सामना गर्ने नौ दलको निर्णय



काठमाडौं, (नेस)
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेमा आबद्ध नौ दलीय गठबन्धनले मधेसी मोर्चाले शुरू गरेको निषेधको राजनीतिको विरुद्ध सशक्तरूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ। गठबन्धनले मोर्चाले निषेधको राजनीतिक गरेको निष्कर्ष निकाल्दै डटेर सामना गर्ने निर्णय गरेको हो।

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बुधबार बसेको विपक्षी गठबन्धनको बैठकमा एमालेका नेताहरूले आफ्नो पार्टीले सञ्चालन गरेको मेची–महाकाली अभियानबारे जानकारी गराएका थिए। आठ दलका नेताहरूले एमालेले पुनः शुरू गर्न लागेको मेची–महाकाली अभियानको समर्थन गरेको छ।

विपक्षी गठबन्धमा आबद्ध राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नो देशभित्र शान्तिपूर्ण कार्यक्रम गर्न नदिनु लोकतान्त्रिक मूल्य मान्यता विपरीतको भएको बताउनुभयो।

उहाँले एमालेले भारत र पाकिस्तानमा नभई नेपालभित्र नै कार्यक्रम गर्दा अवरोध गर्नु परिस्थिति गम्भीर रहेको बताउँदै भन्नुभयो– ‘स्थानीय तहको निर्वाचन बिथोल्ने मोर्चाको खेल हो, सबै मिलेर यो षड्यन्त्रको पर्दाफास गर्नुपर्छ।

मधेसी मोर्चाको जनआधार कमजोर भएकाले स्थानीय तहको निर्वाचनको सट्टा संसद्को चुनावको माग गरिरहेको उल्लेख गर्दै अध्यक्ष केसीले प्रदेशको निर्वाचन गरेर तराईलाई भारतसँग मिसाउने मोर्चाको योजना रहेको आरोप लगाउनुभयो।

‘मधेसी मोर्चा लगाएर अह्राएको मात्र काम गर्दै आएको छ, संविधान जारी गरेबापत भारतको भात खाएर नेपाली भूमिमा ढुंगा हाल्ने काम भयो, केसीले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘मधेसी मोर्चाको नाममा देशको अस्मितामाथि नै प्रश्न खडा गरिएको छ, यसको सशक्तरूपमा सामना गर्न हामी तयार छौं।

विपक्षी गठबन्धनका नेताहरूले सप्तरी घटनाको न्यायिक छानबिन गरी दोषीउपर कडा कारबाही गर्न पनि माग गरेका छन्।

एमाले नेतृत्वको विपक्षी गठबन्धनमा नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीलगायतका दलहरू आबद्ध रहेका छन्। नौ दलले सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव पारित हुन नदिने अडान राख्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्