तरलता अभावले गाडीको बिक्री ५० प्रतिशत घटेको छ



अटोमोबाइलको क्षेत्रमा ख्याती कमाएको टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले नेपालको अटोमोबाइलको क्षेत्रमा ठूलो हिस्सा ओगट्दै आएको छ। पछिल्ला दिनमा देखिएको तरलता अभावलगायत विभिन्न कारणले नेपालमा अटो मोबाइलको व्यवसायमा चुनौती देखापरेको छ। योसहित अटो मोबाइल क्षेत्रको पछिल्लो अवस्थाका बारेमा सिप्रदी ट्रेडिङ प्रालि प्रमुख कार्यकारी अधिकृत राजन श्रेष्ठसँग नेपाल समाचारपत्रका लागि गरिएको कुराकानी।

पछिल्लो समयमा अटो मोबाइलको व्यवसाय कसरी अगाडि बढिरहेको छ ?

दुई⁄तीन महिनाअघिसम्म अवस्थालाई हेर्ने हो भने एकदमै राम्रो थियो। पूर्वाधारको विकास तथा समयको आवश्यकताका कारण पनि अटो मोबाइलको माग बढिरहेको हो। नयाँ प्रविधिहरू पनि त्यसैअनुसार आउने क्रम जारी छ। जहाँ जे काम गर्न पनि यसको आवश्यकता छ। निर्माणको काममा पनि यो नभई हुँदैन। तर, पछिल्लो केही समययता भने अटो मोबाइलको क्षेत्रमा धेरै नै समस्या आइराखेको छ। अहिले बैंकिङ क्षेत्रमा तरलताका कारण समस्या भइराखेको छ।

तरलता अभावको समस्याले अटो मोबाइलको व्यवसायमा धेरै नै असर पारेको अवस्था हो ?

अघिल्लो महिनाकै कुरा गरौं हामीले बिक्रीको क्षेत्रमा जुन लक्ष्य राखेका थियौं त्यसमा करिब ५० प्रतिशत कम भएको अवस्था छ। यसको आधारमा आगामी दिनमा त्योभन्दा पनि कम हुने संकेत देखिँदै गइरहेको छ।

तरलता अभावको समस्याले हुँदै गर्दा बैंकिङ क्षेत्रले अटो मोबाइलको क्षेत्रमा ऋण लगानी गर्न बन्द गरेको भन्ने चर्चा छ, वास्तविकता के हो ?

अहिले खास गरी बैंकरहरूसँग हाम्रो बारम्बार यस विषयमा कुरा भइराखेको छ। उनीहरूले अटो क्षेत्रमा ऋण लगानी बन्दै गरेको त भनेका छैनन्। व्यावसायिक प्रयोजनका गाडीमा ऋण लगानी गर्न रोक्नुपर्ने अवस्था छैन। तर, बैंकिङ क्षेत्र नै ऋण लगानी गर्न सक्ने अवस्थामा छैनन्।

अहिलेको अवस्थामा हामीले अटो मोबाइल क्षेत्रलाई मास ट्रान्सपोटेसन, ट्रान्सपोर्ट र कन्सट्रक्सन गरी तीन वटा शीर्षकमा वर्गीकरण गरेका छौं। तीनवटै विषय देशको लागि महत्त्वपूर्ण छन्। त्यसले गर्दा यो रोकियो भने देशको ‘होल मुभमेन्ट लाई नै यसले असर पार्छ, त्यसैले अहिले बैंकिङ क्षेत्रले ऋण लागनी बन्दै गरौं भनेका छैनन्।

तर, व्यवहारमा त रोकिराखेको अवस्था छ नि त ?

खास गरी बैंकमा पैसा नभएर रोकिएको अवस्था हो। उनीहरूले हामी अटोमा फाइनास गर्दैनौं भनेर कहिल्यै भनेका छैनन्। कमर्सियल भेइकललाई फाइनान्स गर्दैनौं भनेका छैनन्। ट्रक, बसलाई फाइनान्स गर्दैनौं भनेर भनेका छैनन्। तर, कुरा के छ भने जब पैसा हुन्छ निक्षेपमा केही प्रगति हुनेबित्तिकै ऋण लगानी गरिराखेका छन् नगरेको होइन। तर, जुन किमिसले हुनुपर्ने हो त्यसो भएको छैन। किनकि अहिले माग बढ्दो छ। अहिले हेर्ने हो भने कन्सट्रक्सनका काम यति धेरै भइराखेका छन् त्योअनुसार फाइनान्स पाउन सकिराखेको छैनन्। तर, बन्दै भएको अवस्था भने होइन।

यहाँले ऋणको मागअनुसार लगानी भइराखेको छैन भनेर जुन कुरा उठाउनुभयो त्यसबाहेक अटो लोनमा समस्या अरू पनि छन् होला नि ?

अहिले मुख्य कुरा के छ भने ऋणको ब्याजदर बढ्दै गयो छ। त्यसले पक्कै पनि असर पारेको छ। मानिसले जसरी आफ्नो आम्दानी र खर्चको हिसाब गरेर गाडीमा लगानी गरिरहेका हुन्छन्। उनीहरूले आफ्नो यति आम्दानी हुन्छ, यति गाडीको किस्ता तिर्ने, बाँकी अन्य खर्चको व्यवस्थापन गर्ने योजना बनाएकाहरूलाई अहिलेको ब्याजदर वृद्धिले असर गरेको छ। २ देखि साढे २ प्रतिशत ब्याजदर बढ्दै गएको छ। अब फेरि बढ्दै गयो भने त्यसले उपभोक्ता र व्यवसायी दुवैलाई असर पर्छ।

अहिले सडकमा जताततै धूलो धुँवा, ट्राफिक जाम भइराखेको छ, शहरको वातावरण प्रदूषित हुँदै गएको छ। मानिसलाई श्वास फेर्न पनि गाह्रो हुँदै गएको अवस्था छ, यसलाई कसरी हेर्नुहुन्छ ?

वास्तवमा अहिले काठमाडौंमा वातावरण धूलोले सबैभन्दा बढी प्रदूषण गरेको छ। काठमाडौंको वातावरणको हकमा असर अरू नै चिजले प्रदूषित पारिराखेको छ, गाडीहरूले होइन। जताततै निर्माणको काम भइराखेको छ। त्यसको धूलोले समस्या देखिएको हो। अर्को कुरा ट्राफिक जाम व्यवस्थापनको कुरा हो। अहिले सडक निर्माण हुने क्रम जारी रहेको हुँदा ट्राफिक जाम भएको हो। जब सडक निर्माणको कम पूरा हुन्छ, बाटोमा अरू अवरोधहरू हुँदैन त्यस बेला अहिले देखिएको समस्या समाधान हुनेछ।

ट्राफिक म्यानेजमेन्ट गर्न ठूलो समस्या छैन। अन्य देशको तुलनामा नेपालमा प्रतिव्यक्ति आम्दानीअनुसार प्रतिव्यक्ति गाडीको संख्या कम छ। निश्चय पनि रोड नेटवर्क बढाउनुपर्छ। किनभने देश विकास गर्नलाई त्यो सुविधा हुनैपर्छ, विकास हुनैपर्छ। रोड नेटवर्कसँगै गाडीको संख्या पनि त्यसैअनुसार वृद्धि हुन्छ।

पछिल्लो दुई महिनामा देखिएको तरलता समस्याले अटो क्षेत्रमा समस्या आएको छ नै। सँगसँगै मुलुकको समग्र अर्थतन्त्रमा यसले कस्तो असर पर्ला ?

निश्चय पनि यसले एकदम ठूलो असर पार्छ। किनभने जसरी देशको कुल राजस्व संकलनमा अटोमोबाइल क्षेत्रको योगदान ४० प्रतिशतको हाराहारीमा रहेको भनिन्छ। यसैको आधारमा भन्ने हो भने पनि जब गाडी आयात रोकिने बित्तिकै त्यो राजस्व पक्कै घट्छ, अहिले त्यसको दबाब खासगरी भन्सार विभागमा भइराखेको छ। अहिलेको अवस्थामा राजस्वसँगै ठूलो चुनौती बजेट खर्च हो। देशको पुँजीगत खर्चको स्थिति अत्यान्तै न्यून रहेको हुँदा राजस्व कम हुँदा पनि समस्या देखिएको छैन। तर, राजस्व कम उठ्दा यसले अब आउने बजेटमा भने पक्कै असर पार्छ।

अहिले सरकारले २० वर्ष पुराना गाडीलाई हटाउने निर्णय गरेको छ, यसले अटोमोबाइल व्यवसायलाई के असर गर्न सक्छ ?

अटोमोबाइलसँगै धेरै कुरा जोडिएको हुन्छ। त्यसमध्ये सबैभन्दा ठूलो कुरा सुरक्षा हो। त्यसपछि प्रदूषणको कुरा हुन्छ। सरकारले पुराना गाडीलाई रिप्लेस गर्नका लागि पक्कै पनि प्याकेज ल्याउनुपर्ने हुन्छ। किनभने धेरै पुराना गाडीलाई चलाइराख्नु सुरक्षाका हिसाबले उपयुक्त हुँदैन। गाडीको पर्फमेन्स पनि राम्रो हुँदैन।

अटोमोबाइल क्षेत्रमा करको दर बढाउने, नयाँ थप्ने हुन्छ, यसलाई तपाईंले कसरी हेर्नुभएको छ ?

खास कुरा के भने हाम्रो देशमा गाडीको विकल्पबाहेक अरू केही छैन। जस्तो सामान ओसार्न, मान्छे बोक्न अरू ठाउँमा रेल हुन्छ। जुन किसिमको करको कुरा छ, त्यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ त्यतातिर सरकारले हेर्नुपर्ने हो। पहिला गाडी विलाशिता थियो भने अहिले आवश्यकता भइसक्यो। आवश्यकतालाई यति धेरै कर लगाउन त्यति जायज हुँदैन भन्ने धारणा हो।

अहिले नेपालमा अटोमोबाइल व्यापारका रूपमा मात्र रहँदै आएको छ, उत्पादनको क्षेत्रमा यहाँहरू जस्ता ठूला प्रतिष्ठानहरूको के धारणा रहेको छ ?

हामीलाई के लाग्छ भने उत्पादनका लागि हाम्रो बजार निकै सानो छ। उत्पादन भन्नेबित्तिकै संख्या पनि आउँछ। अर्को यहाँ बनाएर बाहिर निर्यात गर्ने कुरा हुन्छ, पहिला हामीले नेपालमा उत्पादन गर्नेबारे सोचेका पनि थियौं। तर, संख्याले नै जस्टिफाइ गरेको छ।

निर्यात गर्न के समस्या छ ?

त्यसमा त पहिला सरकारको नीतिलाई नै हेर्नुपर्छ।

व्यवासायीका अरू समस्या पनि छन् कि ?

समस्या भनेको त खासै छैन। अघिल्लो महिनाको कुरा गर्दा ५० प्रतिशत जति कम भएको थियो यो महिनाको कुरा गर्नु पर्दा त्यस्तै ५०–५५ प्रतिशत कम हुन्छ होला त्योभन्दा अझ बढ्न पनि सक्छ। रोकिएको चाहिँ छैन। तरलताको समस्या समाधान भयो भने सबै व्यवसायीलाई सहज हुन्छ। कसरी राष्ट्र बैंकको पैसा सिस्टममा आउन सक्छ, त्यो हेरिरहेको अवस्था हो।

अटो क्षेत्रलाई अनुत्पादकको बिल्ला लगाइन्छ, यसलाई तपाईंले कसरी हेर्नुभएको छ ?

हामीलाई लाग्दैन अटो क्षेत्र अनुत्पादक हो। टिपरकै कुरा गरौं अहिले जुन गतिमा निर्माणको काम हुँदै गएको छ जताततै यसकै खाँचो छ भने यो कसरी अनुत्पादक हुन्छ। त्यस्तै मास मुभमेन्टका लागि बस अति आवश्यक छ।

प्रस्तुतिः राजु श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्