नजिकियो डढेलाको मौसम कसरी जोगाउने वन ?


वन कर्मचारीले वन मुद्दा लगाउँछन् भनी रिसइवी साद्ने निहुँमा पनि वनमा डढेलो लगाउँदारहेछन्

प्रेम खनाल

आगोसँग मानव जीवनको अन्योन्याश्रित सम्बन्ध छ । वैज्ञानिकका अनुसार हावामा रहेको अक्सिजनसँग कुनै पनि पदार्थको रासायनिक तथा भौतिक प्रतिक्रियाबाट आगोको उत्पत्ति हुने गर्छ । आगोको आविष्कारसँगै मानव सभ्यताको शुरुआत भएको थियो । प्यालियोलिथिक युगको होमो इरेक्टसले आगोको आविष्कार गरेको अनुमान छ । त्यसैले यसको इतिहास मानव सभ्यता जत्तिकै पुरानो मानिन्छ ।

खास गरी सभ्यताको उषाकालमा दुई ढुंगाबीचको घर्षणका कारण निस्केको आगोको झिल्काबाट वन क्षेत्रमा डढेलो लाग्दा जंगली जन्तुहरू मरे र तिनका मासुमा पाइएको भिन्न तथा मीठो स्वादका कारण पहिले काँचै मासु खाने मानिस चनाखो भई यसको प्रयोगतर्फ अघि बढ्यो र विकासको बाटो पहिल्याउन सफल भयो । समयको क्रमसँगै प्रभावकारी सदुपयोग गर्न जान्दा यही आगो विकासको ज्यावल बन्यो भने लापरबाही गर्दा विनाशको कारक पनि बन्यो । त्यसैले यस लेखमा वन डढेलोका विविध पक्षहरूमा छोटकरीमा प्रकाश पार्ने जमर्को गरिएको छ ।

सामान्यतया वन जंगलमा लाग्ने गरेको आगोलाई वन डढेलो भन्ने गरिन्छ । विशेष गरी मौसम परिवर्तनसँगै लामो अवधिसम्म देखापरेको खडेरी र सुख्खाका कारण हाल देशका विभिन्न भागमा डढेलोको प्रकोप ह्वात्तै बढेको अवस्था छ । पछिल्लो आँकडाअनुसार देशका विभिन्न भागमा खास गरी २०७३ वैशाख महिनाको पहिलो हप्तासम्ममा करिब ३ दशमलव ५ लाख हेक्टर वन क्षेत्र डढेलोको चपेटामा परिसकेको छ र यो क्रम अझै जारी छ । वन विज्ञहरूका अनुसार, वन जगंलका मुख्य तीन शत्रुहरू हुन्छन् । जसमा वन डढेलो, रोगव्याधी र चोरी फडानीलाई लिने गरिन्छ ।

डढेलो गराउने तत्त्व

वन डढेलो सल्कनुका पछाडि खास गरी तीन वटा तत्त्वको प्राधान्यता रहेको पाइन्छ । जसलाई वन विज्ञानले आगो त्रिभुजको संज्ञा दिएको छ । जसमा प्रथम तत्त्वका रूपमा आगो तथा आगोजन्य वस्तु जस्तैः सलाई, लाइटर र बिजुलीका करेन्ट आदि पर्दछन् । दोस्रो तत्त्वमा ज्वलनशील वस्तु वा जैविक ह्रासोन्मुख सामग्री जस्तैः सुकेका पात पतिंगर, बाँस, वेत, खर खडाईका साथ साथै सुकेका काठ दाउरासमेत पर्दछन् । त्यसै गरी तेस्रो तत्त्वका रूपमा हावाको बहाव तथा अक्सिजनले सम्वाहकको भूमिका निर्वाह गरेको हुन्छ । यी तीन तत्त्वमध्ये एउटा मात्रको कमिका कारण पनि आगो लाग्न सक्दैन ।

डढेलोका कारण

वन क्षेत्रमा आगलागी हुनुका पछाडि केही प्राकृतिक र अधिकांश मानव सिर्जित कारणहरू अन्तरनिहित हुन्छन् । प्राकृतिक कारणहरूमा चट्याङ पर्नु, ज्वालामुखी विस्फोटन हुनु, पृथ्वीको गुरुत्त्वाकर्षण शक्तिका कारण माथिका ढुंगाहरू तलतिर खसेर आपसमा घर्षण पैदा भई आगोको झिल्का पर्नु, भूकम्पका कारण ढुंगाहरू आपसमा ठोकिन पुग्दा निस्केका झिल्काहरू सुकेका पात पति·रमा पर्नु, हावाको गतीका कारण सुकेका बाँसलगायतका ज्वलनशील सामग्री एक–आपसमा ठोकिएर घर्षणबाट आगलागी हुनु आदि पर्दछन् । प्राकृतिक कारणबाट वन क्षेत्रमा करिब ५ प्रतिशत डढेलो लाग्ने गरेको अनुमान रहेको छ ।

मानवजन्य कारणहरूमा विशेष गरी लापरबाहीका कारणले वन क्षेत्रमा आगलागी हुने गरेको पाइएको छ । जसका सम्वाहकमा बाटो हिँड्ने बटुवा, केटाकेटी र गोठालाहरू पर्दछन् । खास गरी बाटो हिँडने बटुवाले वन क्षेत्रमा पानीका मूलनजिक तिनका खाना बनाउँदा आगो ननिभाई हिँड्ने तथा चुरोट बिडी आदि धुम्रपानको सेवन गर्दा जथाभावी फाल्ने प्रवृत्ति देखिएको छ । त्यसै गरी केटाकेटीले सलाई, लाइटर खेलाउने, खेतबारीमा मकैको ढोड र घाँस दाउरा पोल्दा ननिभाई छाड्ने, घरनजिक खरबारीमा आगो सल्काउँदा जगंलतिर आगो प्रसारण भइहाले पनि वास्ता नगर्ने आदि लापरबाहीका स्रोतहरू हुन् ।

त्यसै गरी अर्कातर्फ मानवका भावनात्मक सोचका कारणले पनि वनमा डढेलो लाग्ने गरेको छ । जसमा समाजका नकारात्मक सोचका व्यक्तिहरू पर्ने गर्दछन् । कतिपय अवस्थामा जंगली वनस्पतीजन्य तरकारी जस्तै निउरो, च्याउ, जलुको आदि छिटो उमार्ने सोचले पनि आगो लगाउने गरेको पाइएको छ । कहिलेकाहीं गोठालाहरूले वनमा घाँसका मुना छिटै र धेरै मात्रामा पलाउने भनेर पनि आगो लगाएको भेटिएको छ ।

मह काढ्ने व्यावसायीले पनि आगो प्रयोग गर्दा जगंलमा डढेलो लाग्ने गरेको छ भने चोरी शिकारी वन्यजन्तुलाई पासोमा पारेर मार्नका लागी पनि वन क्षेत्रमा आगो लगाउने गर्दछन्। पश्चिम नेपालका कतिपय ठाउँमा केही प्रजातिका रुखमा डढेलो लगाएमा वर्ष बढी फूल फुल्छ भन्ने सोचका साथ जानी–जानी वनमा डढेलो लगाएको पाइएको छ । जस्तै मौवाका जंगलमा आगलागी भएका वर्ष बढी फूल लाग्दछ र यसबाट बन्ने स्वादिलो रक्सीका लागि यो फूल प्रयोग गर्न पाइन्छ भन्ने सोच पनि देखिन्छ ।

त्यसै गरी भित्री मधेसका जगंलमा गोठालाहरूले अर्चल, जामुन र पेडारका रुखबाट बढी फल प्राप्त गर्ने सोचका साथ पनि आगो लगाउँदारहेछन् । त्यसै गरी वन कर्मचारीले वन मुद्दा लगाउँछन् भनी रिसइवी साद्ने निहुँमा पनि वनमा डढेलो लगाउँदा रहेछन् । कतिपय उपभोक्ताका बीचमा सीमाना विवाद वा अन्य झगडाका कारण पनि वन क्षेत्रमा आगलागी भएको देखिएको छ । मानव निर्मित कारणबाट करिब ९५ प्रतिशत डढेलो लाग्ने गरेको विश्लेषकहरू बताउने गर्दछन् ।

नवीनतम प्रवृत्ति

यो पंक्तिकारले भोगेको र देखेको आधारमा विश्लेषण गर्दा हालका दिनहरूमा वन क्षेत्रमा डढेलो लाग्नुका पछाडि केही नवीनतम प्रवृत्ति देखिएका छन् । जस्तै लागूऔषधका दुव्र्यसनीबाट जंगलमा लुकी–छिपी आगो लाग्ने गरेको, काठ चिरानी गरी अवैध निकासी गर्ने गिरोहले आफ्ना प्रमाण नाश गर्न आगो लगाउने गरेको पनि देखिन्छ । यो प्रक्रिया विषेश गरी तराई, चुरे र महाभारतका वन क्षेत्रमा भेटिएको छ । त्यसै गरी भूू–माफियाको संलग्नतामा आवादी क्षेत्र विस्तार गर्न वा घर आदि बनाउन पनि वन क्षेत्र आगलागीको चपेटामा पार्ने गरेको अनुमान छ ।

कहिलेकहीं वन क्षेत्रको आसपासमा बसोबास गर्ने बासिन्दाले वन्यजन्तुले दुःख दिएको रिसको आवेगमा आएर यी जन्तुलाई भगाउने भन्दै डढेलो लगाएका उदाहरण पनि पाइन्छन्, जस्तै चितुवाले घरपालुवा जनावर खाइदिएको निहुमा यसलाई बासस्थानबाट अन्यत्र खेद्ने भनेर पनि वनमा आगो लगाएको पाइएको छ । त्यस्तै वनमा आगो लगाई जंगली जनावरलाई वन क्षेत्रबाहिर निकाली शिकार गर्ने खतरनाक ट्रेन पनि देखा पर्न थालेको छ ।

त्यतिमात्र नभई कतिपय अवस्थामा त उच्छृङ्खल तत्त्वहरूले आफैंले जंगलमा आगो लगाएर डढेलो लाग्यो भनेर हल्ला पिटी अरूलाई हैरानी दिइै आफूले रमाइलो गर्ने गरेको पनि देखियो । काभ्रेपलाञ्चोक जिल्लाको चौवास क्षेत्रमा रहेको एक सामुदायिक वनमा विगत केही वर्षअगाडि उपभोक्ता वर्गको एक समूहले पाटे सल्लाको वृक्षरोपित वनमा यो प्रजातिको वितृष्णाका कारण चौडापाते वनमा परिणत गर्न खातिर जानी–जानी आगो लगाएको थियो भन्ने केही स्थानीयको भनाइ छ तर यो आधिकारिक पुष्टि हुन भने बाँकी नै छ ।

सकारात्मक पक्ष

वन डढेलोका सबै पक्ष नकारात्मक मात्र छैनन्, केही सकारात्मक पक्षहरू पनि रहेको देखिन्छ । वन विज्ञानको मान्यताअनुसार कतिपय अवस्थामा वन डढेलो जुन नियन्त्रण गर्न सकिने अवस्थामा हुन्छ, त्यतिबेला यो वनस्पतीलाई फाइदाजनक पनि मानिन्छ । अंग्रेजीमा एउटा भनाइ छ– ‘आगो असल नोकर हो तर खराब मालिक हो ।’ विवेकपूर्ण प्रयोग गर्न सक्दा आगो मानवको हितमा छ भने अन्यथा हुन गएमा यसले आफ्नो विनाशकारी स्वरूप देखाउँछ ।

विशेष गरी मौसमअनुसारका वनस्पती उमार्न र घाँसेमैदान तयार गर्ने कार्यमा नियन्त्रित डढेलो फाइदाजनक मानिन्छ । साल प्रजातिका वनमा नियन्त्रणभित्रको आगो पुनःउत्पादनको पक्षमा देखिन्छ । त्यसै गरी काँसघारीको वनमा पनि नियन्त्रित आगलागी लाभप्रद मानिएको छ । कहिलेकाहीं अनावश्यक झाडी सफा गर्न पनि डढेलो लगाउन सकिन्छ । अतः वनविज्ञहरू आगोलाई वन व्यवस्थापन औजारको रूपमा पनि अपनाउ“छन् ।

नकारात्मक पक्ष

वन डढेलोबाट फायदाका तुलनामा बेफाइदा नै बढी हुने अनुमान गर्न सकिन्छ । डढेलोले खाएको वन प्रकृतिको एक वीभत्स उजाड स्वरूप तथा मसानघाट सिवाय अरू केही होइन । यसका नकारात्मक पक्षहरू थुप्रै छन् । जस्तै दुर्लभ वन्यजन्तु, पक्षी, किटपत, वनस्पती एवं अन्य जैविक विविधतामा क्षति, पारिस्थितिक प्रणालीमा ह्रास, वातावरणीय क्षति तथा कार्वन उत्सर्जन, प्राकृतिक सौन्दर्यको विनाश, पानीका मुहानहरू सुक्ने तथा पातालमा धसिने खतरा, मानवीय, आर्थिक एवं सामाजिक क्षति, वन्य जीवको बासस्थानको विनाश, जमिनको उर्वराशक्तिमा ह्रास, जंगलको सुरक्षात्मक शक्तिमा कमी ।

पूर्व सतर्कता

अंग्रेजीमा एउटा भनाइ छ– ‘रोग लाग्नुभन्दा रोग लाग्नै नदिनु बुद्धिमानी हो ।’ हामीले पनि जंगलमा आगो लागेपछि समाधानको उपाय खोज्नुभन्दा लाग्नै नदिने उपाय गर्न सके फलदायी हुन सक्ने देखिन्छ । नेपालमा करिब ६० प्रतिशत डढेलो मानिसले जानी–जानी लगाउने गरेको तथ्य सार्वजनिक भएको छ ।

अतः त्यस्ता अपराधीलाई कानुनको दायरामा ल्याउने वा सामाजिक बहिष्कार गर्नु बुद्धिमानी हुन्छ । यसका लागि वन कार्यालयले जंगल छिर्ने व्यक्तिको दिनैपिच्छे अनुगमन गरी रेकर्ड राख्न सके प्रभावकारी हुने देखिन्छ भने आगलागी भइसकेको अवस्थामा विभिन्न निकायस“ग समन्वय गर्ने, जनशक्ति व्यवस्थापन गर्ने, उपकरण जुटाउने, साधनको व्यवस्था गर्ने, स्थानीय बासिन्दा, गोठाला, शिक्षक, विद्यार्थी, सर्वसाधारण, नागरिक समाज र सुरक्षा निकाय वा नगरपालिकाको सहयोगमा दमकल प्रयोग गर्ने तथा पूर्वसर्तकता अपनाउ“दा प्रचारप्रसार, माइकिङ, पोस्टरिङ, होडिङ बोर्ड, स्कुल शिक्षा आदि विधिको प्रयोग गर्न सकिन्छ ।

नियन्त्रणका उपाय

विकसित देशहरूमा हेलिकोप्टरबाट पानीको फोहरा फाली डढेलो नियन्त्रण गर्ने, कृत्रिम वर्षा गराउने गरिन्छ भने नेपालमा हालका दिनहरूमा विशेष गरी कतिपय संरक्षित क्षेत्रहरूमा स्याटेलाइट प्रविधिको प्रयोगबाट डढेलो लागेको पत्ता लगाएर नियन्त्रण प्रक्रिया अघि बढाउने कार्यको शुभारम्भ भइसकेको देखिन्छ । सबै वन क्षेत्रहरूमा यो प्रविधि प्रयोगमा ल्याउन भौगोलिक विकटताका कारण सम्भव पनि छैन । हालका दिनमा कतिपय सामुदायिक वनमा वन पथ बनाउने र एक ब्लकमा लागेको आगो अन्य क्षेत्रमा सल्कनबाट रोक्ने प्रयास भएको देखिन्छ ।

कतिपय सामुदायिक वनहरूले अग्नि अवलोकन घर पनि बनाई अग्नि नियन्त्रणलाई प्रभावकारी बनाउन थालेको अवस्था पनि छ । त्यसै गरी सुगम र सम्पन्न स्थानमा कतिपय नगरपालिकाले दमकलको प्रयोग गरी आगो निभाउने गरेका छन् । कतिपय अवस्थामा काउन्टर फायरिङ विधिबाट पनि आगो नियन्त्रणमा लिन सकिने हुन्छ । विगत केही दिनअघि चितवन राष्ट्रिय निकुञ्जमा लागेको डढेलो यो विधिबाट नियन्त्रणमा लिएको भनी पत्रपत्रिकामा समाचार सम्प्रेषण भएको थियो । यो पंक्तिकारको अनुभवमा काभ्रेपलाञ्चोक जिल्लाको चौवास इलाका वन कार्यालयको क्षेत्र सल्लेभुग्लु गाविसमा पर्ने पालेको सामुदायिक वनमा गत हप्ता लागेको डढेलो निभाउन पनि काउन्टर फायरिङ विधि प्रयोगमा ल्याइएको थियो ।

कानुनी प्रावधान

वन क्षेत्रमा आगलागी गराउने कार्यलाई वन ऐन २०४९ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले फौजदारी अभियोगको रूपमा जघन्य अपराधको सूचीमा राखेको छ । वन ऐन २०४९ अनुसार राष्ट्रिय वनमा डढेलो लगाउने अपराधीलाई हानी नोक्सानीको विगो असुल गरी १० हजार रुपिया“सम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ भने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले कसुरको मात्रा हेरी १० हजार रुपियाँसम्म जरिवाना वा २ वर्षसम्म कैद वा दुवै सजाय प्रावधान राखेको पाइन्छ । सामुदायिक वनका हकमा भने तिनका विधान र कार्ययोजनामा व्यवस्था भएबमोजिम हुने भन्ने छ । उपभोक्ताले चाहेमा जिल्ला वनमार्फत् पनि कारबाही गर्न कुनै बाधा देखिँदैन ।

जोखिमको प्रक्षेपण

डढेलो निभाउने कार्य निकै जोखिमपूर्ण छ । कतिपय अवस्थामा कामदारको ज्यानै जान सक्ने सम्भावनालाई नकार्न सकि“दैन । नेपालकै विगतका कतिपय घटनामा वन डढेलोले धेरैको ज्यानै लिएको देखिन्छ । यस वर्ष पनि करिव १० जनाको आगलागीकै कारण ज्यान गएको समाचार सार्वजनिक भइसकेको छ । विशेष गरी निभाउन जाने कामदारहरूले हावाको बहावको ख्याल राख्नुपर्छ । फेरि छिन–छिनमै हावा जताबाट पनि बहने भएकाले यो कार्यमा बढी ध्यान पु¥याउन सक्नुपर्छ ।

आगो निभाउँदा शरीरमा पानीको कमी हुनसक्ने भएकाले पानीको तुमलेट साथमा राख्ने, चोट पटकबाट बच्न सतर्कता अपनाउने तथा टाउकोमा हेलमेटको प्रयोग गर्ने, आगो निभाउन जाँदा नाइलन जस्ता आगोले तुरुन्त टिप्ने कपडा कदापि नलगाउने र प्राथमिक स्वास्थ्य उपचारका सामग्री भएको उपचार सामग्री बाकस साथमा राख्ने आदि काम गर्नुपर्ने हुन्छ । आगो निभाउ“दा माथिल्लो भागबाट नभई सधैं तलबाट मात्र निभाउनुपर्छ किनकि आगोको प्राकृतिक स्वभाव उकालो उक्लने हुन्छ ।

सुझाव तथा निष्कर्ष

वर्षेनि वन डढेलोका कारण हाम्रा अथाह राष्ट्रिय सम्पत्तिको विनाश हुने गरेको छ । नेपालमा प्रायः फागुनदेखि जेष्ठसम्म वन डढेलो लाग्ने गरेको पाइन्छ । डढेलोका कारण मरेका वन्यजन्तु तथा चराचुरुंगी र वनस्पतीको आँकलन अहिलेसम्म सम्बन्धित पक्षले प्रभावकारीका रूपमा गर्न नसक्नु विडम्बनाको विषय हो । यसतर्फ ध्यान पु¥याउनु जरुरी छ ।

डढेलो निभाउन जाँदा चोट पटक लाग्ने तथा मरेका व्यक्तिलाई क्षतिपूर्तिको व्यवस्था ऐन कानुनले गरेको पाइएन । अतः तुरुन्त समावेश गरी संहारकर्ताको मनोबल उच्च राख्नु जरुरी देखिएको छ । वन क्षेत्र निर्वाधरूपमा सबैको सार्वजनिक सरोकारको विषय हो । राजादेखि रंकसम्म सबैका लागि वन उत्ति नै आवश्यक छ । वन रहे जीवन रहन्छ, यो नरहे जीवनको समाप्ती अवस्यम्भावी छ । साधन स्रोत र डढेलो निभाउने कार्यमा तालिम प्राप्त जनशक्तिको कमी रहेको वन कार्यालयको एकल प्रयासबाट मात्र यसको नियन्त्रण सम्भव छैन ।

नेपालको यस वर्षको डढेलो इतिहासमा नै सबैभन्दा बढी विनाशकारी भएको नासाको रेकर्डबाट पनि देखिएको छ । पानीका मूलहरू सुकेर वन्यजन्तु काकाकुल भन्नेजस्ता डरलाग्दा समाचारहरू मिडियामा आइसकेको अवस्था छ । जंगलबाट सल्केर गएको डढेलोले गाउँका गाउँ आगलागीको चपेटामा परेर सखाप भएका घटना पनि देखिएका छन् । अतः डढेलो नियन्त्रणतर्फ समयमा नै सबै सरोकारवाला पक्षको ध्यान पुग्नुपर्ने र हानी नोक्सानीबाट हुने भावी भयावह अवस्थाबाट जोगिन पूर्वसतर्कता अपनाउनुपर्ने आजको प्रमुख आवश्यकता हो ।

(लेखक जिल्ला वन कार्यालय काभ्रेका प्रमुख हुन् ।)