महिनौँ पछि महोत्तरीमा औषधि आयो


गौशाला, २४ माघ । महिनौँदेखि औषधि अभाव रहेको महोत्तरी जिल्लामा औषधि आएको छ ।

जिल्ला स्वास्थ्य प्रमुख डा मनिष पाण्डेका अनुसार महोत्तरी जिल्लाको जिल्ला अस्पतालसहित विभिन्न अस्पताल, स्वास्थ्यचौकी, उपस्वास्थ्यचौकी र स्वास्थ्य केन्द्रका लागि रु १८ लाखभन्दा बढीको औषधि आएको छ ।

डा पाण्डेले प्राप्त औषधिले अब जिल्लाको विभिन्न स्वास्थ्य संस्थालाई आउँदो तीन महिनासम्म पुग्ने तथा थप औषधि आपूर्तिका लागि आफूहरु पुनः प्रयासरत रहेको र चाँडै आउने बताउनुभयो । जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा पाँच महिनादेखि औषधिको अभाव रहेको थियोे ।

साथै प्राप्त औषधिहरु माघको अन्तिमसम्म जिल्लाको प्रत्येक स्वास्थ्य संस्थामा पुगिसक्ने र सेवाग्राहीले अब थप समस्या झेल्नु नपर्ने डा पाण्डेले बताउनुभयो । रासस