८६ करोड खर्चेर मर्मत गरेको बिजुली काम लागेन


ललित सिहं बझाङ, १० माघ ।
विदेशी दाताको सहयोगमा झण्डै ८६ करोडको लागतमा मर्मत कार्य गरिएको बझाङको डोगडी स्थित सुर्मा देवी साना जलविद्युत आयोजना मर्मत कार्य सम्पन्न भएको चार महिना नवित्दै काम नलाग्ने भएको छ ।

यति ठुलो रकम लगानी गरेर २ सय किलोवाट क्षमताको उक्त विद्युत मर्मत गरिएको थियो । नेपाल विद्युत प्राधिकरणले आफैले निमार्ण गर्ने हो यति नै रकममा ५ किलोवाट भन्दा बढी क्षमताको नयां आयोजना निमार्ण गर्न सकिने स्वयं प्राधिकरण अधिकारीहरु बताउछन ।

बझाङ जिल्लाको सदरमुकाम र आसपास क्षेत्रका बासिन्दाका लागी २०४९ सालमा जापान सरकारको सहयोगमा निमार्ण गरिएको सुर्मादेवी साना जलविद्युत आयोजनाको मर्मत कार्य पनि जापान सरकारको अनुदान सहयोगमा नै भएको हो ।

गत सन २०१६ सेप्टेम्बर महिनामा काम सम्पन्न गरेको प्रमाण पत्र पाइ सकेको जापानी निमार्ण कम्पनी मारुसिनसिताकाले मर्मत गरेको केही महिना नवित्दै विद्युत सेवा पटक पटक अवरुद्ध हुन थालेको छ ।

तोकीएको सबैकाम सम्पन्न नगरी विचैमा काम छोडेका कारण विद्युत सेवा नियमित गर्न नसकिएको नेपाल विद्युत प्राधिकरण संग सो विद्युत भाडामा लिएर चलाई रहेको निजी कम्पनी सुर्मा देवी विद्युत प्राली स्रोतले बताएको छ ।

श्रोतका अनुसार मर्मत कार्यको डिजाइनमा नै त्रुटी रहेकोले बांधबाट इन्टेकमा पानी पठाउने ठांउमा राखिएको फोहोर छान्नेमा फोहोर अड्किएर पानी प्रवाहमा नै समस्या हुने भएकोले विद्युत नियमित हुन नसकेको हो । बांधबाट इन्टेक सम्म पानी लैजाने नहर पनि विभिन्न ठांउमा चुहिने गरेको र पानी जम्मा गर्ने इन्टेक पनि मर्मत नगरी छोडेका कारण चुहिएकोले नियमित विद्युत उत्पादन हुन नसकेको बताइएको छ ।

निमार्ण सम्पन्न भएको २ महिना जती दैनिक ८ घण्टा लोडसेडिङ हुने गरेको यहांको विद्युत अहिले दैनिक २० घण्टा सम्म लोडसेडिङ्ग हुने गरेको छ । विद्युत अनियमित हुदां यहांको सरकारी कार्यालयको काम, बन्द व्यापार र उद्योग व्यवसायमा प्रभावित भैरहेको र यसको छिटो समाधान गर्नका लागी प्रशाशनको तर्फबाट पहल चालिरहेको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताएका छन । ‘यत्रो रकम लगानी गरेर मर्मत गरेको विद्युत केही महिना भित्रै काम नलाग्ने हुनु दुखको कुरा हो’ खनालले भने ‘विद्युत प्राधिकरण र निमार्ण कम्पनीलाई यो विषय जानकारी गराई रहेका छौ’

नेपाल विद्युत प्राधिकरणको सामुदायिक ग्रामिण विद्युतिकरण विभागका निर्देशक रामेश्वर कल्वारले यहांको समस्याको बारेमा प्राधिकरण जानकार रहेको र यस विषयमा निमार्ण कम्पनी संग छलफल गरिरहेको बताए । ‘ नयां बांध निमार्ण भएकोले वरीपरिको फोहोर आएर छान्नेमा अडकिएको रहेछ । उनिहरुले गोताखोर लगाएर सफा गरिसकेका छन’ कल्वारले भने ‘अबका दिनमा फोहोर अड्कीदैन भनेर भनिरहेका छन’

निमार्ण कार्यमा भएका त्रुटीहरुलाई सच्याउने विषयमा पनि प्राधिकरणले निर्णय गरेर परामर्श दातानिकाय जापान सहयोग नियोग र निमार्ण कम्पनी दुबैलाई जानकारी दिइ सकेको बताउदै कल्वारले भने ‘योजनाको डिजाइन स्टेमेट र निमार्ण कार्य सबै जापान सरकारले नै गरेको हुनाले कुनै त्रुटी भएमा सच्याउने जिम्मा पनि जापान सरकार कै हुन्छ ।

यसको लागी प्राधिकरणले पहल गरिरहेको छ’ ठुलो रकममा सानो आयोजनाको मर्मत स्विकार्न प्राधिकरणलाई बाध्यता रहेको र अनुदान दिने दाताहरुको आफ्नो देशका मानिसहरुलाई रोजगारी दिने मनसाय हुने भएकोले मर्मतको खर्च अचाक्ली बढी भएको उनको भनाई छ ।

विद्युत क्षेत्रका जानकारहरुले भने बर्सातको समयमा खोलामा बाढी आउने र बाढीले बगाएर ल्याएका ढुङ्गा र काठपातहरु छान्नेमा अडकिएर केही बर्ष भित्रै आयोजना कामै नलाग्ने हुने बताउछन । सुर्मा देवि विद्युत प्रालीका एक कर्मचारीले भने ‘आयोजनालाई दिगो रुपले संचालन गर्ने भन्दा पनि टालटुल गरेर टार्ने काम भएको छ । चुहिने नहर मर्मत भएको छैन । छान्नेमा जतिवेला पनि फोहोर अडकिने सम्भावना छ । प्राधिकरण संग पनि गोताखोर स्टयान्टबाई राख्न सक्ने क्षमता छैन । समग्रमा भन्दा यो आयोजना यो बर्खा सम्म पुर्ण रुपमा काम नलाग्ने हुन्छ’

बझाङ जिल्लाकी सभासद चन्दा देबि जोशीले भनिन् बिद्युत मर्मतको नाममा दाताहरुले एक हातले दिने र अर्काे हातले लिने गरिरहेको बताए । ‘हामीले त्यती वेला नै यति ठुलो रकममा सानो विद्युत मर्मत गर्नु भन्दा राष्ट्रिय प्रसारण लाइन बझाङ पुर्याउन लगानी गरौ भने अर्थ मन्त्रालयमा डेलिगेसन गएका हौ’जोशीले भनीन्े ‘तत्कालिन अर्थ मन्त्री रामशरण महतले तपाइहरु नलिने भए यो रकम अन्तै हाल्छौ भनेर भन्नुभयो ।’

उनले सुरु देखी नै आफुहरुले यो आयोजनाले सुविधा दिने भन्दा पनि केही नेता, कर्मचारी र दाताहरुको स्वार्थ पुर्ती गर्नका लागी बनाइएको भन्दै विभिन्न निकायको ध्यानाकर्षण गराएको बताए । बत्ती आएको छ या छैन भनेर टर्च जलाएर बिजुली खोज्नु पर्ने बाध्यता रहेको छ । मोवाईल चार्ज लगाए पछि उल्टै मोवाईलमा भएको चार्ज पनि सक्काउन्छ बझाङ्गी जनता अझै बिद्युत मुनीको अध्यारोमा बस्न बाध्य छन् ।