नेतान्याहुमाथि तेस्रो प्रहरी छानबिन


जेरुसेलम, (एजेन्सी)
इजरायली प्रहरीले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको जेरुसेलमस्थित निवासमा गएर पदीय आचरण विपरीत धनाढ्य समर्थकहरूबाट उपहार लिएको र भ्रष्टाचार गरेको आशंकामा तेस्रोपटक सोधपुछ गरेको स्थानीय सञ्चारमाध्यमले शुक्रबार जनाएका छन्।

प्रहरीले प्रधानमन्त्रीसँग करिब चार घण्टा सोधपुछ गरेको स्थानीय एक रेडियोले जनाएको छ। उक्त रेडियोले नेतन्याहुमाथि प्रहरीले आगामी साताको बीचमा पुनः एकपटक सोधपुछ गर्नसक्ने प्रहरीलाई उद्धृत गर्दै जनाएको छ।

स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार नेतन्याहुले एक इजरायली व्यवसायी र हलिउड चलचित्र निर्माता अर्नोन मिल्चानबाट लाखौं अमेरिकी डलर बराबरको महँगा चुरोट लिने गरेको बताइएपछि यस सम्बन्धमा प्रहरीले छानबिन गरिरहेको छ। मिल्चान आफ्नो पुरानो साथी भएको र साथीबाट उपहार लिनु कुनै अपराध नहुने प्रधानमन्त्री नेतान्याहुले बताउँदै आएका छन्।

मिल्चानले प्रधानमन्त्री पत्नी सारालाई ‘पिंक वाइन’ उपहार लिएको भनी लागेको आरोपमा समेत प्रधानमन्त्रीसँग सोधपुछ भइरहेको छ।

यसबारे प्रधानमन्त्रीले इजरायली संसद्मा स्पष्टीकरणसमेत दिइसकेका छन्। गत बुधबार संसद्मा आफूबारे उठाइएको आशंकाका सम्बन्धमा बोल्दै साथीबाट उपहार लिन सकिने भन्दै आफूले कुनै अपराध नगरेको उनले बताएका थिए।

यस विषयमा विपक्षी राजनीतिक खेमाद्वारा अनावश्यक हल्ला गरेर आफूलाई बदनाम गराउन खोजेको उनले बताउँदै आएका छन्।