डिल्लीराम मिश्र
युवा–जनशक्ति कुनै पनि राष्ट्रको भविष्यका कर्णधार हुन्। देश, समाज र राष्ट्रले उनीहरूबाट बढीभन्दा बढी आशा र अपेक्षा गरेको हुन्छ। देश र समाजको उन्नति र विकासमा युवा–जनशक्तिको भूमिका गुणात्मक र गहन दायित्वबोधयुक्त रहेको हुन्छ। विश्वमा युवाजनशक्ति बढी परिचालन भएका मुलुकहरूलाई हेर्यौं भने पनि ती देशहरूले चमत्कारी शैलीमा विकास गरेका छन्। छिमेकी मित्रदेश चीनले विश्वमै बढीभन्दा बढी युवा–जनशक्ति परिचालन गरेको छ। त्यसैले पनि युवा–जनशक्ति देशको ऊर्जासमेत भएकोले युवावर्ग बढी अनुशासित, मर्यादित, परिश्रमी, लगनशील, सिर्जनशील र अध्ययनशील रहनु आवश्यक छ। अन्ततः युवावर्गको काँधमा नै देशको भविष्य र समाजको अस्तित्व जीवन्त रहेको हुन्छ।
कुनै पनि शासन व्यवस्था आफैंमा साध्य हैन साधनमात्र हो, तर पनि २१ औं शताब्दीमा विश्वमै संसदीय लोकतन्त्रको विकल्प भने छैन। विविध कारणहरूका बाबजुद पनि नेपालमा बहुदलीय प्रजातन्त्रको सहज मार्गमा देशको सुन्दर भविष्य आशातीत रहेको तथ्यलाई भने बिर्सन सकिन्न, तर शासनसत्ताको नेतृत्व गर्नेहरूको नियत र चरित्र ठीक नहुँदासम्म शासनप्रणाली जतिसुकै राम्रो भए पनि त्यसबाट जनताले सामूहिकरुपमा उत्तम प्रतिफलको आशा गर्नु नेपालमा त बेकारैजस्तो भइसकेको छ। देशमा विगत वर्षहरूमा त्यही नै भयो, जुन नहुनुपर्ने थियो। त्यसैले बहुदलीय प्रजातन्त्र भएका देशमा सक्षम र सचेत युवावर्ग र युवाजनशक्तिको भूमिका र दायित्व जिम्मेवारपूर्ण रहन्छ। देशका तमाम युवावर्गको जोश, जाँगर, प्रतिभा र क्षमतालाई राज्यशक्तिले राम्रोसँग परिचालन गर्न जान्नु र सक्नुपर्छ। आजको मुलुकको जनशक्ति नै युवा–जनशक्ति हो। देशमा बढी रोजगारका अवसरहरू उपलब्ध गराउनु र प्रतिभा पलायनलाई समयमै रोक्नु राज्यको दायित्वभित्र पर्छ। युवावर्गहरूले पनि राष्ट्रबाट मैले के पाएँ भन्दा पनि मैले राष्ट्रलाई के दिन सकेँ भन्ने सोचतर्फ आत्मकेन्द्रित चिन्तन गरेको हुनुपर्छ, तर सक्षम प्रतिभा पलायनलाई समयमै रोक्न सकिएन भने देशले अझ अधोगति भोग्नुपर्ने निश्चित छ।
विश्वको महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिकाले आफ्नो सक्षम युवा–जनशक्ति देशबाहिर पठाएर होइन, देशमै सम्पन्न बनाएर चमत्कारी शैलीमा विकास गरेको हो। अमेरिकाले आफ्नो देशको विकासका लागि बाहिरका योग्य प्रतिभाहरूलाई सम्मानजनक स्थान दिएको छ। अमेरिकामा अधिकांश प्रतिभा पलायनको एउटा सकारात्मक कारण यो पनि हो। चीनले देशको ग्रामीण विकासमा अत्यधिकरुपमा युवा जनशक्ति परिचालन गरेको तथ्य आफैमा प्रेरणादायी छ।
विश्वमै संसदीय प्रजातन्त्रको जननी भनेर चिनिने विकसित मुलुक बेलायतमा पनि युवा जनशक्तिको प्रयोग र परिचालन हदैसम्म भएको छ। बेलायतमा अहिलेसम्मको अधिकांश इतिहासको सेरोफेरोमा ५२–५३ वर्षभन्दा कम उमेरका युवाहरूद्वारा देशको शासन नेतृत्व सम्हालेका छन्। बेलायतमा सात वर्षअघि सम्पन्न आमनिर्वाचनमा कन्जरभेटिव पार्टीका ४३ वर्षीय नेता डेभिड क्यामरुन देशको प्रधानमन्त्री भएका थिए। बेलायतको २ सय वर्षको इतिहासमा उनी सबैभन्दा कम उमेरका प्रधानमन्त्री हुन्। एक अध्ययनअनुरुप नेपालमा चार कोटिका युवाहरू रहेका छन्। यीमध्ये कोही उमेर पुगेपछि मौका पाउनासाथ विदेशिने तरखरमा छन्। कोही विदेश जान नपाएर छटपटिँदै छन्। कोही विदेश पुगिसकेकाले सार्वजनिकरुपमा देशभक्तिको कुरा छाट्छन्, तर व्यक्तिगत समय नेपाल र नेपालीको मीन–मष निकाल्नमा खर्चिन्छन् तथा बचेका भने निराश फैलाउँदै अब यो देशमा केही हुनेवाला छैन भन्दै हिँड्छन्। आज देशका युवावर्गहरूको गति र मति मात्र हैन शासन सत्ता सञ्चालन गर्नेहरूको पनि यस्तै हविगत भएको छ।
विश्व इतिहासकै घटनाक्रम र निर्माणको पक्षमा एउटा दरिलो आधार के हो भने, कुनै पनि क्रान्ति, जनक्रान्ति र प्रतिक्रान्तिको सङ्घर्षद्वारा विजय प्राप्त गरेका सबल शक्तिहरूले राज्यसञ्चालनको नेतृत्व लिएका हुन्छन्। तिनै शक्तिहरूले देशमा राज्य संरचनाको दिगो आधारशिला निर्माण गरेका हुन्छन्। यस सबल पक्षमा धेरै पर नगए पनि नेपालका दुई छिमेकी मुलुक चीन र भारततर्फ एकपटक फर्केर हेरौं– एकै दशकको हाराहारीमा स्वतन्त्र भएका भारत, चीन र नेपालमध्ये भारत र चीन यावत् विकासको दृष्टिमा कहाँ पुगे ? चीनले गरेको भौतिक र आर्थिक विकासले विश्वलाई नै चुनौती दिएको छ भने अंग्रेजहरूले निर्माण गरेको दरिलो जगमा भारतले पनि चमत्कारी शैलीमा विकास गरेको छ। पं. जवाहरलाल नेहरू र लालबहादुर शास्त्रीले झन्डै २० वर्षसम्म भारतमा राज्य सञ्चालन गरेर दिगोरुपमा प्रजातान्त्रिक संस्कार, संस्कृति, मूल्य–मान्यता र कानुनी राज्यको अवधारणालगायत विकासका थप पूर्वाधारको राम्रो स्थिति बसाले। त्यसै गरी चिनियाँ जनसांस्कृतिक क्रान्तिद्वारा चीनले स्वतन्त्रता प्राप्त गरेपछि महान् चिनियाँ नेताहरू माओत्सेतुङ, देङ्शियाओ पिङ र चाउएनलाइजस्ता युगपुरुषहरूको नेतृत्वमा चीनले सफलता प्राप्त गर्यो। आज चीनले गरेको आर्थिक विकासको वृद्धिदर विश्वमै सबैभन्दा बढी छ। यसो हुनुमा पनि युवा जनशक्तिको सही परिचालन नै हो।
२००७ सालमा जनक्रान्तिद्वारा संसदीय प्रजातान्त्रिक युगमा प्रवेश गरेको नेपालले २०४६ सालको जनआन्दोलनद्वारा पुनः बहुदलीय शासन व्यवस्था प्राप्त गर्यो।
जनआन्दोलनपश्चात् २०४८ सालमा सम्पन्न आमनिर्वाचनमा नेपाली कांग्रेसले बहुमत प्राप्त गर्यो, तर बहुमतप्राप्त दलभित्रकै चरम आन्तरिक कलहका कारण जननिर्वाचित सरकार विघटन हुनपुग्यो। देश, समाज र राष्ट्रको हित विपरीत जननिर्वाचित संसद विघटनका कारण २०५१ पछिको राजनीतिक विकृतिले गर्दा आज नेपाली जनताले यो दुर्दिन भोगिरहनुपरेको छ। कुनै पनि शासन व्यवस्थाले जनतालाई तीन कुराको प्रत्याभूति गरेको हुन्छ– पहिलो शान्तिसुरक्षा, दोस्रो आर्थिक विकास र तेस्रो सामाजिक न्यायजस्ता आधारभूत मानवीय पक्षमा सरकारले ध्यान केन्द्रित गरेको हुनुपर्छ, तर विगतका वर्षहरूमा जनताका समस्या समाधान गर्नेतर्फ कसैको पनि ध्यान गएन। जनआन्दोलन २०६२⁄०६३ पछि पनि नेताहरूको नियत, चरित्र र संस्कारमा खासै सुधार हुनसकेन। त्यसैले देश निर्माणका लागि तत्काल र निकट भविष्यमा पनि युवावर्गको भूमिका अझ बढी प्रभावकारी रहन्छ।
प्रतिक्रिया