काठमाडौं
भारतीय अर्थमन्त्री अरूण जेट्लीले पाँच सय र हजार दरका भारु नोटको नेपालले सटही सुविधा प्राप्त गर्ने बताउनुभएको छ। नेपाल लगानी सम्मेलनमा भाग लिन आउनु भएका जेट्लीले शुक्रबार सञ्चारर्मीहरूसँग कुरा गर्दै सो कुरा बताउनुभएको हो।
भारतले प्रतिबन्ध लगाएका ठूला दरका भारु नोटको सटहीका लागि नेपाल राष्ट्र बैंक र रिजर्भ बैंक अफ इन्डियाले आवश्यक ढाँचा तयार गरी सटहीको टुंगो लगाउने उहाँको भनाइ थियो। जेट्लीले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालसँगको छलफलमा पनि सकरात्मक जवाफ दिएको बताइएको छ।
प्रतिबन्धित भारुको पाँच सय र हजार दरको सटही सहजीकरणको लागि आएको भारतीय टोली बिहीबार स्वदेश फर्किएको छ। टोली नेपाल आएको मंगलबार नेपाल आएको थियो । रिजर्भ बैंक अफ इण्डिया (आरबीआई) का करेन्सी म्यानेजमेन्ट र बैंक सुपरिभिजन डिपार्टमेन्टका कार्यकारी निर्देशकको नेतृत्वमा आएको टोलीले भारु सहजीकरणको लागि अैपचारीक भ्रमण गरेको थियो।
आरबीआईको टोलीले प्रतिवेदन बुझाएपछि भारत सरकारले सो अनुसार निर्णय गर्ने नेपाल राष्ट्र बैंकको वैदेशिक विनिमय व्यवस्थापन विभागका प्रमुख भीष्मराज ढुंगानाले बताउनुभयो।
आरबीआईको टोलीले नेपालका बैंकहरूले केवाईसी कसरी कार्यान्वयन गरिरहेका छन् भन्ने बारेमा चासो राखेको थियो । नेपालका बैकहरूले कुन आधारमा भारुको सटही गर्ने हो भन्ने विषयमा भारतीय पक्षले चासो राखेको थियो । ढुंगानाले भन्नुभयो–‘टोलीले केवाईसीमा नै चासो देखाएकोे थियो, हामीले यो प्रणाली अवलम्बनमा भारतमा भन्दा कडाई रहेको जानकारी दिएका छांै, भारतीयले सटहीका लागि नेपालमा खाता खोल्न नसक्ने, नेपालीको नाम पनि खाता खोल्न सक्ने अवस्था नरहेकाले हाम्रो कन्ट्रोल गर्ने मेकानिजमको जानकारी दिएको छ।’
भारतीय टोली राष्ट्र बैंकले गराएको जानकारीप्रति सकारात्मक रहेको उहाँले बताउनुभयो। स्रोतका अनुसार भारतीय पक्षलाई नेपालमा रहेको भारुका विषयमा आशंका रहँदै आएको छ। नेपालमा भारु कालोधन सहटी भएको हुन सक्नेतर्फ भारतीय पक्षले आंशका गरेको हो। भारतले विभिन्न स्रोतबाट कालोधन नेपाल पुगेको र त्यसलाई वैधानिक तरिकाबाट सटही हुन सक्नेतर्फ नेपाली अधिकारीको ध्यानाकर्षण गराउँदै आएको छ। ढुंगानाका अनुसार भारु सटहीका विषयमा छलफल गर्न भारत पुगेको नेपालीे टोलीलाई नेपालमा रहको भारु नोट अरू कसैबाट लिएर सटही गरेको होइन र यस्तो गरेको पाइएमा प्रचलित कानुन बमोजिम दण्ड र कारबाही भोग्न तयार छौं भनेर हस्ताक्षर नै गराएको छ। नेपालको बैकिङ प्रणालीमा ३ अर्ब ३६ लाख ९० हजार भारु छ भने बैंकिङ प्रणाली बाहिर १० अर्बभन्दा बढी रहेको अनुमान गरिएको छ।
नोटमा प्रतिबन्ध लाग्नु पूर्व नेपालमा २५ हजार भारुसम्म व्यक्तिले राख्न सक्ने नियम रहेको हुँदा नेपाली पक्षले २५ हजार भारु व्यक्तिले बैंक खातामा जम्मा गर्ने र त्यसअनुसारको नेपाली रुपियाँ भुक्तानी दिने जम्मा भएको भारुको भुुत्तानी भारतबाट लिने प्रस्ताव गर्दै आएको छ।
भारतले कात्तिक २३ गते राति १२ बजेदेखि भारु पाँच सय र एक हजार दरको नोटमा प्रतिबन्ध लगाएपछि नेपालमा भारुको संकट बढ्दै गएको छ। सीमार्वी बजारमा कारोबार तथा भारतमा रोजगारीमा रहेका विद्यार्थी, व्यापारी, औषधि उपचार गर्नेलाई समस्या हुँदैै आएको। यसैबीच नेपाल राष्ट्र बैंकले वार्षिक ६ अर्ब भारु रिजर्व बैंक अफ इण्डिया (आरबीआई) मार्पmत लिँदै आएको छ।
तर, अघिल्लो साता राष्ट्र बैंकले डलर बिक्री गरेर १ खर्ब ३३ अर्ब १० करोड ३८ लाख भारु खरिद गरेको थियो। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनमा ५१ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको पहिलो छ महिनामा ८८ अर्ब ११ करोड ७५ लाख भारु सहटी गरेको थियो। भारतले पाँचले पाँच सय र हजार दरको नोटमा प्रतिबन्ध लगाएपछि नेपालमा भारु संकट गहिरिँदै गएकाले राष्ट्र बैंकले पुसमा एक अर्ब बराबरको सय दरको नोट खरिद गरेको थियो। हालसम्म नेपाल राष्ट्र बैंकले रिजर्व बैंक अफ इण्डियाबाट नियमित प्रक्रिया अन्तर्गत करिब २ अर्ब २० करोड भारु खरिद गरेको छ। स्रोतका अनुसार रिजर्व बैंक अफ इण्डियाले नेपालमा अन्य दरका भारु नोट बिक्रीमा पनि कडाइ गर्दै आएको छ।
यसैबीच सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री जेट्लीले नेपाललाई पूर्वाधार विकासमा खासगरी अन्तर्देशीय प्रसारणलाइन तथा यातायात पूर्वाधार तथा रेल सेवा विस्तारमार्फत् भारतसँग आर्थिक रूपमा जोड्ने बताउनुभयो। उहाँले पछिल्लो समय भारतबाट नेपालमा आउने प्रत्यक्ष वैदेशिक लगानीमा सुधार आउनेसमेत बताउनुभएको थियो।
प्रतिक्रिया