मोसुल विस्फोटमा महिला पत्रकारको मृत्यु

0
Shares

बग्दाद, (एजेन्सी)
इराकको मोसुलमा द्वन्द्वको समाचार संकलनका क्रममा एक कुर्द महिला पत्रकारको मृत्यु भएको छ। इराकी कुर्द टिभी रुदाका लागि काम गर्दै आइरहेकी सिफा गर्दीको सडकको किनारामा भएको एक बम विस्फोटको सिकार भएकी थिइन्।

उनी इस्लामिक स्टेटको नियन्त्रणमा रहेको सहरको पश्चिमी इलाकामा सैन्य अभियानको समाचार कभरेज गरिरहेकी थिइन्। रुदा टिभीले ३० वर्षीय सिफा गर्दीले पत्रकारिता पुरुषहरूका लागि मात्र हो भन्ने आम धारणालाई तोडेको बताए।

मोसुलको पश्चिम इलाकामा अगाडि बढिरहेका इराकी सेनालाई इस्लामिक स्टेटको कडा प्रतिरोधको सामना गर्नुपरिरहेको जनाइएको छ। इराकी सेनाले गत वर्ष अक्टोबरमा मोसुललाई इस्लामिक स्टेटको कब्जाबाट मुक्त गर्ने सैन्य अभियान थालेका थिए।

शुक्रबार सैन्यबल मोसुलको पश्चिम इलाकामा पहिलोपटक प्रवेश गर्न सफल भएका थिए। रुदा टिभीका अनुसार उक्त घटनामा सिफा गर्दीसँगै काम गरिरहेका क्यामराम्यान युनिस मस्तफा पनि घाइते भएका छन्।

सिफा गर्दीले मोसुलबाट दैनिक कार्यक्रम सञ्चालन गरिरहेको र हालैका दिनमा शहरभित्रको संघर्षको समाचार सामाग्री कभरेज गरिरहेको च्यानलको आफ्नो वेबसाइटमा उल्लेख गरिएको छ।