३१ लाखको अवैध सुनचाँदीसहित पक्राउ


हेटौंडा,(नेस) । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले भारतको हावडा सिण्डीग्राम पञ्चायत उदय नारायणपुर घर भई हेटौंडा–१३ स्थित कृष्णकला बर्तौलाको घरमा डेरा गरी बस्नेले अवैधढंगले सुन ल्याएर गरगहना बनाउँदै बिक्री गरिरहेको अवस्थामा पक्राउ गरेको छ । प्रहरीले ३३ वर्षका सुशील दास र सोही ठाउँ बस्ने वर्ष २५ का पौसी मसान्तलाई सोमबार राति करिब ७ बजे नियन्त्रणमा लिएको हो ।

उनीहरुको कोठामा खानतलासी गर्दा करिब २४ लाख ३७ हजार रुपियाँ मूल्य पर्ने सुनका टुक्रा ५ सय ५ ग्रामसहित पक्राउ गरी आवश्यक कारबाहीका लागि उनीहरुलाई राजस्व अनुसन्धान विभागको मध्यमाञ्चल क्षेत्रीय कार्यालय पथलैया, बारामा बुझाइएको हो ।

सोही दिन राति करिब १०ः३० बजे इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले हेटौंडा–१७,रातोमाटेमा बस चेक गर्ने क्रममा यात्री पर्साको उदयपुर घुर्मी–२ बस्ने वर्ष २३ का सञ्जितकुमार सर्राफले भन्सार छली ल्याएको करिब २ लाख ६५ हजार मूल्य बराबरको ८ किलो ३ सय ग्राम चाँदी र करिब ४ लाख २२ हजार मूल्य पर्ने १२४.४० ग्राम सुन गरी ६ लाख ८७ हजार ७ सय ७६ रुपियाँ बराबरका सुनचाँदीसहित पक्राउ गरी आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग मध्यमाञ्चल क्षेत्रीय कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले बताएको छ ।

प्रहरी चेकपोष्टमा बीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना. ५ ख ६२१६ नम्बर बसका उनीहरु यात्री थिए ।