होटलको सेवा शुल्क हटाउने तयारी



नेपाल समाचारपध
काठमाडौं
होटल संघ नेपाल (हान) ले ग्राहकबाट लिँदै आएको १० प्रतिशत सेवा शुल्क खारेज हुन सक्ने जनाएको छ। ट्रेड युनियनहरूले १० प्रतिशत सेवा शुल्क सबै कामदारलाई दिनुपर्ने माग राखेर आन्दोलनको घोषणा गरेपछि हानले यस्तो संकेत दिएको हो।

१० वर्ष अघिदेखि मजदूरले ६८ प्रतिशत र होटलले ३२ प्रतिशत रकम पाउने गरी होटल तथा रेष्टुरेन्टमा ग्राहकबाट १० प्रतिशत सेवा शुल्क लिन १० डिसेम्बर २००६ देखि शुरू भएको थियो। अहिले सेवा शुल्कवापतको सबै रकम आफूले पाउनुपर्ने भन्दै मजदुर संगठन आन्दोलित भएपछि हानले १० प्रतिशत सेवा शुल्क खारेजीको पक्षमा उभिने जनाएको हो। आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हानले आफूले ३२ प्रतिशत रकम नपाए सेवा शुल्क नै खोरेजी गर्ने हानका अध्यक्ष अमरमान शाक्यले जानकारी दिनुभयो।

‘सेवा शुल्कबाट हामीले लिएको ३२ प्रतिशत रकम मजदूरहरूकै हकहितको लागि प्रयोग भरहेको छ,’ उहाँले भन्नुभयो–‘यही अडान अडान राखे १० प्रतिशत सेवा शुल्क नै खारेज हुन सक्छ।’ सेवा शुल्कवापतको १० प्रतिशत रकम नै मजदुरले पाउनुपर्ने सहितका ५ बुँदे माग राख्दै केही ट्रेड युनियनले होटल संघ नेपाललाई अल्टिमेटम दिएका छन्। यसै विषयमा शुक्रबार ट्रेड युनियसहरूसँग वार्ता हुने हानले जनाएको छ। विश्वका कुनै पनि राष्ट्रमा ग्राहकसँग अनिवार्य सेवा शुल्क लिने नियम नभए पनि नेपालमा भने द्वन्द्वकालमा होटल व्यवसाय नै धरापमा परेको भन्दै सहमतिमा १० प्रतिशत सेवा शुल्क लिने सहमति भएको हानको भनाइ छ।

प्रत्येक तीन वर्षमा सामूहिक सौदाबाजीको व्यवस्थाका साथै सेवा शुल्क उठाउने भएपछि तलबभत्ता सुविधा नबढाउने सर्त ट्रेड युनियनहरूले स्वीकारे पनि व्यवहारमा सौदाबाजी २⁄२ वर्षमा हुने गरेको भन्दै अध्यक्ष शाक्यले भन्नुभयो–‘तलबभत्तासहित सबै प्रकारका सुविधा दबाब दिएर बढाइएकै छ। यसबाट व्यवस्थापन र कामदारबीचको समझदारी र विश्वास घटेको छ। लगानीकर्ता र व्यवस्थापनबाट ट्रेड युनियनहरूले हरेक २⁄२ वर्षमा सामूहिक सौदाबाजीको नाममा होटल प्रतिष्ठानको हैसियतभन्दा पनि बढी तलबभत्ता, ग्रेड, सुविधा थपिँदै गएको छ साथै सामूहिक सौदाबाजीको नाममा महिनौंसम्म दबाबमुलक वार्ता छलफल चलाएर होटल सञ्चालनमा नै गतिरोधको स्थिति उत्पन्न हुनु सामान्य
भइसकेको छ।’

ट्रेड युनियनका अनावश्यक मागले लगानीकर्ता व्यवस्थापनलाई अझ कमजोर र निरीह बनाउन खोजिएको भन्दै हानले अहिलेको अवस्थामा कतिपय होटल प्रतिष्ठानलाई तलबभत्ता खुवाउन पनि कठिनाइ परिरहेको जनाएको छ। लगातारको दबाब सौदाबाजीले थिलोथिलो भएका होटलहरू हालको नयाँ मागले थप विचलित भएको भन्दै हानले व्यवसाय बेचेर पलायन हुने अवस्थामा पुगेको हानको गुनासो छ।

प्रतिक्रिया दिनुहोस्