हुनै सक्दैन शिक्षक दरवन्दी मिलान


मोतीराम तिमल्सिना, काभ्रेपलाञ्चोक ।

पटक पटकको प्रयासमा पनि शिक्षा कार्यालयले दरवन्दी मिलान गर्न सकेको छैन । विद्यार्थी नभएका विद्यालयमा कार्यरत शिक्षकहरुको मिलानका लागि भएको राजनीतिक असहमति र शिक्षा कार्यालय आफ्नै अब्यवस्थाका कारण दरवन्दी मिलान हुन नसकेको हो ।

शिक्षक दरवन्दी मिलान गर्दा हुन लागेका तीनवटा स्थानीय निर्वाचनलाई असर पर्ने भन्दै प्रमुख जिल्ला अधिकारीलाई दलहरुले समर्थन नदिएको शिक्षा अधिकारी गुरुङ्गले खुलासा गरे । शिक्षा समितिका संयोजक नै प्रमुख जिल्ला अधिकारी शिव सिंखडा हुन् । उनले यस अघि तीन नपाको सिमा विवाद टुङ्गयाउँदा राजनीतिक दलहरुले असहयोग गरेका थिए ।

दरवन्दी मिलानको निर्णयमा पनि विवाद हुन सक्ने भन्दै सिंखडाले तत्कालको परिस्थिती बुझेर मात्रै बैठक बोलाउने आशय ब्यक्त गरेका छन् । पत्रकार सम्मेलनमा शिक्षा अधिकारी डा. दिपेन्द्र गुरुङ्गले शिक्षकहरुको दरवन्दी मिलानमा जिल्ला शिक्षा समितिको बैठक नियमित हुन नसक्दा समस्या भएको बताएका थिए । कहिले शिक्षक नेताहरुले अलमल गरे, कहिले कार्यालयको तर्फबाट समस्या भयो अहिले शिक्षा समितिको बैठक नियमित नबस्दा समस्या भएको गुरुङ्गले बताए ।

पत्रकार सम्मेलनमा शिक्षा समितिमा प्रजिअ र स्थानीय विकास अधिकारी रहेकाले उनिहरुको समय ब्यवस्थापन नहुँदा समस्या परेको गुरुङ्गले बताए । दरवन्दी मिलान भए झण्डै ५ सयको हाराहारीमा काजमा रहेका शिक्षकहरुको समेत मिलान हुने बताए । पटक पटक दरवन्दी मिलानको हौवा दिदै आएका गुरुङ्गले कुनै पनि हालतमा आफुले जिल्लामा भएको शिक्षकहरुको समस्या मिलाउन प्रयास गरेको बताए ।

जिल्लाका दुर्गम क्षेत्रमा विद्यार्थी छन् शिक्षक छैनन सदरमुकाम आसपास शहरी क्षेत्रमा विद्यार्थी छैनन शिक्षक छन् । विद्यालयमा विद्यार्थी नहुँदा पनि शिक्षकहरु कार्यरत रहेको विवरण भरिएको श्रोतले बताएको छ । २०७० सालमा तत्कालिन शिक्षा अधिकारी नारायणप्रसाद भट्टले शुरु गरेको दरवन्दी मिलानको काम अझै हुन सकेको छैन ।

५ सय ८७ सामुदायिक विद्यालयमा रहेका विद्यार्थी र शिक्षकहरुको विवरण तयार गरी पटक पटक शिक्षा समितिको बैठकबाट मिलान गर्ने योजना बनाएको भए पनि असम्भव भएको शिक्षा अधिकारी डा. दिपेन्द्र गुरुङ्गले बताए । शिक्षा अधिकारीले दरवन्दी मिलानमा शिक्षा समिति, राजनीतिक दल, शिक्षक नेताहरु, विद्यालय ब्यवस्थापन समिति, शिक्षकहरु सबै जुट्ने भए सम्भव भएको नत्र कहिले कसलाई देखाएर रोकिने त कहिले कसलाई देखाएर रोकिने रोग बल्झिरहने बताए । पछिल्लो समय शिक्षा समितिको बैठकका कारण दरवन्दी मिलानको निर्णय हुन नसकेको उनले बताए ।