गोपाल मरासिनी
गुल्मी जिल्ला अर्खले घर भएका हरि पोख्रेल (नाम परिवर्तन)ले घरको आर्थिक अवस्थाका कारण गाउँकै एकजना दलालको माध्यमबाट भिसा लगाए। दुई महिनाको अवधिमा तीनजना दलालको माध्यमबाट काठमाडौंको म्यानपावरमा पासपोर्ट पुग्यो। लाखौं खर्च गरेर सरकारले निःशुल्क भिसा र टिकटको विज्ञापन गरिरहँदा उनलाई भने डेढ लाखको झड्का लाग्यो। उनलाई यति खर्च गरेपछि विदेशिन बाध्यता आइलाग्यो। यो त एक प्रतिनिधि घटना मात्र हो। जो काठमाडौंमा वैदेशिक यात्राका लागि झोला बोकेर आउने युवाहरू छन्, ऋण–धन गरेर दशौंपटक काठमाडौं धाउँदा उनीहरूको हजारौं रुपियाँ खर्च भैसकेको हुन्छ।
घरको आर्थिक अवस्था कमजोर भएर होस् या रोजगारको अभावमा देशका सजीवन मानिने युवाहरू कामको सिलसिलामा विदेशी भूमितर्फ आकर्षित भइरहेका छन्। युवाहरू आर्थिक अवस्था कमजोर भएर रोजगारका गन्तव्य मुलुकहरूमा लाखौं रुपियाँ बुझाएर वैदेशिक यात्रामा हानिएका छन्। गाउँमा रोजगारका अवसरको अभाव भएपछि युवाहरू दलालको माध्यमबाट म्यानपावर व्यवसायीको हातसम्म आउने गर्छन्। गाउँमा भएको एजेन्टमार्फत म्यानपावरको एजेन्ट हुँदै म्यानपावरसम्म आइपुग्दा तीनजना व्यक्तिमार्फत आइपुग्ने गर्छन्। एक त आर्थिक अवस्था कमजोर भएका युवाहरू वैदेशिक रोजगारीमा जाँदा लाखौं रुपियाँ दलालको मुखमा खुवाएर मात्र रोजगारीको लागि गन्तव्य मुलुक पुग्नुपर्ने बाध्यता छ। यसरी ठगिने युवाहरूको बारेमा न त सरोकारवाला निकायको ध्यान जान सकेको छ, न राज्यको ? यसरी ठगिने युवाहरूको गुनासो वैदेशिक रोजगार विभागमा चाङ नै लागेको छ। वैदेशिक रोजगार विभागका कर्मचारी र म्यानपावर व्यवसायीको मिलेमतोका कारण वैदेशिक रोजगारबाट फर्किएका युवाहरूको कुनै गुनासो सम्बोधन हुन सकेको छैन।
वैदेशिक रोजगारमा जाने युवाहरू ठगिएकोमा म्यानपावर व्यवसायी र सरोकारवाला निकाय पनि सहमत छन्। दलालीको लोभलालचमा गाउँको खेतबारी साहुँसँग बन्धकी राखेर विदेशिने युवाहरूको विषयमा सेमिनार र गोष्ठीमा बाहेक कुनै सम्बोधन हुन सकेको छैन। केही समयपहिले सरकारले वैदेशिक रोजगारमा जाने युवाहरू ठगिएको भन्दै रोजगारदाता कम्पनीले निःशुल्क भिसा र टिकट उपलब्ध गराउने निर्णय गरेको भए पनि कानुनतः पालना भएको देखिँदैन। वैदेशिक रोजगारमा जाने युवाहरूलाई सरकारले तोकेको आधारमा लेनदेनको रसिद दिने र तेब्बर रकम असुल्ने कुनै नौलो घटना होइन। अध्यागमन विभागमा भने सबै कुराको कोरा ज्ञान दिएर सेटिङको आधारमा विदेशिँदै आएका छन्।
म्यानपावर कम्पनीले ५० हजारको रसिद थमाएर २ लाखसम्म असुल गरेर न्यूनतम रकम बुझाएको बताउन लगाउने मात्र होइन, मेडिकलमा समेत हजारौं रकम असुल्ने गर्छन्। यसले एकातर्फ लाखौं रुपियाँ ठगिनुपर्ने बाध्यता छ भने अर्कोतर्फ रोजगारीका लागि जाने मुलुकमा बगाएको पसिना त्यहीँ साहुको ऋण तिरेर फर्कनुपर्ने बाध्यता छन्। च्याउसरि खुलेका म्यानपावर कम्पनीहरूले पनि राम्रो रोजगारी गन्तव्य भएको र राम्रो तलवको लोभ देखाएर ठग्ने गरेका छन्। कमजोर कानुन र सरोकारवाला निकायको बेवास्ताका कारण खुलेआम ठग्ने गरेका हुन्। सरकारले अनुगमनको बहानामा एक–दुईवटा म्यानपार व्यवसायमा छापा हानेको भए पनि ढ्याङरो हानेर हात्ती तर्साउनेसिबाय केही भएको छैन।
वैदेशिक रोजगारमा जाने युवाहरू आफ्नो देशमा मात्र ठगिएका छैनन्, गन्तव्य मुलुकमा पुगेपछि झन् ठूलो समस्या झेल्नुपरेको छ। रोजगारदाता कम्पनीले लामो समयसम्म काम लगाउने मात्र होइन नेपालमा भनेअनुसारको तलब, सेवा–सुविधासमेत दिने गरेका छैनन्। वैदेशिक रोजगारमा जाने युवाहरूलाई उचित ज्ञानको अभाव, जान लाग्ने लागतको बारेमा अनभिज्ञ, अज्ञानतावश दलालमार्फत वैदेशिक रोजगारमा जानुजस्ता कारणले युवाहरूले ठगिनुपरेको हो। न्यून तलब, गाह्रो काम र असुरक्षाका कारण वर्षौंसम्म पनि साहुको ऋण तिर्न नसक्दा आत्महत्या गर्नसमेत बाध्य भएका छन् केही युवाहरू।
रोजगारको सिलसिलामा विदेशिने युवाहरूले आफूले गर्ने काम र आफूमा भएको सीपलाई नजरअन्दाज गरेर मात्र विदेशिनु आवश्यक छ। कामअनुसारको तलब र सेवा–सुविधाको बारेमा आधिकारिकरुपमा बुझेर मात्र विदेशिनुपर्छ। सचेत हुने हो भने वैदेशिक रोजगारमा जाँदा भनेअनुसारको काम पाउने मात्र होइन ठगिनुपर्ने झन्झटबाट पनि मुक्ति पाउन सकिन्छ।
सरकार र सरोकारवाला निकायले पनि गहनरुपमा अध्ययन गरेर मात्र वैदेशिक रोजगारीका लागि सम्बन्धित निकायलाई स्वीकृति दिनु आवश्यक छ। गलत प्रक्रियाबाट वैदेशिक रोजगारमा पठाउने र चर्को शुल्क असुल्ने म्यानपावर व्यवसारीलाई कानुनी प्रक्रियाबाट कार्वाही गर्नु आवश्यक देखिन्छ। सरकारले समय–समयमा अनुगमन गर्ने र अहिलेसम्म बढी ठगी गरेका म्यानपावर व्यवसायीहरूको खारेजी प्रक्रिया अगाडि बढाउने हो भने पनि केही हदसम्म युवाहरूले व्यवसायीबाट ठगिनुपर्ने थिएन। अन्यथा वैदेशिक रोजगारीमा पठाउने म्यानपावर व्यवसायीका कारण युवाहरू दिनानुदिन ठगिने मात्र होइन, राज्यको लागि डरलाग्दो क्यान्सरसिबाय केही हुनेछैन।
प्रतिक्रिया