अब “स्नो एन्ड ग्लासियर” स्टेसन

0
Shares

उच्च क्षेत्रको तापक्रम, जलवायु परिवर्तनको असर, हिमपातको मात्राको अध्ययनसहित हिमाली क्षेत्रमा आउन सक्ने तत्कालीन र दीर्घकालीन मौसम पूर्वानुमानका लागि यस्तो स्टेसन स्थापना गर्ने तयारी गरिएको हो।

टीका बन्धन
उच्च पहाडी र हिमाली क्षेत्रको वैज्ञानिक र वास्तविक मौसमी गतिविधि अद्यावधिक गरेर सर्वसाधारणसहित सरोकारवालाहरूलाई सम्प्रेषण गर्न ुस्नो एन्ड ग्लासियर स्टेसन स्थापना गरिने भएको छ।

उच्च क्षेत्रको तापक्रम, जलवायु परिवर्तनको असर, हिमपातको मात्राको अध्ययनसहित हिमाली क्षेत्रमा आउन सक्ने तत्कालीन र दीर्घकालीन मौसम पूर्वानुमानका लागि यस्तो स्टेसन स्थापना गर्ने तयारी गरिएको हो।

मुलुकको पूर्वदेखि पश्चिमी क्षेत्रमा ४५ सय मिटर र सोभन्दा माथिका विभिन्न २३ स्थानमा करिब २ दर्जन स्टेसन स्थापना गर्ने तयारी गरिएको छ। एउटा स्टेसन स्थापनाका लागि ६० देखि ७० लाखका हाराहारीमा खर्च हुने अनुमान गरिएको छ।

विश्व बैंकको आर्थिक सहयोगमा जल तथा मौसम विज्ञान विभागले यस्तो कार्य अघि बढाएको हो। यही आर्थिक वर्षको अन्त्य सम्ममा पूर्व–पश्चिमका विभिन्न ५ स्थानमा ५ वटा स्टेसन स्थापना हुने र बाँकी स्टेसन अर्को आर्थिक वर्षभित्रमा सञ्चालनमा आउने विभागका महानिर्देशक डा. ऋषिराम शर्माले बताउनुभयो।

उहाँका अनुसार आगामी असार मसान्तभित्र ताप्लेजुङको सेरम, सोलुखुम्बुको दिङ्बोचे, गोरखाको साम्दो, कास्कीको माछापुच्छ्रे आधार शिविर र हुम्लाको पञ्चमुखीमा ुस्नो एन्ड ग्लासियर स्टेसन स्थापना हुनेछन्।

ुखास गरी हिमाल आरोहणमा जाने आरोही र उच्च क्षेत्रको पदमार्गमा आन्तरिक र बाह्य पर्यटकसहित उच्च भेगमा बसोबास गर्ने स्थानीय बासिन्दाका लागि यस्तो स्टेसनको सूचना प्रभावकारी हुनेछ –उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो।

यससँगै उच्च पहाडी र हिमाली भेगको मौसमी सूचना लगभग अनुमानको भरमा हुँदै आएकोमा अब भने वास्तविक र वैज्ञानिक सूचना थाहा पाउन सकिने उहाँको विश्वास छ। उच्च भेगको मौसमी सूचना अद्यावधिक गर्ने प्रभावकारी र पर्याप्त संयन्त्र नहुँदा समय–समयमा पर्यटक र हिमाल आरोहीहरूले अकालमा ज्यान गुमाउनुपर्ने अवस्थासमेत दोहोरिने गरेको छ।

यस्तै संयन्त्रको अभावमा २०७१ असोज २८ गते अन्नपूर्ण पदमार्ग र आसपास क्षेत्रमा हुतहुत आँधीको प्रभावका कारण परेको हिमपातमा परेर एक साताभित्र ४५ जनाले ज्यान गुमाएका थिए। त्यस बेला मनाङ, मुस्ताङ, डोल्पा र म्याग्दीका उच्च भागमा हुतहुत आँधीको प्रत्यक्ष प्रभाव परेको थियो।

विभागले यसअघि ५ हजार १० मिटर उचाइको सोलुखुम्बुको इम्जाताल आसपासको क्षेत्रमा यस्तो स्टेससन स्थापना गरेको थियो त्यसबाहेक सो निकाय मातहत ४ हजार मिटरभन्दा माथिको उचाइमा मौसम अद्यावधिक गर्ने स्टेसन छैनन्।

यस्तो स्टेसनको सूचना टेलिमेट्रिक प्रणालीबाट केन्द्रमा एकीकृत गरेर लक्षित वर्गलाई सम्प्रेषण गरिने यस कार्यमा जुटिरहनुभएका काठमाडौं विश्वविद्यालयको हिम विज्ञान विषयका सहप्राध्यापक डा. रिजनभक्त कायस्थले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो– ुपूर्वदेखि पश्चिमसम्मका विभिन्न क्षेत्रमा २३ वटा स्टेसन जडान गर्न सकियो भने उच्च पहाडी र हिमाली क्षेत्रको वास्तविक र वैज्ञानिक मौसमी सूचना संकलन र सम्प्रेषण गर्न सकिन्छ।

यस्तो स्टेसनको जडान भएपछि हिमाली क्षेत्रको हेलिकोप्टर उडान र हेलिकोप्टरमार्फत् हुने उद्धार कार्यसमेत प्रभावकारी बन्न सक्ने मौसमविद्हरूको विश्वास छ। त्यसै गरी हिमनदीलाई मूल स्रोत मानेर निर्माण भएका र भविष्यमा निर्माण हुने विद्युतीय आयोजनाका लागि पानीको बहाव र सञ्चित अवस्थामा रहेको हिउँको मात्राबारेको पूर्वानुमान गर्न हिम स्टेसनले सघाउ पुर्याउने विज्ञहरूको तर्क रहेको छ।