अधीनस्थ पश्चिम किनारमा आवास विस्तार गर्ने


जेरुसलम, (एजेन्सी)
इजरायलले उसको कब्जामा रहेको प्यालेस्टिनी भूमि पश्चिम किनाराका यहुदी बस्तीहरूमा २ हजार ५ सयभन्दा बढी आवास निर्माण गर्ने घोषणा गरेको छ।

रक्षामन्त्री एभिग्डोर लिबरम्यान र प्रधानमन्त्री बन्जामिन नेतान्याहुले आवासको माग पूरा गर्नका लागि उक्त कदम उठाएको बताएका छन्।

प्यालेस्टिनी अधिकारीहरूले इजरायलको यो कदम त्यस क्षेत्रमा शान्ति कायम गर्ने प्रयासमाथि प्रहार भएको एउटा झट्का भएको बताए। अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि इजरायली अधिकारीहरूले दोस्रोपटक यस प्रकारको योजनाको घोषणा गरेका हुन्।

ट्रम्पले यहुदी बस्ती निर्माणमा आफू पूर्व राष्ट्रपति बाराक ओबामाले भन्दा पृथक् हुने संकेत दिएका थिए। ट्रम्पले इजरायलका लागि अमेरिकी राजदूतमा एक जना कट्टर यहुदीलाई नियुक्त गरेका छन्।

गत महिना ट्रम्पले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्तावमा भिटो प्रयोग गर्न अस्वीकार गरेकोमा ओबामाको आलोचना गरेका थिए।

उक्त प्रस्तावमा इजरायललाई प्यालेस्टिनी कब्जामा रहेको सबै भूभागमा बस्ती निर्माणको सबै गतिविधि तत्काल रोक्न निर्देशन दिइएको थियो। उक्त निर्माणले दुई राष्ट्र समाधानको व्यावहारिकता जोखिममा पर्ने चेतावनी दिइएको थियो।

इजरायलले सन् १९६७ मा प्यालेस्टाइनको पश्चिम किनारा र पूर्वी जेरुसलममा कब्जा गरेपछि त्यहाँ बनेका करिब १ सय ४० बस्तीमा करिब ५ लाख यहुदी बसोबास गर्दै आइरहेका छन्। अन्तर्राष्ट्रिय कानुनले ती बस्तीहरूलाई अवैध मानिएको छ, यद्यपि इजरायलले यसलाई स्वीकार गरेको छैन।