नेपाली खेलाडीको चुनौती समाप्त

0
Shares

काठमाडौं, (नेस)
नेपाल आईटीएफ जुनियर यू–१८ टेनिस च्याम्पियनसिपअन्तर्गत सर्किट–२ मा नेपाली खेलाडीको चुनौती दोस्रो चरणसम्म मात्रै बनेको छ। बुधबार सातदोबाटोस्थित टेनिस कोर्टमा प्रेरणा कोइराला, माहिका राणा र संरक्षकभूषण वज्राचार्यले हार बेहोरेपछि नेपालको चुनौती समाप्त भयो। सर्किट–२ मा ९ पुरुष र ९ महिलासहित १८ नेपाली खेलाडीले प्रतिस्पर्धा गरेका थिए। जसमा प्रेरणा, माहिका र संरक्षकले मात्रै पहिलो चरण पार गरे। तर डबल्समा भने नेपाली खेलाडी जितविहीन रहे।

यसअघि सम्पन्न सर्किट–१ मा दुई नेपाल खेलाडी मात्र दोस्रो चरणमा पुग्न सफल भएका थिए। मायांका राणा र रेन्जन लामाले पुरुष सिंगल्समा जित हात पार्दै पहिलो चरण पार गरेका थिए। दुवै खेलाडी त्यहाँबाट अगाडि बढ्न सकेनन्। सर्किट–१ मै पुरुष डबल्समा संरक्षकले हङकङका खेलाडीसँग मिलेर पहिलो चरणमा जित हात पार्न सफल भएका थिए।

हिजोको खेलमा प्रेरणा थाइल्यान्डकी पुन्निनकोभापितुक्टेडसँग ६–० र ६–० ले ह्वाइटवास भएकी थिइन्। त्यस्तै माहिकालाई भारतकी भक्ति शाहले ६–३ र ६–२ ले पन्छाइन्। यसै गरी पुरुष सिंगल्समा संरक्षक भारतका पीयूष सुरेन्द्र सलेकरसँग ६–४ र ६–४ ले चुकेका थिए। यद्यपि यो खेलमा संरक्षकले ज्यादै नै राम्रो खेल खेलेका थिए।