रामकृष्ण चापागाईं, काठमाडौं
निजी क्षेत्रको दूरसञ्चार प्रदायक एनसेलको करका बारेमा अहिले जोडतोडले कुरा उठे पनि यस्तै प्रकृतिको एउटा प्रसंगमा भने अहिले सबैले मौनता साँधेको पाइएको छ।
कुरा गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष तथा व्यापारी डा. उपेन्द्र महतोको हो। मे २००८ सम्म महतोको स्पाइस नेपालमा ४० प्रतिशत शेयर रहेको थियो। महतोको साइप्रसमा रहेको कम्पनी डेल्टो ट्रेडिङ लिमिटेडको नाममा २० प्रतिशत र नेपालमा रहेको कम्पनी सिनर्जी नेपालको नाममा २० प्रतिशत शेयर रहेको थियो। बाँकी ६० प्रतिशत शेयरचाहिँ टेलियासोनेरा नर्वेको वेस्ट इन्डिजमा रहेको रेनोल्डस् होल्डिङ कम्पनीको नाममा रहेको थियो।
उनले २००८ को मे १९ तारेखमा डेल्टो ट्रेडिङमा रहेको २० प्रतिशत शेयर रेनोल्ड्स होल्डिङलाई बेचेको पाइएको छ। शेयर बिक्री सम्झौताको बुँदा नम्बर ३ दशमलव ६ मा महतोको नाममा रहेको डेल्टो ट्रेडिङले लाभ कर तिर्ने कुरा प्रस्ट रूपमा लेखिएको छ। तर, तिरेको प्रमाण कहीं पनि पाइँदैन। डा. महतो नै डेल्टो र सिनर्जी नेपालको प्रमुख व्यक्ति हुन् भनेर शेयर बिक्री सम्झौतामा नै उल्लेख गरिएको छ। महतोले अप्रिल २०१२ मा सिनर्जी नेपालमा रहेको आफ्नो २० प्रतिशत शेयर रसियामा रहेका गैरआवासीय नेपाली निरज गोविन्द श्रेष्ठलाई बेचेका थिए। त्यसको पनि लाभकर तिरेको विवरण कतै पनि पाइँदैन।
डेल्टो ट्रेडिङ र सिनर्जी नेपाल दुवैको शेयर बिक्री गर्दाको लाभकर करिब ६ अर्ब रुपियाँ महतोले राज्यलाई नतिरेको स्रोतले जनाएको छ।
पछिल्लो समयमा लाभकरका अन्य विषयमा कुरा उठे पनि महतोको बारेमा भने कसैले पनि कुरा उठाएको पाइएको छैन। यसो हुनुमा उच्च राजनीतिक नेतृत्वसँगको उनको पहुँचलाई कारण मानिएको छ। महतोले उच्च राजनीतिक नेता र प्रधानमन्त्री पुत्रसँगको साँठगाँठले नै कर छल्न सजिलो भएको स्रोतको भनाइ रहेको छ। महतोको शेयर खरिद गरेका निरज गोविन्द श्रेष्ठले जनवरी २०१६ मा भवानी सिंह श्रेष्ठको नाममा रहेको सिंगापुरस्थित सुनिभेरा क्यापिटल भेन्चरलाई २० प्रतिशत शेयर बिक्री गर्दा लाभकरबापत २ अर्ब ८३ करोड रुपियाँ तिरेका थिए। त्यसै गरी, रेनोल्ड्स होल्डिङले डिसेम्बर २०१५ मा ८० प्रतिशत शेयर मलेसियास्थित आजियाटा नामको कम्पनीलाई बेचेकोमा राज्यले अहिले आजियाटासँग मे ८ २०१६ मा ९ अर्ब ९६ करोड लिइसकेको छ। बाँकी २३ अर्ब तिराउनुपर्ने भन्दै हालै संसद्को सार्वजनिक लेखा समितिले सरकारलाई निर्देशन दिएको थियो।
महतोले डेल्टो ट्रेडिङको शेयर रेनोल्ड्स होल्डिङलाई ६६ लाख अमेरिकी डलरमा बेचेका थिए भने निरज गोविन्द श्रेष्ठलाई सिनर्जी नेपालको शेयर ४ करोड १० लाख अमेरिकी डलरमा बेचेका थिए। लाभकरको बारेमा संसद्को सार्वजनिक लेखा समितिले विभिन्न निकायलाई निर्देशन दिइरहेको भए पनि महतोको सम्बन्धमा मौनता साँधिनुको कारणका सम्बन्धमा जिज्ञासा राख्दा सो समितिका सदस्य तथा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले एनसेलको अहिलेसम्म १२औं पटक किनबेच भइसकेको र शुरूदेखिकै कागजात भेला पारेर अध्ययन गरिने बताउनुभयो। उहाँको भनाइ थियो– ‘राज्यलाई लाभकर नतिर्ने जोकोहीलाई पनि कारबाही गर्नुपर्छ। एक इन्च पनि तलमाथि गर्न दिइँदैन।’
महतोको कम्पनी विक्रेता र एनसेल खरिदकर्ता रेनोल्ड्स होल्डिङ दुवै ट्याक्स हेभनमा रहेका कम्पनी भएको र करको मामलामा उनीहरूलाई यहाँको कानुन नलाग्ने दाबी पनि गरिएको छ। तर, तथ्यले त्यो बोलेको छैन। सरकारले रेनोल्ड्सको लाभकर आजियाटासँग दाबी गरिरहे जस्तै डेल्टो ट्रेडिङको पनि लाभकर डा. महतोसँग उठाउन तत्परता देखाउनुपर्नेमा त्यसो हुन सकिरहेको छैन। नेपालकै सिनर्जी नेपाल पनि विक्रेतामा रहेकाले उसले छुट पाउने भन्ने सवालै नउठ्ने स्रोतले बताएको छ।
महतोले नेपालमा व्यापार गरेर कर छल्न र यहाँ कमाएको रकम सुरक्षित गर्न साइप्रसमा स्थापना गरिएको डेल्टो ट्रेडिङ लिमिटेडलाई एक विक्रेताका रूपमा प्रस्तुत गरेको स्रोतको दाबी रहेको छ। यसै गरी, वेस्ट इन्डिजको नेभिसमा कार्यालय रहेको रेनोल्ड्स होल्डिङलाई खरिदकर्ता देखाइएको छ।
नेपालमा रहेको महतोको कम्पनी सिनर्जी नेपाल र नेपाली नागरिकको रूपमा महतोसमेत सम्झौतामा सेयर विक्रेता समूह उल्लेख गरिएको छ। कर नलाग्ने मुलुकमा आफ्नो कम्पनी दर्ता गराएर चलाउन खप्पिस महतोको नाम यसअघि नै पनामा पेपर्समा पनि आइसकेको छ।
स्रोतले भन्यो– महतोलाई जोगाएर ठूलै चलखेल गरिएको छ। त्यसबाट क–कसले लाभ लिए त्यो विस्तारै खुल्दै जाने भए पनि सार्वजनिक लेखा समितिले त्यसको छानबिन गर्नु जरुरी ठानेको छ।
यसैबीच आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्माले एनसेलको सबै फाइल ठूला करदाता कार्यालयमा रहेको जानकारी दिनुभयो। उहाँले नेपाल समाचारपत्रसँग कुरा गर्दै भन्नुभयो– ‘कानुनअनुसार नै कारबाही अगाडि बढाउने भनेर काम अगाडि बढेको छ।’
SEE ALSO :
![](https://newsofnepal.com/wp-content/uploads/2017/01/DSC_3105-150x150.jpg)
![](https://newsofnepal.com/wp-content/uploads/2017/01/Share-Flow-Corruption-150x150.jpg)
![](https://newsofnepal.com/wp-content/uploads/2017/04/prachanda-150x150.jpg)
![](https://newsofnepal.com/wp-content/uploads/2017/03/photo-2-1-150x150.jpg)
![](https://newsofnepal.com/wp-content/uploads/2017/01/Upendra-Mahato-richest-person-nepal-russia-150x150.jpg)
![](https://newsofnepal.com/wp-content/uploads/2016/12/Upendra--150x150.jpg)
प्रतिक्रिया