शहीदका योगदानको अपमान कहिलेसम्म ?


डिल्लीराम मिश्र
विषयगतरूपमा शहीद भनेको कसैलाई मार्न खोज्ने प्राणी हैन, परन्तु आस्था र विश्वासको खातिर स्वयंले मृत्युवरण गर्न चाहेको मानिस हो। वि.सं. १९९७ मा मारिएका चार जना अमर शहीदहरू यसै कोटीमा पर्छन्। नेपाल प्रजापरिषद्को नेतृत्वमा मारिएकाहरूलाई शहीदको रूपमा स्वीकार गर्न कुनै विवाद नै छैन र यी शहीदहरू सबैका लागि सर्वमान्य, प्रेरक र सर्वप्रिय पनि छन्।

राष्ट्र र आफ्नो स्वाभिमानको हेतु निरङ्कुश राणा शासकहरूका सामु आजीवन कायरताको भिख नमाग्ने नेपाली आमाका वीर सपुतहरू दशरथ चन्द, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा र शुक्रराज शास्त्री नेपाली समाजका आभूषण हुन्। इतिहास निर्माणमा शहीद शब्द महान् हो तर राज्य सञ्चालनका क्रममा नेतृत्व गर्ने वर्गहरूको विवेकहीनता र चरम निजी स्वार्थका कारण आज देशमा परिवर्तन ल्याउने शहीदहरू सधैं उपेक्षित रह“दै आएका छन्।

वि.सं. १८०० मा प्रारम्भ भएको नेपाल एकीकरणको प्रथम कालखण्डदेखि झण्डै चार दशकको कठिन यात्रामा सयौं वीर सपुतहरूले राष्ट्रका खातिर जीवन बलिदान गर्नुपरेको थियो। नेपाल एकीकरण अभियान यात्रामा पृथ्वीनारायण शाहको नेतृत्वमा वि.सं. १८१४ को कीर्तिपुर लडाइ“मा अदम्य साहस र वीरताका प्रतीक काजी कालु पाण्डेजस्ता सपुतले ४४ वर्षको उमेरमा वीरगति प्राप्त गरेका थिए। आज शहीदको सम्झना गर्दा उनी पनि उच्चकोटीका शहीदमा पर्छन्।

गोर्खाली सेनासहित बल्खुको किनारामा कालु पाण्डेले काटिएर ज्यान गुमाउनुप¥यो भने उनीस“गै कयौं देशभक्त योद्धाहरूले ज्यान गुमाएका थिए। त्यस्तै प्रजातन्त्रका खातिर प्रेरणाका स्रोत मानिने लखन थापा र उनका कर्मठ सहयोगीहरू मारिएको पनि आज १४० वर्ष भइसकेको छ।

यसबीच राज्यशक्तिमा धेरै परिवर्तनहरू भए। मुलुक यहा“सम्म आइपुग्दा पनि अदम्य साहस र वीरताका प्रतीक हाम्रा आर्दश शहीदहरूले देखाएको मार्ग त्याग, संर्घष र बलिदानको अलिकति पनि सम्मान हुन सकेको छैन। आज देशमा शहीद भन्ने शब्द उद्योगको रूपमा दिन प्रतिदिन मौलाउ“दै गएको छ, जसबाट वास्तविक योगदान गर्ने शहीदहरूको घोर अपमान भएको छ।

यस क्रममा १९९७ सालको काण्डमा मारिएका शहीदको नाम लि“दा मात्र पनि एकातिर आङ सिरिङ्ग हुन्छ भने अर्कोतर्फ गौरवशाली उत्साह प्राप्त भइरहन्छ, तर देश र जनताको निमित्त प्राणको आहूति दिने तिनै वीर सपुतहरूले देखाएको बाटोमा नेपाली जनताले आत्मगौरवका साथ सुख र सन्तोषको अनुभूतिसमेत गर्न नपाउनु शहीदले गरेको योगदानप्रतिको घोर अपमान हो। शहीदका बारेमा यथेष्ट र स्पष्ट परिभाषा, अवधारणा र मजबुद दृष्टिकोण आउन नसकेको वर्तमान अवस्थामा जसले जसरी परिभाषासित गरे पनि अमर शहीद र शहीद परिवारका सदस्यहरूको सम्मान राष्ट्रले गर्न नसक्नु अर्को विडम्बना हो। त्यसैले यस कालखण्डमा कहिले हुने शहीदको सम्मान र पहिचान ?

नेपाली जनता र राजाबीच सन्तुलित भएर रहेको नेपालको राज्यशक्तिलाई वि.सं. १९०३ को कोतपर्वबाट जहा“निया“ शासनमा प्रवेश गराएर जङ्गबहादुरले देशमा एकतन्त्रीय शासन चलाए। यही बिन्दुबाट नै नेपाली जनताले जहा“निया शासनको विरोधमा प्रजातान्त्रिक आन्दोलन प्रारम्भ गरेका हुन्।

नेपालको इतिहासमा आजसम्म जे–जति पनि लोकतान्त्रिक आन्दोलन, जनसङ्घर्ष र जनक्रान्तिहरू भए ती सबैको जग नेपालका अमर शहीद लखन थापाले वि.सं. १९२७ मा प्रारम्भ गरेको नेतृत्वदायी जनविद्रोह नै हो। जङ्गबहादुरले नेपाल बिगा¥यो, दुनियालाई त्राही त्राही पारिरहेछ, जातपात छुवाछुत झन् चर्काएको छ, जङ्गेलाई हटाई नेपाल आमालाई पापको बोझबाट हल्का पार्नुपर्छ, लौ भाइ हो तयार हौऔं भन्दै १९२७ सालमा राणा शासनविरुद्ध सङ्गठितरूपमा गोर्खामा पहिलोपटक विद्रोहको झण्डा उठाउने क्रान्तिकारी योद्धा लखन थापा नै हुन्। उनले जनविद्रोहलाई गोरखाका गाउ“–गाउ“बाट खुला चुनौती दिएका थिए।

युवक लखन थापा मगर केही युवकहरूलाई साथमा लिई सामुहिकरूपमा खुलेआम जङ्गबहादुरको शासनको विरोध गर्दै गोर्खाका गाउ“–गाउ“मा घुमेका थिए। यो कुरा जङ्गबहादुरलाई कदापि स्वीकार हुनसकेन। फलस्वरूप जङ्गबहादुरकै आदेशानुसार लखन थापासहित उनका सहकर्मीहरूलाई पक्राउ गरियो। यसरी पक्राउ परेका लखन थापालगायत सात जनालाई उनकै आदेशअनुसार गोर्खाको मनकामनामा वि.सं. १९३३ फागुनमा झुन्ड्याएर प्राणदण्ड दिइयो भने अरूलाई सोधपुछ गरी छोडियो। त्यसैले पनि नेपालको प्रजातान्त्रिक जनसंघर्षमा निरङ्कुश शासकको विरोधमा लड्ने वीर सपुत लखन थापा इतिहासकै प्रथम अमर शहीद हुन्।

शहीद दिवसका अवसरमा प्रत्येक वर्ष सम्मान गर्नुपर्ने कोटीका शहीद लखन थापाको पनि १९९७ सालमा मारिएका वीर सपुतहरूको शृङ्खलामा राखेर सरकारले औपचारिकरूपमा शहीद घोषणा गरी सार्वजनिक विदासहित राष्ट्रिय सम्मान गर्नु राष्ट्रको साझा दायित्व हो। गतवर्ष मात्र सरकारले लखन थापालाई नेपालका प्रथम शहीद भनेर घोषणा गरेको छ। बलिदानीपूर्ण इतिहासका अध्येयता राष्ट्रका शहीद भनेको त्यो सपुत हो जसले देश हितको खातिर वा सही आस्था र विश्वासको निमित्त संघर्ष गर्दा सत्ताद्वारा कुनै प्रकारले मारिएको व्यक्ति हुनुपर्दछ।

कुनै कारणबाट सरकार, प्रतिपक्ष र अन्य भिडन्तमा मारिएका जति सबैलाई शहीद भन्ने हो भने वास्तविक शहीदको परिभाषा के ? यसबारेमा पनि प्रश्न उठ्न सक्छ। शहीदको परिभाषा सबैका लागि सर्वप्रिय र सर्वमान्य रूपमा निरूपण गरिएको हुनुपर्दछ, जो कोही पनि आस्थाको आधारमा शहीद भएको हो वा आकस्मिक रूपले मारिएकोमा शहीद बनाइएको हो वा घोषणा गरिएको हो, यसलाई सत्यतथ्यको आधारमा सार्वजनिक गर्नु समाज र राष्ट्रका लागि उत्तम सन्देश हो।