अस्ट्रेलियाविरुद्ध भारतको नाटकीय जित

0
Shares

नयाँ दिल्ली, (एजेन्सी)
पुणेमाझैं हार्ने सम्भावना धेरै थियो भारतका लागि तर बलर घातक बन्दा अस्ट्रेलियाविरुद्ध दोस्रो टेस्ट भारतले ७५ रनको नाटकीय जित हात पारेको छ।
बैंगलोरमा खेलको चौथो दिन मंगलबार भारतले केबल १ सय ८८ रनको लक्ष्य अस्ट्रेलियासामु राखेको थियो। अस्ट्रेलियाले जित्ने लक्षण पनि देखाएको थियो। ओपनर डेविड वार्नरले छिटो गतिमा रन बनाए। उनी ४२ को स्कोरमा दोस्रो विकेटका रूपमा आउट भएका थिए। यहींबाट म्याचको नक्सा बदलिएको थियो।
रविचन्द्रन अश्विन भारतलाई फेरि एकपटक टेस्टमा जित दिलाउने बलर सावित बनेका थिए। उनले ४१ रन दिएर ६ विकेट लिएपछि भ्रमणकारी अस्ट्रेलिया १ सय १२ रनमा समेटिएको थियो। कप्तान स्टिभ स्मिथ पनि टिक्न सकेनन्। अस्ट्रेलियाले लगातार विकेट गुमाउन पुगेपछि अन्तिम ६ विकेट मात्र ११ रनमा पतन भएका थिए।

भारतले पहिलो इनिङमा १ सय ८९ रन जोड्यो भने अस्ट्रेलियाले २ सय ७६ बनाएको थियो। अस्ट्रेलियालाई पहिलो इनिङमा ८७ रनको अग्रता पाएको थियो। तर यो अग्रता अस्ट्रेलियालाई चार खेलको टेस्टसिरिजमा २–० को अग्रता दिलाउन कारक बन्न सकेन। तेस्रो टेस्ट बिहीबारदेखि राँचीमा शुरू हुनेछ।

पहिलो दुई दिन अस्ट्रेलियाली टिम म्याचमा हावी बनेको थियो। तर दोस्रो इनिङमा भारतीय ब्याटसम्यानको जिम्मेवारी प्रदर्शनले घरेलु टोलीलाई म्याचमा फर्काइएको थियो। यसअघि अस्ट्रेलियाका बलर जोश हेजलवुड र मिशेल स्टार्कले भारतीय ब्याटसम्यानलाई केही अंकुश लगाएका थिए। हेजलवुडले ६७ रन खर्चेर ६ विकेट लिए भने स्टार्क र किफले दुई–दुई विकेट हात पारेका थिए। भारतले दोस्रो इनिङमा २ सय ७४ रन बनाएको थियो।

जितपछि भारतीय कप्तान विराट कोहलीले बताए– ‘पहिलो टेस्ट हारेपछि हामी जित हात पार्न लागेका थियौं। हामीलाई थाहा छ कि १ सय ५० रनको अग्रता लिएपछि जित्ने आस हुन्छ भनेर। तर यो कठिन हुने पनि थाहा थियो।’