्याए। यसैगरी ८०औं र ८५औं मिनेटमा भिडालले दुई गोलको योगदान गरेपछि बार्यन म्युनिख आर्सेनललाई उसकै घरेलु मैदानमा ५–१ ले हराउन सफल भयो।