वातावरण संरक्षण आजको चुनौती

0
Shares

(अशोक शोकी ) नेपाल प्राकृतिक सम्पदाले धनी भईकन पनि यो देशको मुटु काठमाडौं दूषित भइरहेछ। शरीर सफा भएर पनि मुटु अस्वस्थ भएपछि त्यो स्वस्थ व्यक्ति हुनसक्दैन, शरीर स्वस्थ भएन भने त्यो व्यक्ति प्रफुल्लित र खुशी भएर हिँड्न सक्दैन। ठीक यही अवस्था हाम्रो छ। विश्वमा नेपाल प्राकृतिक सौन्दर्यले परिचित छ, संसारका विकसित मुलुकबाट यहाँको सौन्दर्यपान गर्न पर्यटक आउँछन्, तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नासाथ उनीहरू नाक खुम्च्याउँछन्। काठमाडौं उपत्यका नछोडेसम्म नाक, कान, घाँटी, आँखा र छालाको रोगबाट पीडित भएका कारण उनीहरू चाहेर पनि दुई दिन बढी राजधानीमा बस्न सक्तैनन्।

नेपालको एउटै मात्र महानगरपालिका देशको राजधानी काठमाडौं उपत्यकाभित्र प्रवेशद्वार मुख्य कलंकी पर्दछ। चीन सरकारले बनाइदिएको चक्रपथमा कलंकीदेखि ललितपुर हुँदै कोटेश्वरसम्म बाटो फराकिलो गर्ने सिलसिलामा डढेलो लागेको जंगलको धुवाँको मुस्लोभैंँ अथवा माघ महिनाको बाक्लो हुस्सु र तुवाँंलोभैmँ हिँड्नै नसकिने गरी धूलो उडेको देखिन्छ। श्वास फेर्न नसकिने ठाउँमा मानिस कसरी बस्ने, सोच्न पनि मुस्किल छ। केही समययता यस स्थितिमा निकै विकराल अवस्था सिर्जना भएको छ, मेलम्चीको पानी ल्याउने प्रयोजनले पाइप बिछ्याउने काम जोडका तोड चलेको र सडक विस्तारले पनि प्राथमिकता पाएकाले बस्ती धूलोले छोपिएको छ।

काठमाडौंको बसोवास अब असाध्य हुन थालेको छ। यस्तोमा नागरिकहरू आत्तिनु स्वाभाविकै छ। बढ्दो जनसंख्याले काठमाडौं अस्तव्यस्त भएको छ। साँघुरो सडक–गल्लीलाई सफा राख्न स्थानीय निकायलाई मुस्किल भएको छ। वातावरण दूषित र फोहोर मात्र होइन, यहाँका मानिसलाई पिउने पानी पनि अभावै छ। काठमाडौंमा यसरी नै जनसंख्याको चाप बढ्दै गएमा मेलम्चीको पानी आए पनि अभावलाई पूर्ति गर्न धौ–धौ नै हुनेछ। मेलम्ची पानी ल्याउन अभैm एक–डेढ वर्ष लाग्ने मात्र होइन, बीच–बीचमा कार्यान्वयनमा छलकपट सलबलाएको
प्रस्ट अनुभव हुन्छ। बनेका सडकले एक वर्षा पनि सहन सकेका हुन्नन्, खाल्डाखुल्डी देखिन्छन्। यस्तो अवस्थामा भ्रष्टाचार भएको प्रमाणित गर्न कुनै विशेषज्ञकहाँ धाइरहनुपर्दैन।

ढुंगेधारा, कुवा, इनार सुक्दै गएकाले हिजो धनीले मात्र ट्यांकरको पानी प्रयोग गर्ने गरेकोमा अब गरिबले पनि ट्यांकरको पानी प्रयोग गर्न बाध्य भएका छन्। अझ निम्नस्तरका व्यक्तिले शौचालयमा पनि कागज प्रयोग गर्न बाध्य भएका छन्। धेरै दिनसम्म नुहाउन नपाउनेहरूले ‘बडी लोसन’ प्रयोग गर्ने अवस्था आएको छ।

जति घनाबस्ती उति धेरै प्रदूषण। तर यस प्रदूषणले काठमाडौं निकटका शहर पनि जोगिन भने सकेका छैनन्। काठमाडौं महानगरपालिकाबाट दक्षिणतिर कीर्तिपुर नगरपालिका पर्दछ। कीर्तिपुरको १९ वडामध्ये १ देखि ५ वडासम्म बाक्लो बस्ती भए पनि अन्य क्षेत्र त्रिवि, चोभार, भाजंगल मच्छेगाउँ, सल्यानथान, टौदहमा भने बस्ती पातलो छ। यस १९ वडामध्ये १७ वडास्थित कीर्तिपुरबाट काठमाडौं जाने मुख्य बसपार्क रहेको छ। यहाँबाट प्रत्येक मिनेटमा बस गुड्ने गर्दछ। त्रिवि कीर्तिपुरको आँगनमा पर्ने भएकाले यहाँ ७५ जिल्लाका मानिस भेटिन्छन्।

त्यसैले यो स्थानमा मानिसको भीड र गाडीको चापले तनावपूर्ण अवस्था छ। वातावरणको असर त प्रत्यक्ष–अप्रत्यक्ष परिराखेकै छ, जो विश्वव्यापी पनि हो तर हामीले सिर्जना गरेको स्थानीय समस्याले स्थानीयवासीलाई नै बढी सताएको छ। यस्तो अवस्थामा मानसिक तनाव एक अर्को समस्या हो। वातावरणका कारण व्यक्तिको मस्तिष्कमा तनावले ट्युमर जन्माउँछ, जो ठूलो समस्याको विषय बन्छ। आज क्यान्सर र ट्युमरका बिरामी बढ्नुमा धूलो, धुवाँ र ध्वनि प्रदूषण कारण रहेको विज्ञहरू बताउँछन्।

कीर्तिपुरस्थित १७ वडाको टाउन प्लानिङमा १३ वर्षअघि सय रोपनी जग्गा काठमाडौंको नगर विकासले व्यवस्थित योजनाका लागि लिएको थियो। यस स्थानमा राम्रो चित्त बुझ्ने तरिकाले बस्ती विकास नभएकोले नगाउँदेखि मच्छेगाउँसम्म टाउन प्लानिङ योजना यहाँका जनताको विरोधमा असफल भएको थियो। हालसम्म पनि यस १७ वडास्थित १३ वर्षअघि सडकको दायाँ–बायाँ ओछ्याएको दुई इन्च पाइपमा पानी पठाउन सकेको देखिन्न। यो टाउन प्लानिङका बस्तीका लागि दुःखद पक्ष हो। यसलाई नगरपालिका खानेपानी संस्थान र टाउन प्लानिङ कमिटीले चासो लिनुपथ्र्याे। यहाँको सम्बन्धित निकायले नीति नियमको ठीक किसिमले पालना नगरिदिएका कारण धेरै कुरामा लथालिंग अवस्था छ। दूधपोखरीमा पानी भईकन पनि त्यसलाई सदुपयोग गरी ल्याउन सकिएको छैन। अन्य क्षेत्र जहाँ पानीको मुहान नै छैन, त्यहाँ त पानीको समस्या हुने नै भयो।

कीर्तिपुर एउटा उदाहरण मात्र हो। राजधानीवरिपरिका क्षेत्रमा पनि महानगरपालिकाको भन्दा त्यति राम्रो अवस्था छैन। खासगरी धूलो, धुवाँ र ध्वनिले सिंगो काठमाडौं खाल्डो यतिखेर निसास्सिएको छ। यस्तो अवस्थामा विदेशी पर्यटक जति आएका छन्, त्यो पनि बढी हो भन्नुपर्छ। हुनसक्छ, अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा भएका कारण मात्र विदेशीहरू उपत्यकामा टेक्न बाध्य भएका हुन्, अन्यथा पोखरा वा निजगढतिरै अवतरण गरेर अन्नपूर्ण परिक्रमा वा सगरमाथा आरोहण पूरा गर्दै उतैबाट घर फर्किने थिए। यस प्रकारको समस्या छिटोभन्दा छिटो समाधान गर्नुको साटो बाटो विस्तारलाई लिएर असमझदारी बढेको छ। जनता सर्वोच्च अदालत र आन्दोलनको शरणमा पुगेका छन्। परिणामतः धूलोभित्र उपत्यकावासी आँसु बगाएर बस्न अझै लामो समयसम्म बाध्य हुने अवस्था सिर्जना भएको छ।