‘स्ववियु चुनाव हुन्छ, जसरी पनि हुन्छ’


फागुन १४ गते नै चुनाव हुन्छ त ?

हुन्छ, किन नहुने सबै विद्यार्थी संगठन राजी भइसकेका छन्, हामीले सम्पूर्ण कार्यक्रम सार्वजनिक गरिसकेका छौं। नहुने भन्ने सावाल नै हुँदैन। त्रिविले सबै क्याम्पस प्रमुखलाई पत्राचार गरी सबै प्रक्रिया अघि बढाउन निर्देशन दिइसकेको छ। ८ वर्षपछि हुनलागेको निर्वाचन कसैले पनि बिगार्नु हुँदैन। सबै विद्यार्थी संगठनले सहमति गरेर निर्वाचन प्रक्रिया थालेका छौं। अब भने हुन्छ हुनैपर्छ।

त्यसो त नेविसंघका एक पक्षले केही क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् नि! तालाबन्दी गर्दा निर्वाचन हुन्छ त ?

नेविसंघका अध्यक्ष नैनसिंह महरले भनिसक्नुभएको छ। निर्वाचनको विकल्प छैन। हामी तयारीमा छौं। केही साथीहरूले लगाएको तालाबन्दी खुल्छ भनेर। हामी आशावादी छौं। नेविसंघ जस्तो जिम्मेवार संगठनले निर्वाचन भाड्छ होला भन्ने हामीलाई लागेको छैन। उहाहरूसँग पटक–पटक बैठक बसेर नै निर्वाचनको मिति तय गरेका हौं।

नेविसंघमा देखिएको विवाद आन्तरिक होला तर निर्वाचन गर्न नदिने काम कुनै पनि संगठनले गर्नुहुँदैन। हामीले निर्वाचन घोषणा गर्नुअघि तीन ठूला दलका अध्यक्षसँग भेट गरी निर्वाचनको विषयमा सोधेका थियौं। सबैले एकै स्वरमा निर्वाचन गर्नुपर्छ भन्नुभएको थियो। नेविसंघले केही क्याम्पस प्रमुखको कार्यकक्षमा लगाएको तालाबन्दीको विषयमा पार्टीले नै निर्वाचनमा जानुपर्छ तालाखोल्नूस् भनिसकेको छ अरे! त्यसैले हामी भन्दौ सबै विद्यार्थी संगठन तयार भइसकेका छन् तोकिएकै मितिमा निर्वाचन हुन्छ। तयारी कस्तो छ ?

सबै तयारी पू्रा गरेका छौं। १ गतेबाट चुनावी प्रक्रिया शुरु हुनेछ। मतदाताको नामावली सार्वजनिक गरेपछि थप प्रक्रिया अघि बढ्नेछ। फागुन १ गतेदेखि नै चुनावी माहोल तात्नेछ। कहाँ स्थगित भयो वा भएन भन्ने सामान्य जानकारी हुनेछ। हामीले सबै क्याम्पस प्रमुखलाई निर्देशन दिइसकेका छौं। जुनसुकै हालतमा निर्वाचन हुनैपर्छ। कुनै पनि बहानामा रोक्न पाइँदैन। यदि अब पनि निर्वाचन रोकिए क्याम्पसमा विद्यार्थीको अस्तित्व नै संकटमा पर्न सक्छ। सबै वातावरण बनिसकेको अवस्थामा निर्वाचन रोक्नुहुँदैन। हामीले सम्पूर्ण प्रक्रिया थालिसकेका छौं। दैनिकजसो बैठक बसेर निर्वाचनकै विषयमा छलफल गर्न थालेका छांै। विद्यार्थी संगठन मात्रै होइन हामीसमेत निर्वाचनमा होमिइसकेका छौं।

केही विद्यार्थीले संगठनले पूर्ण समानुपातिक हुनुपर्छ भन्दै ज्ञापनपत्र दिएर निर्वाचन गर्न नदिने भनेका
छन् नि ?

हो १० वटा साना विद्यार्थी संगठनले केही दिनअघि ज्ञापनपत्र दिएका छन्। उहाँहरूले पूर्ण समानुपातिक निर्वाचन चाहियो भन्दै ज्ञापनपत्र दिएका छन्। सबै विद्यार्थी संगठनले भनेजति माग पूरा गर्न सकिँदैन। चाहेको जति अधिकार दिन सकिँदैन। सबै संगठनको छलफल गरेर निर्वाचनको मिति तय गरेका हांै। तीन दलको सिन्डिकेट हुन दिँदैनौं भनेका छन् उनीहरूले। हामीले त सबैको सहमतिमै निर्वाचनको तालिका घोषणा गरेका छौं। केही दलको भ्रातृ संठनले विरोध गर्दैमा निर्वाचन रोकिँदैन।

आचार संहिता त सार्वजनिक भइसकेको छ ? पालना हुन्छ।

किन हुँदैन। विद्यार्थी संगठनकै सहमतिमा जारी भएको आचार संहिता पालना नगरे कारबाही गर्नेछौं। निर्वाचनको तालिका सार्वजनिक गर्नुअघि नै केही विद्यार्थी संगठनले भित्तेलेखन गरेका थिए। त्यसपछि अहिले छैन। हामीले विद्यार्थीलाई विशेष अनुरोध गरेका छौं। आचार संहिता पूर्णरूपमा पालना गर्नूस् भनेर। यदि आचार संहिता पालना नभए कारबाही गर्नेछौं। हामीलाई आशा छ। विद्यार्थी संगठनले पूर्णरूपमा आचार संहिता पालना गर्नेछन्।

यदि फागुन १४ गतेको निर्वाचन रोकिए कहिले हुन्छ ?

अहिलेद नै रोक्ने र रोकिने भन्ने विषय कल्पना नगरौं। हामीले रोक्ने होइन, यदि विद्यार्थी संगठन आफैंले रोकेछन् भने २०७४ फागुनमा। केहीले फेरि भर्ना खोल्नुप¥यो भन्दै आन्दोलनको धम्की दिएका छन्। केहीले उमेरहद लगाउनुभएन भन्दै विरोध जनाएका छन्। तर, सबै एकैठाउँमा आएर निर्वाचन गर्नुको विकल्प छैन। उमेरहद २८ वर्षे गर्न नहुने भन्दै सर्वोच्चमा मुद्दा परेको थियो। निषेधाज्ञा भएन। कारण देखाऊ आदेश दियो। कारण देखाऊ आदेशले नै चुनाव सार्नुपर्दैन। हामीले कारण खुलाउँछांै। अदालतले निर्वाचन गर्ने बाटो खुला गर्नेछ। अब त्रिवि र सबै विद्यार्थी संगठन अघि बढिसके चुना रोक्नुहुँदैन र रोकिँदैन पनि।

ज्ञापनपत्र दिनेसँग वार्ता गर्नुपर्दैन त ?

गर्नुपर्छ। तयार गर्दै छौं। नेविसंघको एक पक्षले गरेको तालाबन्दीको असर कतिको परेको छ भनेर अध्यन गरिरहेका छौं। १० संगठनले दिएको ज्ञापनपत्रको विषयमा आज सोमबार छलफल गर्दै छांै। उनीहरू पनि सहमतिमा आउनेछन्। नेविसंघको हकमा पार्टीले नै चुनावमा जानू भनिसकेको विषयमा उनीहरूसँग त्रिविले वार्ता गर्नु जरुरी छैन। संगठनभित्रै छलफल गरी निर्णय गर्नेछन्। भोलि मंगलबार ६० वटा आंगिक क्याम्पसका प्रमुखसँग छलफल राखेका छौं। उहाँहरूको धारणा सुने पनि नयाँ निर्णय दिनेछौं। हामी अहिले आंगिक क्याम्पसमा जसरी पनि चुनाव हुनुपर्छ भनेर लागेका छांै। गएको निर्वाचनमा ३ सय ५२ वटा आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन भएको थियो। यो वर्ष सम्बन्धन प्राप्त १ हजार ८४ र आंगिक ६० वटामै निर्वाचन गर्ने तयारीमा छौं।

प्रस्तुति: ईश्वरराज ढकाल