माओवादी केन्द्रको अलमलिएको यात्रा

0
Shares

सुभाषचन्द्र देवकोटा

कुनै बेला एमालेलाई ‘हिङ बाँधेको टालो भनेर प्रचण्डहरू खल्तीको रुमाल निकालेर खुला मञ्चमा टकटक्याउँथे। बाबुराम भट्टराई त आफ्ना हरेक भाषणहरूमा एमालेलाई लिंग नछुट्टिएको नपुंसक भनेर नै थाक्दैनथे। तर आज फेरि इतिहास दोहोरिएको छ। अब माओवादी केन्द्रलाई नै हिङ बाँधेको टालो र लिंग नछुट्टिएको नपुंसक भनेर मान्छेहरू भिनिरहेका छन्।

विचारको निर्दिष्टता राजनीतिको मेरुदण्ड हो, जसले कुनै पनि राजनीतिक दललाई गन्तव्यसम्म पुग्नको लागि राजनीतिक दिशानिर्देशन गरिरहेको हुन्छ। तर आफूलाई नेपाली राजनीतिको चतुर खेलाडी ठान्ने माओवादी केन्द्र आज त्यही मेरुदण्डविहीन राजनीतिक यात्रामा छ। बेलाबखतमा एक्काइसौं शताब्दीको नयाँ जनवाद नै आफ्नो राजनीतिक कार्यक्रम भएको बताउँदै आए पनि त्यो पुष्टि हुने गरी कुनै राजनीतिक, आर्थिक खाका सार्वजनिक गर्न सकेको छैन, न त व्यवहारमा त्यसलाई पुष्टि गर्ने खालका कार्यक्रमहरू नै ल्याएको छ। वैचारिक अस्पष्टता र गन्तव्यविहीन राजनीतिक यात्राले पार्टीलाई धेरै दिनसम्म थेग्न सकिँदैन भन्ने कुरा माओवादी केन्द्रका दिग्गज नेताहरूले बुझेका छैनन् होला भनेर कसरी भन्ने ?

विचार सिद्धान्तले निर्दिष्ट गरेको बाटो छोडेर सत्ता प्राप्तिको सजिलो उपाय खोजिने गर्दा नै आज आएर माओवादी केन्द्रको राजनीति प्रचण्डकै शब्द सापट लिएर भन्नुपर्दा कलाविहीन नाटकजस्तै भएको छ। नेपाली माओवादी आन्दोलनका उत्कृष्ट शिल्पकार र अभियानका अग्रज मोहन वैद्यहरूले समेत पार्टीमा हुर्कंदै गरेको वैचारिक, सांस्कृतिक विचलन र नेतृत्वमा हुर्कंदै गरेको मौकापरस्त व्यवहारको कारण आफैंले जग हालेको पार्टीलाई समेत छोड्नुपर्यो। यसले पनि मओवादी केन्द्रको राजनीतिक विचलनको अवस्था अनुमान लगाउन सकिन्छ।

नेपाली राजनीतिको पछिल्लो परिवर्तनमा माओवादी आन्दोलनको योगदान समकालीन अन्य राजनीतिक दलहरूको भन्दा कम छैन। देशको युगान्तकारी परिवर्तनमा अग्रणी भूमिका खेल्न ऊर्जावान् माओवादी केन्द्र आज आएर नेतृत्वमा पलाएको अपारदर्शिता, जवाफहीनता र भोगवादी व्यवहारको कारण राप–ताप सकिएको राजनीतिक दलमा परिणत भएको छ। तीनतिर तीन थरी काइते कुरा गर्ने बानी परेपछि नेताहरूलाई आफैंले युद्धका बेला बाँडेका आश्वासनहरू र सार्वजनिक गरेका राजनीतिक प्रतिबद्धताहरूको समेत हेक्का हुन छाडेको छ। केही विशेष नेता र तिनीहरूलाई परिक्रमा गर्ने कार्यकर्ताहरू शानले जीवन बिताइरहँदा सामान्य नेता तथा कार्यकर्ताहरूमा देखा परेको चरम निराशा र असन्तुष्टिले पार्टीको गतिलाई नै अवरुद्ध पारेको छ। दुर्भाग्य, हिजो अमूक राजनीतिक दललाई नपुंसक, हिङ बाँधेको टालो भनेर खुला मञ्चमा खिसी गर्ने माओवादीहरूलाई आज आफ्नै अस्तित्व रक्षा गर्न पनि हम्मे परेको छ। यसरी आफूलाई सर्वहाराका अगुवा ठान्ने नेताहरू नै पुँजीवादी सत्ताको अँगेनामा बसेर शहीदहरूको सपनाको रोटी सेक्न थालेपछि बबुरा कार्यकर्ताहरूले कसको मुख हेरेर चित्त बुझाउने ?

गरिबी, अभाव र सबै खाले विभेदहरूबाट मुक्ति माओवादीहरूले दशबर्से युद्ध सञ्चालन गर्दा जनतालाई बाँडेको सपना थियो। तर १० वर्षको छोटो अवधिमै तीन–तीनपटकसम्म सत्तापान गरिसक्दा पनि जनतासामु बाँडेका सपनाहरू पूरा गर्ने तत्परता माओवादी केन्द्रले देखाउनै सकेन। जनताको हैसियत सुधार्ने कार्य उनीहरूको प्राथमिकतामा कहिल्यै परेन।

विगतमा नेपालको राष्ट्रिय स्वाधीनताको आन्दोलनमा माओवादीहरूको योगदान कम थिएन। तर आज आएर राष्ट्रिय स्वाधीनताका सवालहरूमा समेत माओवादी केन्द्र इमानदार बन्न नसकेको कुरा चर्चाको विषय भएको छ। भारतीय विस्तारवादको हस्तक्षेपको कुरा गरेर प्रतिरोध युद्धको नाममा रुकुम, रोल्पाका जंगलहरूबाट सुरुङ युद्ध गर्न तम्सिने माओवादीहरू नै सत्ताको लागि अपवित्र गठनबन्धन गर्दै विदेशीसँग लम्पसार पर्न पुग्नुले प्रगतिशील राष्ट्रवादको गाँठी कुरा पनि छरपष्ट हुन पुगेको छ ।

विडम्बना, नेपालको सन्दर्भमा माओवादी आन्दोलन केही कम्युनिस्टहरूको लागि शक्ति आर्जन गरेर आफ्नो अभिष्ट पूरा गर्ने गतिलो हतियार मात्रै भएको छ। उनीहरूले उठाउने गरेको राष्ट्रियता र जनजीविकालगायतका सवालहरू हात्तीको देखाउने दाँत हो भन्ने कुरा साबित भएको छ। उनीहरूको अभिष्ट शक्ति र सत्ता हडपेर आफ्नो लागि सुनको लंका निर्माण गर्नु नै हो भन्ने कुरा स्पष्ट भएको छ। यो उपक्रममा माओवादी केन्द्र पछिल्लो उदाहरण बन्न आइपुगेको छ।

महाभारतको कथामा कर्णले बनाएको चक्रव्यूहमा अभिमन्यू परेका थिए। तर विडम्बना, आज माओवादी केन्द्र आफ्नै कारण तयार भएको राजनीतिक चक्रव्यूहमा आफैं फस्न आइपुगेको छ। सजिलो त पक्कै पनि छैन, तर पार्टी बचाउने हो भने यो चक्रव्यूहबाट बाहिर निस्कने प्रयत्न गर्नुको अर्को विकल्प पनि छैन। तसर्थ अब माओवादी केन्द्रले पार्टीको जीवन्ततताको लागि पनि पार्टीभित्र भित्रिएका राजनीतिक, सांस्कृतिक अपचलनहरूको गम्भीर समीक्षा गरेर वैचारिक र सांगठानिक पुनर्गठन गर्ने हिम्मत गर्नुपर्दछ। नत्र हालकै अवस्थालाई निरन्तरता दिने हो भने राजनीतिक यात्रा त्यति सहज हुने देखिँदैन।