जसले रचिन् इतिहास तेस्रो मात्रै हुँदा अपुरो लागेको छ



३१ वर्षीया ननिताले शुरुआतमा कालिमाटीको डिभाइन फिजिकल फिटनेसबाट जुम्बा र एरोबिक कसरतको थाल नी गरेकी हुन्। ७१ किलोको वजनलाई कम गर्न व्यायामशाला छिरेकी ननिताले जिमप्रति लगाव बढ्दै गएपछि यसैमा ध्यान केन्द्रित गरिन्। अनि व्यायामशालामा एक्लै भए पनि कसरत गर्न थालिन्।

कविरस शर्मा

तीन वर्षअघि स्वस्थ रहन र शरीरको तौल सन्तुलनका लागि व्यायामशाला पुगेकी ननिताले नेपाललाई बडी बिल्डिङमार्फत् ऐतिहासिक पदक दिलाउँछु भनेर सोचेकी थिइनन्। तर, अहिले यो यथार्थ बनिसकेको छ। गत डिसेम्बर ४ मा थाइल्यान्डको पटायास्थित समुद्री किनारमा रहेको एम्बासडर सिटी होटलको कन्भेन्सन हलमा भएको तीनदिने प्रतियोगिताको फाइनलमा उद्घोषकले उनको नाम लिएसँगै उनले इतिहास रचिन्। चाइनिज ताइपेईकी सुन सु तिङ र इटालीकी एलेसान्ड्रा डा सिल्भालाई पछि पार्दै कांस्य पदक जितेपछि ननिता नेपाली खेल जगत्मा नयाँ ताराको रूपमा उदाइन्। पहिलोपटक डब्ल्यूबीपीएफ विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिपमा कांस्य पदक जितेर उनले नेपाली महिला बडी बिल्डिङमा एउटा आयाम कोरिन्। ‘डेब्यु अन्तर्राष्ट्रिय प्रतियोगितामा ननिताले महिला एथ्लेटिक फिजिकको १६५ सेन्टिमिटर उचाइसम्ममा कांस्य जितेर नेपाललाई महिला शारीरिक सुगठनमा ऐतिहासिक सफलता दिलाइन्।

गत भदौ २४ र २५ गते काठमाडौं बडी बिल्डिङ फिटनेस एसोसिएसनले आयोजना गरेको प्रतियोगिताको महिला १६५ सेन्टिमिटर उचाइको इभेन्टमा पहिलो स्थान हासिल गरेपछि अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि उनले बाटो खोलेकी हुन्। अहिले स्वस्थ रहन बडी बिल्डिङमा लाग्ने महिलाको संख्या बढे पनि नेपालको सन्दर्भमा महिलाका लागि बडी बिल्डिङ खेल त्यति सहज भने छैन।

संकुचित मानसिकता विद्यमान नै रहेकाले महिलालाई बडी बिल्डिङ प्रतियोगितामा प्रतिस्पर्धा गर्न परिवारबाट सहयोग कम नै पाइन्छ। तर, ननिताको हकमा भने यो विपरीत छ। उनले परिवारको पूर्ण समर्थन पाएकी छिन्। विशेष गरी उनका पति रुजन वज्राचार्यको साथले उनलाई व्यायाममा लाग्न प्रेरणा मिलेको छ।

३१ वर्षीया ननिताले शुरुआतमा कालिमाटीको डिभाइन फिजिकल फिटनेसबाट जुम्बा र एरोबिक कसरतको थालनी गरेकी हुन्। ७१ किलोको वजनलाई कम गर्न व्यायामशाला छिरेकी ननिताले जिमप्रति लगाव बढ्दै गएपछि यसैमा ध्यान केन्द्रित गरिन्। अनि व्यायामशालामा एक्लै भए पनि कसरत गर्न थालिन्। शुरूका दिनमा व्यायाम गर्दा केही समय बिरामीसमेत परेकी थिइन् उनी। तर व्यायामप्रतिको मोहका कारण उनले यसलाई निरन्तरता दिने प्रण गरेपछि यसैमा जम्दै गइन्। शरीरमा देखिएको परिवर्तनसँगै प्रशिक्षक रुजेश शाही, परिवार र साथीहरूबाट प्रतियोगितामा प्रतिस्पर्धा गर्न प्रेरणा मिल्यो। जसले उनमा थप ऊर्जाको काम गर्यो।

अरू खेलाडीझैं उनी पनि पहिलोपटक अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा खेल्न पाउँदा निकै हर्षित भएकी थिइन्। उनी पदक जित्ने उच्च मनोबलका साथ प्रतिस्पर्धामा उत्रेकी थिइन्। आफूले गरेको मेहनतको आधारमा पदक जसरी भए पनि जितिन्छ भन्ने लागेको थियो उनलाई। जसलाई उनले साकारसमेत पारिन्। स्वर्ण लक्षित भएर मेहनत गरेकी उनले पहिलो प्रयासमा नै राष्ट्रका लागि पदक जित्न सफल भएकोमा धेरै खुसी लागेको बताइन्। उनले भनिन्– ‘अन्तिम तीन प्रतिस्पर्धी उभिएको अवस्थामा शुरूमा नै मेरो नाम घोषणा हुँदा एकातिर खुसी थियो भने अर्कोतिर तेस्रोमा समेटिँदा आफ्नो लक्ष्य अपुरो भएको महसुस भयो। तापनि ६३ राष्ट्र सम्मिलित प्रतियोगितामा देशको नाम पदक तालिकाको सूचीमा जोड्न पाउँदा धेरै खुसी लाग्यो।’

विवाहित महिलाको दैनिकी पक्कै पनि सजिलो हुँदैन। उनलाई पनि आठ वर्षीय छोरासहितको घरपरिवारको दैनिकी सम्हाल्न त्यति सहज छैन। तर, पनि उनले यी सबै कुरालाई सन्तुलनमा राख्दै व्यायामका लागि पनि समय निकालेकी छिन्। बिहान करिब ८ बजेसम्मको समय उनले व्यायामशालालाई छुटाएकी छिन्।

त्यसपछि मात्र घरको दैनिक काममा आफूलाई व्यस्त बनाउँछिन्। तर प्रतियोगिताको क्रममा भने उनले कसरतलाई नै बढी समय दिने गरेको बताइन्। उनले आगामी वर्ष हुने नवौं विश्व शारीरिक सुगठनको महिला एथ्लेटिक फिजिक्समा पनि प्रतिस्पर्धा गर्ने लक्ष्य लिएकी छिन्। यसैकारण पनि उनले दैनिक दुई घन्टाको व्यायामलाई निरन्तरता दिइरहेकी छिन्। उनी गत संस्करणमा भन्दा उत्कृष्ट नतिजा ल्याउने प्रयासमा लागिरहेकी छिन्। घरपरिवार र व्यायामलाई निरन्तरता दिनुबाहेक अहिले उनी आफैं पनि व्यायामशाला खोल्ने तरखरमा छिन्।

बडी बिल्डिङ खेल महँगो भए पनि प्रायःजसो खेलाडीहरू स्वयम्ले यसको तयारीका लागि खर्च जुटाउनुपर्ने यथार्थप्रति उनले दुःखेसो पोखिन्। खेलमा डाइट सन्तुलन एउटा महत्त्वपूर्ण पाटो हो। प्रतियोगिताको दौरान शरीरलाई आकार दिन विशेष रूपले खानाको प्रकार, खाने समय र कसरत गर्ने समयलाई मिलाउनु जरुरी हुन्छ। सन्तुलित खाना खानुपर्ने भएकाले यो खेलमा खर्च पनि अलि बढी नै लाग्ने गर्छ। जति नै महँगो खेल भए पनि आफ्नै बलबुतामा ऐतिहासिक पदक जितेकी उनले नेपाल सरकारबाट आधिकारिक रूपमा कुनै पुरस्कार पाएकी छैनन्। पदक जितेबापत उनले नेपाल बडी बिल्डिङ एसोसिएसनबाट डेढ लाख पाएकी थिइन्। योबाहेक केही समयअघि ज्यापु महागुथिको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १ लाख रुपियाँ दिने घोषणा गरे पनि अहिलेसम्म नपाएको उनले बताइन्। गृहिणी भए पनि विशेष गरी आफ्नो पति र पारिवारिक सहयोगका कारणले नै राष्ट्रका लागि पदक जित्न सफल भएकोमा उनी गर्व गर्छिन्। वास्तवमा अहिले उनको सफलता नेपाली महिलाहरूमा बडी बिल्डिङ खेलमा लाग्न प्रेरणादायी उदाहरणसमेत बनेको छ।

प्रतिक्रिया दिनुहोस्