ल्याब सेवा बन्द हुँदा बिरामी मर्कामा



बाबियाचौर (म्याग्दी), २१ पmागुन । म्याग्दीको भुरुङ तातोपानी स्वास्थ्य चौकीमा सञ्चालित ल्याब सेवा बन्द भएपछि बिरामी मर्कामा परेका छन् ।

बजेट र जनशक्तिको अभावमा ल्याब सञ्चालन नहुँदा सर्वसाधारण सो सेवाका लागि सदरमुकाम धाउन बाध्य भएका हुन् । चौकीमा कार्यरत ल्याब असिस्टेन्ट विवाह गरेर मुस्ताङ गएपछि गत भदौदेखि सेवा बन्द भएको हो ।

स्थानीयस्तरमा आर्थिक स्रोत जुटाएर ल्याब असिस्टेन्टलाई तलब उपलब्ध गराइँदै आएको थियो । प्राविधिक नहुँदा गर्भजाँच, रगत, युरिक एसिड, कमलपित्त (जन्डिस), एनिमिया, एचआइभी, क्षयरोग, सुगर, पिसाब परीक्षण सेवा बन्द भएका स्वास्थ्य चौकीका निमित्त प्रमुख विक्रम पुनले बताउनुभयो ।

ल्याब बन्द हुँदा सो सेवाका लागि भुरुङ तातोपानी, नारच्याङ, दाना, शिख, घार, दोवाका बासिन्दाहरु सदरमुकाम पुग्न बाध्य भएका स्थानीय दशरथकुमार कर्माचार्यले गुनासो गर्नुभयो । दैनिक दश जनाको अनुपातमा ल्याब सेवा लिन आउने बिरामी फर्कन बाध्य भएका छन् । प्राबिधिक नहुँदा यस वर्ष गाविस कार्यालयले स्वास्थ्य चौकीलाई दिदै आएको अनुदान कटौती गरेको छ ।

गाविस र भुरुङ तातोपानी कुण्डको अनुदान सहयोगमा ल्याब असिस्टेन्टलाई तलबको व्यवस्था गरिँदै आएको थियो । प्राविधिक जनशक्ति खोजी र आर्थिक स्रोत व्यवस्था गरेर सेवा सञ्चालन गर्न पहल भइरहेको स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष आत्मा तुलाचनले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्