बल्ल देखिन थाले हिमाली जटायु


म्याग्दी, १६ माघ । लोपोन्मुख अवस्थामा रहेका हिमाली जटायु (गिद्ध) अहिले म्याग्दीको उच्च हिमाली तथा पहाडी क्षेत्रमा देखिन थालेका छन् ।

म्याग्दीलाई डाइक्लोफेनेकमुक्त जिल्ला घोषणा गरिएपछि अहिले उच्च भेगमा फाट्टफुट्ट रुपमा हिमाली जटायु देखिन थालेको स्थानीयवासीले बताएका छन् ।

हिमाली जटायु विषादीयुक्त आहार, बढ्दो तापक्रमको प्रभाव र वासस्थानको अभावका कारण विश्ववाट नै लोपहुने अवस्थामा रहेका छन् । चिमखोला, मुदी र लुलाङमा हिमाली जटायु देखिएको चिमखोलाका स्थानीयवासी धु्रव पाइजाले जानकारी दिनुभयो ।

लोपोन्मुख जटायु संरक्षण गर्न म्याग्दीलाई पशु उपचारमा प्रयोग गरिने ‘डाइक्लोफेनेक औषधि’मुक्त जिल्ला घोषणासँगै पशुमा सो औषधि प्रयोग र बेचबिखन गर्न प्रतिबन्ध लगाइएपछि एक वर्षको अवधिमा सकारात्मक सङ्केत देखिएको जिल्ला पशुसेवा कार्यालय म्याग्दीका प्राविधिक डिल्लीराम आचार्यले जानकारी दिनुभयो ।

जिल्ला पशुसेवा कार्यालय र नेपाल पक्षी संरक्षण सङ्घ काठमाडौँको प्रयासमा गत साल २५ औँं जिल्लाको रुपमा म्याग्दीलाईे ‘डाइक्लोफेनेक औषधिमुक्त’ जिल्ला घोषणा गरिएको थियो ।

जिल्लाका चिमखोला, दग्नाम, गुर्जा, मुदी, ताकम, लुलाङलगायतका ठाउँमा हिमाली जटायु देखिन थालेको र ती जटायुको संरक्षणका लागि विशेष कार्यक्रमको आवश्यकता भएको सरोकारवालाले बताएका छन् ।

‘जिल्लामा कुन प्रजातिका गिद्ध कति सङ्ख्यामा छन् भन्ने कुराको विस्तृत अध्ययन नभएको र यसको कुनै अभिलेख पनि नरहेको जिल्ला वन कार्यालय म्याग्दीले जनाएको छ । रासस