ट्रम्प र चिनियाँ राष्ट्रपतिबीच टेलिफोन वार्ता इरानमा अमेरिका विरुद्ध लाखौंद्वारा प्रदर्शन

0
Shares

वासिंगटन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सि जिनपिङसँगको टेलिफोन वार्ताको दौरान आफूले ‘एक चीन’ नीतिको सम्मान गर्ने सहमति जनाएको शुक्रबार व्हाइट हाउसले जनाएको छ। एक चीन नीतिको कूटनीतिक अर्थ एक मात्र चिनियाँ सरकार रहेको भन्ने बुझिन्छ।

गत डिसेम्बरमा ट्रम्पले ताइवानका राष्ट्रपतिसंग टेलिफोन वार्ता गरेपछि लामो समयदेखिको यो नीतिमा आँच आएको चीन सरकारले जनाएको थियो। गत २० जनवरीमा औपचारिक रूपमा राष्ट्रपतीय कार्यभार सम्हालेयता ट्रम्प र सिबीचको यो पहिलो टेलिफोन वार्ता हो। यसअघि ट्रम्पले द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने लक्ष्यसहित चान्द्रिक नयाँ वर्षको उपलक्ष्यमा चिनियाँ जनतालाई शुभकामना प्रकट गरिएको एउटा पत्र सिलाई पठाएका थिए।

व्हाइट हाउसले सि र ट्रम्पबीच विविध विषयमा निकै सौहार्दपूर्ण वार्ता भएको जनाएको छ। दुवै नेताले एक अर्कालाई आफ्नो देश भ्रमणका लागि आमन्त्रण गर्दै भविष्यमा पनि वार्ता जारी राख्ने प्रतिवद्धता जनाएको बताइएको छ।

सिले पनि आपसी सहयोग र साझेदारीलाई प्राथमिकता दिँदै संयुक्त प्रयासले दुई देशबीचको सम्बन्धलाई इतिहासको नयाँ उचाइमा पुर्याउने बताएको जनाएको छ। यसैबीच शुक्रबार इरानमा सन् १९७९ को इस्लामिक क्रान्तिको वार्षिक दिवसको उपलक्ष्यमा आयोजित र्यालीमा लाखौं इरानीले सहभागिता जनाएका छन्।

इरानी राष्ट्रपति हसन रुहानीले यसलाई अमेरिकाको नयाँ सरकारको धम्कीपूर्ण भाषाको विरोधको संज्ञा दिएका छन्। रुहानी पनि सो र्यालीमा सहभागी भएका थिए। उक्त र्यालीमा अमेरिकाविरुद्ध नाराबाजीसमेत भएको थियो। ट्रम्पको कार्यकारिणी आदेशअन्तर्गत इरानीहरूलाई पनि अमेरिका प्रवेशमा प्रतिबन्ध लगाइएको हो।

प्रतिबन्धविरुद्ध अदालतको आदेश
अमेरिकाको एक अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको मुसलमानहरूको बाहुल्यता रहेका सात देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने निर्णयविरुद्ध फैसला गरेको छ। नवनिर्वाचित राष्ट्रपतिको उक्त विवादास्पद कार्यकारी निर्णयलाई सान फ्रान्सिस्को प्रान्तीय पुनरावेदन अदालतले तत्कालका लागि रोक लगाएको हो।

आफ्नो निर्णयविरुद्ध अदालतको आदेश आएपछि राष्ट्रपति ट्रम्पले ट्विटमा लेखेका छन्, ‘हामी पुनः अदालतमा भेटौला, देशको सुरक्षा अझै पनि खतरामै छ।’ उनको यस भनाइले अब सो मुद्दा सर्वोच्च अदालतमा पुग्ने संकेत गरेको छ।

ट्रम्पले इराक, इरान, लिबिया, सोमालिया, सुडान, सिरिया र यमनका जनतालाई ९० दिनका लागि अमेरिका प्रवेश प्रतिबन्ध लगाउने निर्णय गरेका थिए।
ट्रम्पले गत २७ जनवरी मा आतंककारी गतिविधिलाई नियन्त्रण गर्ने उद्देश्यले मुसलमान बाहुल्य रहेका सात देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय गरेका थिए।

अदालतले भने ट्रम्पले भनेजस्तो ती सात देशहरूबाट आतंकवादीहरूको देशलाई खतरा रहेको भन्ने पर्याप्त प्रमाण नदेखिएको तर्क अघि सारेको छ। अदालतको पछिल्लो निर्णयपछि अदालत लोकप्रिय भएको छ भने ट्रम्प फेरि आलोचनाको पात्र बन्नपुगेका छन्।

इजरायल बस्ती विस्तार अनुचितः ट्रम्प
राष्ट्रपति ट्रम्पले शुक्रबार प्रकाशित इजरायली हेयम पत्रिकासँगको अन्तरवार्तामा प्यालेस्टिनी भूभागमा इजरायली पक्षले विस्तार गर्न लागेको बस्ती ‘शान्तिका लागि उचित नहुने’ बताएका छन्। ट्रम्पको पद बहालीपछि इजरायली बस्ती विस्तारसम्बन्धी प्रत्यक्ष्य प्रतिक्रिया आएको यो पहिलोपटक हो।

हिब्रु भाषामा प्रकाशित हायममा ट्रम्पले विवादास्पद प्यालेस्टिनी भूमिमा इजरायली बस्ती बसाउने कुरा राम्रो नभएको बताएका हुन्। उक्त अवसरमा ट्रम्पले आफूले तेलअभिबमा रहेको अमेरिकी राजदूतावासलाई जेरुसेलममा सार्ने कुराबारे पनि गम्भीर अध्ययन गरिरहेको जनाएका छन् ।

इजरायली प्रधानमन्त्रीको वासिङटन भ्रमणपूर्व उक्त पत्रिकालाई दिएको अन्तरवार्तामा ट्रम्पले यो अभिव्यक्ति दिएका हुन्। अन्तर्र्रािष्ट्रय समुदायले वेस्ट बैंक र पूर्वीजेरुसेलममा बस्ती विस्तार गरिनु गैरकानुनी भएको जनाउँदै यसले प्यालेस्टिनीको शान्तिप्रतिको आशामा तुषारापात भएको जनाउँदै आएको छ।
ट्रम्प र ट्रम्प प्रशासन भने इजरायलद्वारा पछिल्लो समयमा विवादास्पद वेस्ट बैंक र पूर्वी जेरुसेलममा छ हजार घर निर्माण गर्ने योजना सार्वजनिक गर्दा विल्कुल चुपचाप देखिएको थियो।

राष्ट्रपति ट्रम्पले आफू विवादास्पद बस्ती विस्तारका विषयमा साह्रै गम्भीर रूपमा सोचविचार गरिहेको र बस्ती विस्तारसम्बन्धी विवाद समाधान गर्न आफूले पदभार सम्हाल्नुपूर्व नै प्रतिबद्धता जनाएको बताएका छन्। यद्यपि उक्त विवाद समाधान गर्नु सहज नभएको उनको प्रतिक्रिया थियो।

ट्रम्प र घानीबीच टेलिफोन वार्ता
अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पकाबीचमा टेलिफोन वार्ता भएको जनाइएको छ।

उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको अफगान राष्ट्रपतिको कार्यालयले शुक्रबार जनाएको छ। आतंकवादी र अतिवादी विरुद्धको लडाइका विषयमा फोनबार्ता केन्द्रित भएको कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख गरेको छ।

दुई नेताहरूले अफगानिस्तानको सुरक्षा अवस्था, विकासको अवस्था, लगानी र आर्थिक अवस्थाका बारेमा पनि छलफल गरेका थिए ‘उनीहरूले दुई देशको आपसी सहकार्य, दुई पक्षीय स्वार्थ र चुनौतीका विषयमा छलफल गरेका थिए’ वक्तव्यमा उल्लेख गरेको छ।

अफगान राष्ट्रपति घानीले सुरक्षा जिम्मेबारी निर्वाह गर्न कठिन भइरहेको अफगानिस्तानको राष्ट्रिय सुरक्षा फौजलाई आवश्यक सहयोगका बारेमा ट्रम्पलाई जानकारी गराएका थिए।

काबुल र बासिङ्टनको राणनीतिक संवन्धका बारेमा पनि उनीहरू बीच छलफल भएको वक्तव्यमा उल्लेख छ।

टेलिफोन वार्ताका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले घानीलाई चाँडै भेट्न चाहेको बताएका थिए।