रुकुम जिविस आन्दोलनकारीको कब्जामा

0
Shares

धनवीर दाहाल, रुकुम
पालको संविधानमा दुई भागमा विभाजन गरिएएको रुकुम जिल्लामा बेलाबेला बिभिन्न आन्दोलन भइरहेका छन्। कहिले जिल्ला टुक्रिएको विषयमा आन्दोलन हुन्छन् भने कहिले गाउँपालिका धेरै गराउन माग गर्दै आन्दोलन भए। तर यति बेला गाउँपालिकाको केन्द्रको माग गर्दै रुकुम आन्दोलनमय छ।

रुकुममा पुथाउत्तरगंगा गाउँपालिकाको केन्द्र तकसेरामा हुनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका तकसेराबासीले बुधबार बिहान १० बजेदेखि जिल्ला विकास समितिको कार्यालयलाई कब्जामा लिएका छन्। बुधबार बिहान १० बजे प्रदर्शनसँगै जिल्ला विकास समितिको कार्यालय प्रांगणमा प्रवेश गरी धर्नामा बसेका तकसेराबासीले रातभर पनि जिल्ला विकास समितिको कार्यालय छोडेनन्। बिहीबार बिहान कार्यालय समयमा कार्यालय गेटमा पुगेका कर्मचारी र सेवाग्राहीलाई कार्यालय प्रवेश गर्न नदिँदा कार्यालयबाट दैनिक सञ्चालन हुने कामसमेत प्रभावित बनेको छ। यसका साथै उनीहरूले बुधबारदेखि गरेको अनिश्चित्कालीन बन्दका कारण यातायात, कलकारखाना, उद्योगधन्दा, बजार सबै ठप्प रहेका छन्। यातायात सेवा बन्द हुँदा जिल्लाबाट बाहिरिने लामो तथा छोटो दूरीका यातायातका साधानहरू सञ्चालन हुन सकेका छैनन्। माग पूरा नभएसम्म चरणबद्ध रूपमा आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै जाने तकसेरा सरोकार समितिका अध्यक्ष जुद्धबहादुर बुढामगरले बताए।

बुधबार बिहान १० देखि बेलुकी ४ बजेसम्म जिविस र जिल्ला प्राविधिक कार्यालयका १३ कर्मचारीलाई कार्यालयभित्रै राखेर तालाबन्दी गरेका आन्दोलनकारीले तालाबन्दीलाई अहिलेसम्म पनि कायमै राखेका छन्। बेलुकी ४ बजेट जिविसभित्र थुनिएका कर्मचारी छाड्न ताला खोले पनि त्यसपछि फेरि ताला लगाइएको छ। जिविस परिसरका बाहिरी दुई वटा प्रवेशद्वारमा भित्रबाट ताला लगाइएको छ भने भवनको मुख्य प्रवेश द्वारमा बाहिरबाट ताला लगाइएको छ।

आन्दोलनकारीले बुधबारको रात जिविस प्रांगणमै बिताएका छन्। उनीहरूले चिनेको मान्छेबाहेक अरूलाई जिविसभित्र छिर्न दिएका छैनन्। बिहीबार जिविस र जिल्ला प्राविधिक कार्यालयका १ जना कर्मचारी पनि कार्यालयमा पस्न पाएका छैनन्। स्थानीय विकास अधिकारी नरेन्द्रकुमार राना बिहीबार पनि जिल्ला प्रशासनमा छन् भने अन्य कर्मचारी बजारमा घुमिरहेका छन्। स्थानीय विकास अधिकारी रानाले बिहीबार पनि कार्यालय पस्ने वातावरण नपाएपछि जिल्ला प्रशासनमै दिन बिताएका थिए। विभिन्न कामका लागि जिल्ला आएका सेवाग्राही पनि जिविस र जिल्ला प्राविधिक कार्यालय छिर्न नपाएपछि अन्योलमा छन्। गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगले अवैज्ञानिक तरिकाले पुथा–उत्तरगंगा गाउँपालिकाको केन्द्र प्रस्ताव गरेको भन्दै उनीहरू आन्दोलनमा उत्रेका हुन्।

सोमबार बेलुकी तकसेरा, दाङ र काठमाडौंबाट सदरमुकाम पुगेका तकसेराबासी मंगलबारदेखि निरन्तर आन्दोलनमा छन्। आयोगले आफैं बनाएको कार्य सर्त तथा मादण्ड मिचेर अवैज्ञानिक तरिकाले पुथाउत्तरगंगा गाउँपालिकाको केन्द्र अपायक पर्ने ठाउँमा प्रस्ताव गरेको आन्दोलनकारीले बताउँदै आएका छन्। आयोगको कार्य सर्त र मापदण्डअनुसारको ठाउँ र संरचना उक्त गाउँपालिकाको तकसेरामा मात्रै रहेको दाबी आन्दोलनकारीको छ। स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले जिल्लामा क्रियाशील सबै राजनीतिक दलको सहमतिमा जिल्लाका लागि १० वटा स्थानीय तह सिफारिस गरे पनि आयोगले भने ३ नगरपालिका र ६ गाउँपालिकाको प्रस्ताव गरेको छ।