क्रसर उद्योग बन्द गर्न माग

0
Shares

नेपाल समाचारपत्र
लमजुङ
लमजुङमा मस्र्याङ्दी नदी किनारमा अनधिकृत रूपमा गिटी र बालुवा झकेर दोहन गर्दै सडकलाई समेत क्षति पुर्याउने काम गरेकाप्रति उदासिन बनेका सम्बद्ध अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै सेवाग्राहीले ध्यानाकर्षण गरेका छन्। चिती गाविसका बासिन्दाले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै त्यसको जानकारी जिल्ला विकास समितिमा समेत गराएको बताएका छन्।

चिती गाविसका निवर्तमान अध्यक्ष फुलबहादुर थापा, निवर्तमान उपाध्यक्ष एवम् एमालेको निर्वाचन क्षेत्र नम्बर १ का इन्चार्ज राजकुमार विष्टसहित २३ जनाले दस्तखत गरेको ज्ञापनपत्र थापा र विष्टको नेतृत्वमा आएको टोलीले जिल्ला प्रशासन र जिल्ला विकास समितिमा बुझाएको हो।

उहाँहरूले चिती गाविसको रिठ्ठेबगर–भकुण्डेबेंसी–तीनपिप्ले हुँदै फलेनी गाविसको दारिमबोट जाने सडकमा गत आवमा ५ करोड परेर ५ लाखको पनि काम नभएको र यस वर्ष पनि सोही सडकमा २ करोड रकम विनियोजन हुँदा पनि आजसम्म देखिने गरी काम हुन नसकेको भन्दै ध्यानाकर्षण गराएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ। यसै गरी सो पत्रमा करिब २ महिना २२ जना मजदुरलाई ढुंगा–बालुवाको काम गर्न लगाएर पनि ठेकेदारले ती मजदुरलाई पैसा नदिएको गुनासो चलिरहँदा हाल ठेकेदार र मजदुरसमेत देखिन छाडेको भनिएको छ।

त्यस्तै, उदीपुरको आकाशेभीरसँगै मस्र्याङ्दी नदी किनार र डुम्रे–बेंसीशहर सडकको बीच भागमा क्रसर उद्योग सञ्चालन गरी अनधिकृत रूपमा प्रकृतिको दोहन गरी सडकलाई समेत बाधा पर्ने गरी काम गरिएकोप्रति प्रशासन र सम्बद्ध पक्षले आँखा चिम्लिनु आश्चर्यको विषय भएको भन्दै उक्त कार्य तत्काल रोक्न लगाउन माग गरिएको छ। स्मरणीय छ, २०६५⁄६६ सालमा इन्दु शर्मा स्थानीय विकास अधिकारी र प्रमुख जिल्ला अधिकारी हुँदा सो क्रसर उद्योग निषेधित क्षेत्रभित्र पर्ने भन्दै बन्द गरिएको थियो। तर इन्दु शर्माको सरुवा भएपछि पनि आधा दर्जन स्थानीय विकास अधिकारी फेरिई सक्दा समेत त्यो काम बन्द हुन सकेको छैन।