भारतीय उच्च अधिकारी वासिङ्टन जाने


नयाँ दिल्ली, (एजेन्सी)
नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका उच्च अधिकारीसँग छलफल र परामर्श गर्न भारतीय विदेश मन्त्रालयका उच्च पदस्थ कर्मचारी यसै महिनाको अन्त्यसम्ममा वासिङ्टन भ्रमण गर्ने एक भारतीय उच्च अधिकारीले आइतबार बताएका छन्।

संयुक्त राज्य अमेरिकामा हालै मात्र ट्रम्प प्रशासनले अमेरिकी व्यापारिक वा अन्य संस्थाहरूले विदेशी प्राविधिक वा विशेष सीपयुक्त कर्मचारीलाई काममा लगाउन कठिन हुने खालको विधेयक प्रस्तावना गरेको छ। यदि यस विधेयक अमेरिकी कंग्रेसबाट पारित भएमा भारत वा अन्य मुलुकका प्राविधिक वा विशेष ज्ञान तथा सीप हासिल गरेका निपुण कर्मचारीहरूले समान योग्यताका अमेरिकीहरूसरह काम गर्न पाउने छैनन्।

यस्तै तथा अन्य विषयमा उच्च पदस्थ अमेरिकी कर्मचारी संयन्त्रसँग छलफल र परामर्श गर्ने उद्देश्यले भारत सरकारका विदेश सचिव एस. जयशंकर जाने भएका छन्। केही दिनअघि क्यान्सास राज्यको एक रेस्टुराँ क्यान्सास सिटी बारमा एक जना अमेरिकी सन्काहाले कुनै उद्देश्यबिना जथाभावी गोली प्रहार गरेर अमेरिकामा कार्यरत एकजना भारतीय इन्जियरको हत्या गरेको र अर्कोलाई सख्त घाइते बनाएकाल भारतीय विदेश सचिवले विदेशी कर्मचारीको सुरक्षाको प्रबन्ध बारे छलफलको विषयवस्तु बनाउने जानकारी दिइएको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले विदेश सचिवको वासिंगटन भ्रमण बारे विस्तृत विवरण खुलाउन चाहेनन्। तर समाचार श्रोतका अनुसार विदेश सचिव जयशंकरले अमेरिकी विदेश मन्त्रालयका कार्यबाहक उप–विदेशमन्त्री टम स्यानन र अन्य उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

ट्रम्पले ह्वाइट हाउस प्रशासन सम्हाल्न शुरु गरेको केही दिनमै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिका भ्रमणको निम्ता दिएका थिए।