कृषकलाई निल्नु न ओकेल्नु २० हजार किलो चिराइतो घरमै थन्कियो


हिमनाथ देवकोटा, रसुवा
रसुवाको स्याफ्रु–३ ठूलोस्याफ्रुका नाक्यु दोर्जे तामाङ व्यावसायिक चिराइतो खेतीमा लाग्नुभएको ५ वर्ष भयो।

चिराइतो खेतीमा राम्रो आम्दानी हुने देखेर ३७ वर्षका तामाङ आफूले गर्दै आएको चौंरीपालन व्यवसाय अनि कृषि पेसा चटक्कै छोडेर नयाँ व्यवसायमा हात हाल्नुभएको थियो। जिल्लामा चिराइतो खेतीको विस्तारै उत्पादन शुरू हुँदै गइरहेको अवस्थामा पहिलो वर्ष उहाँले सोचेजस्तै आम्दानी पनि लिन सफल हुनुभयो। पहिलो वर्ष राम्रो आम्दानी भएपछि तामाङले दोस्रो वर्षदेखि चिराइतो खेतीलाई अझै विस्तार गर्नुभयो। तर दोस्रो वर्ष सोचेजस्तो भाउ आएन।

उत्पादन भएको पहिलो वर्ष ६ सय ५० मा बिक्री भएको चिराइतो दोस्रो वर्ष ५ सय ५० मा झ¥यो त्यसपछि चिराइतोको भाउ बढेन। तेस्रो वर्ष आइपुग्दा ४ सय ४० मा आयो। अहिले त २ सय ५० रुपियाँ दिन्छु भनेर व्यापारीले फोन गर्ने गरेको तामाङले सुनाउनुभयो। ‘पहिले व्यापारी घरमा नै आएर चिराइतो किन्थे, अहिले त पु¥याउँछु भन्दा पनि राम्रो भाउ नै दिँदैनन्’ –तामाङले दुखेसो पोख्नुभयो। कात्तिक महिनामा उखेलेको चिराइतोले बजार नपाएपछि तामाङले घरमा नै थन्काएर राख्नुभएको छ।

निरन्तर तीन वर्षदेखि चिराइतोको भाउ ओरालो लाग्न थालेपछि तामाङ मात्र होइन चिराइतोलाई आफ्नो मुख्य पेसा बनाएका जिल्लाका ३ सयभन्दा बढी कृषक चिन्तामा डुबेका छन्। अघिल्लो वर्ष जसोतसो प्रतिकिलो ४ सय रुपियाँमा चितवनका व्यापारीलाई चिराइतो बेच्नुभएका राम्चेका उर्पा थोक्रा तामाङलाई पनि अब के गर्ने भन्ने चिन्ताले सताउन थालेको छ। १२ वर्षदेखि चिराइतो खेतीमा लाग्नुभएका तामाङ नयाँ चिराइतो गोड्ने बेला भइसक्दा पनि अघिल्लो वर्ष उत्पादन भएको चिराइतो बिक्री नहुँदा चिन्तित हुनुहुन्छ।

उहाँले पनि गत वर्ष उत्पादन भएको ६ सय किलो चिराइतो घरमा नैै राख्नुभएको छ। चिराइतो बिक्रीका लागि व्यापारी खोज्दाखोज्दै आजित भइसक्नुभएका तामाङ जिजु बराजुले गर्दै आएका कोदो–मकै रोप्नुपर्छ कि क्या हो भनेर सोच्न थाल्नुभएको छ। ‘उत्पादन हुन ३६ महिना लाग्छ, बिक्री हुने समयमा एक जना पनि व्यापारी भेटिँदैनन् यस्तो हो भने चिराइतो खेतीमा लाग्न सकिँदैन’ –तामाङले भन्नुभयो।

यस्तो छ रसुवामा चिराइतो खेती

रसुवाको राम्चे र स्याफ्रु गाविसमा व्यावसायिक रूपमा चिराइतो खेती हुने गरेको छ। जिल्लामा १२ वर्षअघि शुरू भएको चिराइतोको करिब ९ वर्षसम्म बजारको कुनै समस्या थिएन।

तर विगत तीन वर्षदेखि जिल्लामा उत्पादन भएको चिराइतो बिक्री हुन छाडेको छ। बिक्री भइहाले पनि कृषकले मेहनत गरेअनुसारको आम्दानी लिन सकेका छैनन्। यस वर्ष राम्चेमा करिब १० हजार तथा स्यापु्रmुमा पनि करिब १० किलो चिराइतो उत्पादन भएको छ। राम्चेमा अहिले कोदो मकै रोप्न छाडेर २ सय ७२ जना कृषक चिराइतो खेतीमा लागेका छन्। जिल्लामा दुईवटा गाविसका तीन सय ७७ जना कृषकले चिराइतो खेती गरिरहेका जिल्ला कृषि विकास कार्यालय रसुवाले जनाएको छ।

जिल्लामा कृषकले वार्षिक करिब २५ हजार किलो चिराइतो उत्पादन गर्ने गरेका छन्। चिराइतोको बजार विस्तारै घट्दै जाँदा चिराइतो खेती गर्ने कृषक पुुरानै कृषितिर नै फर्कने अवस्थामा पुगेका छन्। रसुवामा उत्पादन भएको चिराइतो यसअघि काठमाडांै, चितवन तथा नेपालगन्जका व्यापारीले लाने गरेका थिए।