कन्टेनर पार्किङस्थल निर्माण शुरू

0
Shares

रसुवा, (नेस)
रसुवामा मालवाहक कन्टेनर पार्किङका लागि पार्किङस्थल निर्माण शुरू गरिएको छ। जिल्लामा पार्किङस्थलको अभावमा सडकमा जताततै कन्टेनर रोकिँदा सवारी दुर्घटना तथा असुरक्षा बढेपछि पार्किङस्थल निर्माण थालिएको हो।

सदरमुकाम धुन्चेको रुद्रगंगा क्षेत्रमा ३ सय वटा र टिमुरेको तातोपानी क्षेत्रमा निर्माण भइरहेको पार्किङस्थलमा १ सय वटा कन्टेनर पार्किङ गर्न सकिनेछ। जिल्लामा सञ्चालित नौ वटा कन्टेनर व्यवसायी संघको सहयोगमा निर्माण भइरहेको पार्किङस्थल ग्याल्वो ल्होसारदेखि सञ्चालनमा आउने व्यवस्थापक सञ्जीव डीएमले बताउनुभयो।

पार्किङस्थल निर्माणले जिल्लामा पार्किङस्थलको अभावमा नुवाकोटमा नै रोकिनुपर्ने बाध्यता हट्नुका साथै मेसबाट जथाभावी शुल्क उठाएर ठगिँदै आएकामा व्यवसायी ठगिनबाट जोगिने व्यवस्थापक डीएमले बताउनुभयो।