शान्ति कायम गर्न स्थानीय नै जुट

0
Shares

नेपाल समाचारपत्र
ताप्लेजुङ
राजनीतिक दलले गाउँलाई शान्त बनाउन चासो नदिएपछि ताप्लेजुङ खोक्लिङ गाविसका स्थानीयबासी आफ्नै प्रयासमा गाउँलाई शान्ति क्षेत्र बनाउन जुटेका छन्।

स्थानीय निकायको निर्वाचनको मिति तय भइसक्दा गाउँमा हुने सम्भावित दलीय ध्रुवीकरणलाई समेत ध्यानमा राख्दै स्थानीयले राजनीतिक दल, शिक्षक, नागरिक समाजका प्रतिनिधिसमेतको भेला बोलाई शान्ति स्थापना गर्नेमा प्रतिबद्धता जनाउन लगाएका छन्।

स्थानीय नागरिकद्वारा गठन गरिएको सिर्जनशील सामाजिक समाजले गाविसका सबै राजनीतिक दललाई स्थानीय विद्यालयको प्रांगणमा भेला गराई आफ्ना पार्टीका कार्यकर्तालाई सजग, सचेत र प्रशिक्षित गराउने र गाविसलाई शान्त बनाउने विषयमा प्रतिबद्धता जनाउन लगाएको समाजका संरक्षक बालकुमार साँवाले बताए।

नागरिकको प्रयासमा भएको सो कार्यक्रममा गाउँस्तरीय पार्टीका नेताले आफूहरूले पार्टी कार्यकर्तालाई समाज विखण्डन तथा हिंसा हुने कुनै गतिविधि नगर्न सचेत गराउने प्रतिबद्धता जनाएको उनको भनाइ छ।

सदरमुकाम फुङलिङबाट नजिकमा रहेको खोक्लिङ हिंसात्मक घटना भइरहने गाविसमा पर्छ। यहाँ दोस्रो संविधानसभा निर्वाचनका बेला आमसभामा बम विस्फोट भएको थियो भने विद्यालय व्यवस्थापन समिति गठन, बैठक, भेला र अन्य समयमा समेत हिंसात्मक घटना दोहोरिएका छन्। केही महिनाअघि मात्र सोही गाविसमा एक वन रक्षकको समेत घाँटी रेटी हत्या भएको थियो।
सो गाविसमा हिंसात्मक गतिविधि बढेकाले सरकारी कर्मचारीसमेत सो गाविसमा जान डराउने गरेकाले गाविसका स्थानीयकै प्रयासमा कार्यक्रम गरिएको स्थानीयको भनाइ छ।