जीर्ण बन्दै ऐतिहासिक स्थलहरू



नेपाल समाचारपत्र
सिन्धुली
वीर गोर्खालीले अंग्रेजलाई हराएर नेपालको अस्तित्व कायम राख्न सफल ऐतिहासिक स्थल सिन्धुलीगढी दरबार सरकारी निकायको बेवास्थाका कारण भग्नावशेषमा परिणत भएको छ। नेपलीहरूले घरेलु हतियारको भरमा लडेर अत्याधुनिक हातहतियारले सुसूचित अंग्रेज फौजलाई परास्त गरेको इतिहास बोकेको महत्त्वपूर्ण स्थान सिन्धुलीगढीप्रति सरोकारवालाको चासो जान नसक्दा भग्नावशेषमा परिणत भएको हो।

सदरमुकाम सिन्धुलीमाढीबाट २० किलोमिटर उकालो मोटर बाटो चढेर पुगिने सिन्धुलीगढी डाँडामा अहिले अंग्रेजसँग युद्ध गर्न बनाइएका गढी र दरबारको अवशेष मात्र बाँकी छ। ऐतिहासिक सिन्धुलीगढी दरबारलाई पुरानै ढाचाँमा पुनर्निर्माण गर्न पुरातत्त्व विभाग र अन्य कुनै पनि सरकारी निकायले कुनै चासो नदिएपछि सिन्धुलीगढी दरबार जीर्ण बन्दै गएको हो। तत्कालीन अवस्थामा विभिन्न प्रयोजनका लागि बनाइएको ३० कोठे मूल दरबार, तबेला घर, पाले पहेदार घरलगायत मूल दरबार आसपासका भवनहरूसमेत पूर्ण रूपमा भत्किएका छन्।

मूल दरबारका जस्तापाता इँटा र अमूल्य कलाकृतिसमेत चोरिएका छन्। सिन्धुलीगढी दरबारको संरक्षणका निम्ति जिल्ला विकास समिति सिन्धुली, पुरातत्त्व विभाग र नेपाली सेनाको गोरख गणले समेत मूल दरबार मर्मतसम्भार गर्न छोड्ेका छन्। सरकारी निकायको उचित संरक्षण र संवद्र्धनको अभावमा ऐतिहासिक युद्वकिल्ला र वीर गाथा बोकेको स्थान सिन्धुलीगढीको यसरी अस्तित्व मेटिने अवस्थामा पुग्न लागेको हो।

ऐतिहासिक स्थलको संरक्षणमा कुनै पनि सरकारी निकायको चासो नजानु दुःखद भएको स्थानीय बताउँछन्। विक्रम संवत् १८२४ मा इस्ट इन्डिया कम्पनीका कप्तान किनलकको नेतृत्वमा आएको २४ सय अंग्रेजी फौजलाई तत्कालीन गोर्खाली फौजले सिन्धुलीगढीमा नराम्रोसँग पराजित गरेका थिए। अंग्रेजसँग युद्ध गरेर विजय प्राप्त गरेको यकिन तिथिमिति पत्ता नलागे पनि विक्रम संवत् १८२४ असोज⁄कात्तिकमा हुन सक्ने विभिन्न इतिहासले जनाएको जानकार सागरकुमार ढकालले बताउनुभयो।

लडाइँमा झन्डै १ हजार ६ सय अंग्रेज सेना हताहत भएको बताइन्छ। सिन्धुलीगढीको युद्धमा गोर्खालीले घरेलु हतियार खुकरी खुर्पा, लठ्ठी गुलेलीका अतिरित्त अरिंगाल, बारुला बिच्काएर र ढुंगा खसालेर अंग्रेज फौजलाई भगाएका इतिहासका जानकारहरू बताउँछन्। युद्धका क्रममा सिस्नो र अल्लोले समेत अंग्रेजलाई साथ नदिएको बताइन्छ। सिन्धुलीगढीको युद्वमा धेरैजसो अंग्रेजहरूको अरिंगाल र बारुलाले चिल्दा भीरबाट खसेर ज्यान गुमाएको इतिहासका जानकारहरू बताउँछन्।

ऐतिहासिक महत्त्व बोकेको सिन्धुलीगढीलाई पुरानै संरचनामा पुनर्निर्माण गर्न सकिए नेपालको महत्त्वपूर्ण पर्यटकीय स्थल बन्न सक्ने थियो। सिन्धुलीगढी प्राकृतिक रूपमा सुन्दर छ र ऐतिहासिक गाथाहरूबाट उत्तिकै वैभवशाली छ। सिन्धुली गढीको युद्ध गोर्खालीका लागि जीवनमरणको युद्ध थियो र ऐतिहासिक महत्त्व बोकेको सिन्धुलीको विकासको मेरुदण्डका रूपमा रहेको ऐतिहासिक सिन्धुलीगढी जो नेपाल राष्ट्रसँग जोडिएको एउटा गौरवशाली धरोहरको संरक्षणको खाँचो देखिएको छ।

प्रतिक्रिया दिनुहोस्