बहुमुखी क्याम्पसमा नेपाल र ओली पक्ष विभाजित ११ वटा विद्यार्थी संगठन दर्ता

0
Shares

यमलाल भुसाल, बुटवल
कपा एमाले समर्थित विद्यार्थीका तर्फबाट स्ववियु निर्वाचनका लागि बुटवल बहुमुखी क्याम्पसमा २ वटा संगठन दर्ता भएका छन्।

एमालेको भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु हो। यो संगठनबाट नवीन थापा सारुको नेतृत्वमा संगठन दर्ता भएको हो। एमाले अखिलकै अर्को समूहले राष्ट्रिय शब्द हटाएर अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन नामक संगठन दर्ता गरेको छ। यो समूह कृष्णप्रसाद बस्यालको नेतृत्वमा दर्ता भएको छ। सारु केपी ओली पक्षीय र बस्याल माधवकुमार नेपाल पक्षीय विद्यार्थी नेता हुन्।

बुटवल बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि ११ वटा विद्यार्थी संगठन दर्ता भएका छन्। दिनेश पौडेलको नेतृत्वमा नेपाल विद्यार्थी संघ, टेकराज रेग्मीको नेतृत्वमा अखिल क्रान्तिकारी प्रचण्ड, रमेश गैरेको नेतृत्वमा अखिल क्रान्तिकारी विप्लव नाममा विद्यार्थी संगठन दर्ता भएका छन्।

यसैबीच अखिल छैटौं, नयाँ शक्ति विद्यार्थी युनियन, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, नेपाल क्रान्तिकारी विद्यार्थी संघ, नेपाल आदिवासी जनजाति विद्यार्थी संघ र नेपाल मगर विद्यार्थी संघ पनि स्वतन्त्र विद्यार्थी युनियनका लागि दर्ता भएका छन्। दर्ता भएका विद्यार्थी संगठनले मात्र स्ववियुको समानुपातिक निर्वाचनका लागि उम्मेदवार बन्न पाउने र प्रत्यक्षतर्फको निर्वाचनमा प्यानल बनाउन पाउनेछन्। बहुमुखी क्याम्पसमा ३ हजार ९ सय १६ विद्यार्थी मतदाता रहेको स्ववियु निर्वाचन समितिका सचिव अधिवक्ता जीवनारायण अधिकारीले जानकारी दिनुभयो।

यसैबीच सिद्धार्थ गौतमबुद्ध क्याम्पसमा भने एमाले समर्थित अनेरास्ववियुको तालाबन्दीका कारण स्ववियु निर्वाचन अन्योलमा परेको छ। बुधबार मतदाता नामावली प्रकाशनको कार्यक्रम भए पनि अनेरास्ववियुका विद्यार्थीले माइन्युट खोसेपछि निर्वाचन कार्यक्रम अघि बढ्न सकेन। विभिन्न माग राखेर एमाले समर्थित अनेरास्ववियुले निर्वाचन समितिको कार्यालय र क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन्।

अनेरास्ववियु सिद्धार्थ गौतमबुद्ध क्याम्पस कमिटीका अध्यक्ष शिव वेलबासेले फागुन ३ गते भएको घटनाको छानविन गर्नुपर्ने र क्याम्पस प्रमुखले राजीनामा दिनुपर्ने माग गर्दै तालाबन्दी गरेको बताउनुभयो। अनेरास्ववियुबाहेक अन्य विद्यार्थी संगठन भने जसरी पनि निर्वाचन हुनुपर्ने अडानमा छन्। नेविसंघ क्याम्पस समितिका सभापति महेश शर्माले भने निर्धारित मितिमै स्ववियु निर्वाचन हुनुपर्ने बताउनुभयो। सिद्धार्थ गौतमबुद्ध क्याम्पसका प्रमुख बाबुराम पाण्डेले सकभर निर्वाचन गराउने पक्षमा क्याम्पस लागिरहेको जानकारी दिनुभयो। उहाँले वार्ता भइरहेको जानकारी दिनुभयो